सञ्चालनमा आएन रामेछापकाे चिस्यान केन्द्र

 कात्तिक १५, २०८० बुधबार ७:२१:४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

रामेछाप – करोडौँकाे लागतमा बने पनि रामेछापकाे चिस्यान केन्द्र सञ्चालनमा आएकाे छैन । रामेछापको मन्थली नगरपालिका–१ सानीमदौमा करोडौँको लागतमा बनेको चिस्यान केन्द्र सञ्चालनमा आउन सकेको छैन ।

निर्माण सम्पन्न भएको डेढ वर्ष पुगिसक्दा पनि बाग्मती प्रदेश सरकारले स्थानीय सरकारलाई हस्तान्तरण नगरेकाले सञ्चालन हुन नसकेको मन्थली नगरपालिकाका नगर प्रमुख लव श्रेष्ठ बताउनुहुन्छ । जिल्लामा उत्पादन हुने जुनार, सुन्तला आलु, किबीलगायतका विभिन्न फलफूल तथा तरकारी भण्डारण गर्ने उद्देश्यले निर्माण गरिएको चिस्यान केन्द्र गएको वर्ष नै सञ्चालनमा आउनुपर्ने भए पनि सञ्चालन हुने विषय भने अझै अन्यौल छ ।

बाग्मती प्रदेश सरकारको पाँच करोड र मन्थली नगरपालिकाको दुई करोड १० लाखसहित कूल सात करोड १० लाख रुपैयाँको लागतमा निर्माण भएको पाँच सय मेट्रिक टन क्षमताको चिस्यान केन्द्र उपयोगविहीन बनेको हो ।

चिस्यान केन्द्रको भवन निर्माण गरिए पनि घेराबारा नगरिएका कारण चिस्यान केन्द्र असुरक्षित भएको स्थानीय बताउँछन् । चिस्यान केन्द्रलाई आवश्यक घेराबार गरी तत्काल सञ्चालनमा ल्याउन नगरपालिकाले चासो लिनुपर्ने स्थानीय पूर्ण सुवेदी बताउनुहुन्छ ।

निर्माण डेढ वर्ष पहिले नै सम्पन्न भए पनि सरकारको ढिलासुस्तीको कारण शीतभण्डारण समयमै सञ्चालनमा आउने नसकेको निर्माण व्यवसायी बताउँछन् । शीतभण्डारको प्राविधिक परीक्षणसमेत भइसकेकाले छिट्टै हस्तारण गरिने निर्माण व्यवसायी उत्तम पौडेल बताउनुहुन्छ ।

चिस्यान केन्द्रको भवन निर्माण सम्पन्न भए पनि घेराबार, कार्यालयमा, पाले बस्ने घर, शौचालयलगायतका संरचना निर्माण हुन बाँकी रहेको मन्थली नगरपालिकाका नगर प्रमुख श्रेष्ठले बताउनुभयो । प्रदेश सरकारको मातहतमा संरचना निर्माण भएकाले हस्तान्तरण नगरी स्थानीय सरकारले केही गर्न नसक्ने उहाँको भनाइ रहेको छ । 

चिस्यान केन्द्र भवन निर्माणको जिम्मेवारी इजी इन्फा प्रालि काठमाण्डाैले पाएको थियो । यसरी निर्माण सम्पन्न भएको लामो समय बितिसक्दा पनि चिस्यान केन्द्र सञ्चालनमा आउन नसक्नु सरकारको कमजोरी भएको स्थानीय युवराज सुवेदीले बताउनुभयो ।

जिल्लामा प्रधानमन्त्री आधुनिकीकरण परियोजनामार्फत जुनार जोन र आलु जोनका विभिन्न कार्यक्रम लागू भइ आलु र जुनार पर्याप्त उत्पादन भइरहेका छन् । तर जिल्ला सदरमुकाम मन्थलीमा निर्मित यो केन्द्र सञ्चालनमा नआउँदा कृषकले आफ्नो उत्पादन चिस्यान केन्द्रमा राख्न पाएका छैनन् । उत्पादन चिस्यान केन्द्रमा राख्न नपाएपछि कृषकहरू चिन्तित बनेकाे प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका पूर्वकार्यालय प्रमुख थिरलाल गैरेले बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया