गोजीमा सुको नभए पनि दशैँ मनाउने ‘बेस्ट आइडिया’ !

 असोज २१, २०८० आइतबार १५:४४:४८ | मिलन तिमिल्सिना
unn.prixa.net

‘गोजीमा दाम छैन मेरो, गोजीमा दाम छैन ! गोजीमा सुक्खा लागेको बेला दशैँको काम छैन.....।’ भनेर गीत गाउन त हुन्थ्यो । तर के गर्नु दशैँ त अरूलाई देखाउनका लागि पनि मनाएजस्तो गर्नैपर्छ ।

दराजभरी पैसै पैसाको खात हुँदासमेत दशैँ खर्च जुटाउन धौधौ हुन्छ भने सुकै नभएको बेला कसरी मनाउने त दशैँ ? अष्टमीदेखि पूर्णिमासम्मलाई पुग्ने मासु, टीकाटालो गरेर दिनुपर्ने दक्षिणा, जहान परिवारलाई नयाँ कपडा, ओहोरदोहोर गर्न गाडीभाडा, साथीभाइसँग खेलबाड, रमाइलो, के के हो के के ! बिहान खाएपछि बेलुका के खाने भनेर टाउकोमा हात राख्नुपर्ने दिन आइसक्यो, दशैँ मान्न चाहिने यति धेरै खर्च कसरी जुटाउनु ?

यसपालिको दशैँ आफैँ दशा बोकेर प्रकट भएपछि धेरै जना यस्तै चिन्तामा छन् । धेरैका गोजी रित्ता छन् । किन्ने मान्छेकै गोजी रित्तो भएपछि किनमेल हुने बजार भरिभराउ हुने कुरै भएन । त्यसैले बजार पनि सुनसान छन् । दशैँको मुखमा धेरैका मुख मलिन छन् । पैसो नभएर तपाईंको मुख पनि यस्तै मलिन भएको होला । तर अस्ति भर्खर बत्तीस दाँत देखाएर फेसबुकमा मुस्कान दिवस मनाइसक्दा पनि के को मलिन अनुहार लगाएर बसिराख्नुहुन्छ ? मुस्कान दिवस मनाएझैँ दाँत देखाएर आँ गर्नुहोस्, पैसो नहुँदा पनि सबैले मज्जासँग दशैँ मनाउन सक्ने एउटा आइडिया छ । त्यो आइडिया थाहा पाउनुभन्दा पहिले सामाजिक सञ्जालतिर देखिने एउटा कथा पढ्नुपर्छ । जुन कथा यस्तो छ:

एक जना पर्यटक कुनै उधारोले डुबेको शहरमा पुग्यो । पर्यटकले तीन हजार रुपैयाँ होटेलको काउन्टरमा राख्दै भन्यो: यो पैसा राख्दै गर्नुहोस्, म पहिले कोठा हेरेर आउँछु । पैसा पाउनासाथ होटेल मालिक दौडेर घ्यूवालाको पसलमा पुग्यो र उसलाई तिर्नुपर्ने तीन हजार रुपैयाँ तिरेर घ्यूको हिसाब चुक्ता गरिदियो । त्यसपछि घ्यूवाला दौडेर दुधवाला कहाँ गयो र उसलाई तिर्नुपर्ने तीन हजार रुपैयाँ तिरेर दूधको हिसाब चुक्ता गरिदियो ।

दूधवाला दौडेर गाईवालाकहाँ पुग्यो र उसलाई तिर्नुपर्ने तीन हजार रुपैयाँ तिरेर दूधको हिसाब चुक्ता गरिदियो । उसैगरी गाईवाला दौडेर दानावालाकहाँ गयो र तिर्नुपर्ने रकममध्ये खातामा तीन हजार रुपैयाँ घटाएर आयो ।

अन्त्यमा, दानाबाला त्यही होटेलमा पुग्यो, जहाँ उसले कहिलेकाहीँ उधारोमा खाना खाने गर्थ्याे । उसले तीन हजार रुपैयाँ दिएर होटेलको हिसाब चुक्ता गरिदियो । त्यसै बेला पर्यटक कोठा हेरेर फर्केर आयो र भन्यो– मलाई कोठा मन परेन । यति भनेर उसले पहिले जम्मा गरेको तीन हजार रुपैयाँ फिर्ता लिएर गयो । यत्रो दौडधुपमा न कसैले केही पाए, न कसैले केही दिए तर सबैको हिसाब चुक्ता भयो । एउटै पैसोले चार चौरास घुमफिर गरी चारतिरको ऋण तिरिसकेर सबैको खाँचो टारेपछि होटलमा थकाइ मार्दै थियो ।

सामाजिक सञ्जालमा भेटिएको यो कथालाई सबैले इमानदारपूर्वक व्यवहारमा ढाल्ने हो भने दशैँ मनाउन केही गाह्रो छैन । यसका लागि नगद कारोबार होइन, अनलाइन अर्थात् मोबाइल कारोबार चाहिँ गर्नुपर्छ । उदाहरणका लागि खसी किन्दा खसी किन्नेले खसी बेच्नेलाई मोबाइलबाट पैसा पठाइदिने । खसी बेच्नेले पनि खसी पाल्नेलाई उसैगरी मोबाइलबाट पैसा चुक्ता गरिदिन्छ । खसी पाल्नेले खसी बेचेर नुन, भुटन, तेल, चामल किनेर दशैँ मान्ने आश गरेको हुन्छ । उसले पनि नुन, भुटन, तेल, चामल बेच्ने खुद्रा पसलेलाई त्यसैगरी मोबाइल बैंकिङबाट पैसा चुक्ता गर्ने । खुद्रा व्यापारीले पनि उसैगरी अर्को थोक व्यापारीलाई मोबाइलबाट पैसा तिर्ने । अनि व्यापारीले सरकारलाई कर तिर्दा पनि मोबाइल बैंकिङकै सहायता लिने । सरकारले पनि अरू खर्च र लेनदेन गर्दा नगद नखोज्ने, मोबाइल बैंकिङमै भर पर्ने । दशैँमा टीकाटालो गरेर दक्षिणा लेनदेन गर्दा पनि नयाँ नोटको प्रयोग नगर्ने । छोरी–ज्वाईं, भाञ्जाभाञ्जीलाई जति दिन मन लाग्छ, मोबाइलमा त्यति नै नम्बर थिच्ने, पठाइदिने । नगद नै नचाहिने भएपछि जति दिए पनि भैहाल्यो । दशैँमा कर्मचारीलाई तलबभत्ता दिँदा पनि यसै गर्ने । तलब आयो भन्दै कर्मचारी नोट लिन भन्दै बैंक र एटीएम नकुद्ने । बस भाडादेखि सबै किनमेल मोबाइल बैंकिङबाटै हुन्छ भनेर ढुक्क हुने । सबैतिर नोटको सट्टा त्यही अनलाइनबाट पैसा पठाएको मेसेज घुमाइफिराइ फरवार्ड मात्रै गर्ने हो भने सबैलाई खर्च पुग्छ । दशैँमा पैसा भएन भनेर कसैले चिन्ता गर्नु पर्दैन ।

अब प्रश्न आउँछ, बैंक खातामा पैसा नै छैन भने मोबाइल बैंकिङ चाहिँ कसरी गर्ने नि ? खातामा पैसा नहुँदा पनि अनलाइन र मोबाइलबाट लेनदेन गर्न मिल्छ त ? प्रश्न ठिकै हो, त्यो त मिल्दैन । तर यो देशमा अहिलेसम्म सबैले मिल्ने कुरा मात्रै गरेका छन् र ? मिलाउनु पर्‍याे नि । यसका लागि चेक बाउन्स भनेजस्तै मोबाइल बाउन्स गर्नुपर्ने हुन सक्छ । चेक बाउन्समा खातामा पैसा नभए पनि चेकमा जति पैसा पनि लेख्न मिल्छ । मोबाइल बाउन्समा चाहिँ खातामा पैसा नभए पनि मोबाइल बैंकिङ गर्न मिल्ने बनाउन सकिन्छ । चेक बाउन्स गर्नेलाई जेल सजायजस्तै भोलि/पर्सि मोबाइल बैंकिङ बाउन्स गर्नेलाई पनि जेल सजाय हुन सक्छ । के ठूलो कुरो भयो त ? अर्को पटक संविधान दिवस, गणतन्त्र दिवस आइहाल्छ । नेता, प्रधानमन्त्री, मन्त्री र राष्ट्रपति दाहिना भए भने त्यस्ता जाबो जेल सजायले के गर्छ ? अबीरजात्रा गर्दै फिल्मी शैलीमा जेलबाट निस्केर फुक्काफाल हुँदै हिँड्न पाइन्छ !

अन्तिम अपडेट: फागुन १८, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया