भारतसँगको टेष्ट शृङ्खलाको पहिलो दिन अस्ट्रेलिया ८३ रनले पछाडि
मंसिर ७, २०८१ शुक्रबार
काठमाडौं – भक्तपुरको पोटरी स्कवायरमा माटोका विभिन्न भाँडाहरु बनाउने काम भैरहेको छ । चर्को घाममा भर्खरै बनाएका धुपौरो, पाला, खुतुर्के, कलश आदि सुकाउनको लागि लहरै राखिएका छन् । कतै भर्खरै बनाएका माटोका पाला पोल्ने काम भैरहेको छ । यो दृश्यले त्यहाँ पुग्ने जोकोहीको मन लोभिन्छ ।
‘प्लाष्टिकका दियो चल्ने भए के हुन्थ्यो ?’ तिहारमा लाखौंको संख्यामा माटोका दियो बनाउने बेला रोशन प्रजापतीको मनमा यस्तै प्रश्न उठ्ने गर्छ । किनकी उहाँका बाउबाजेको पालामा बिभिन्न कामको लागि माटोकै भाँडाहरु नै प्रयोग गरिन्थे । तर अहिले त्यो सबै स्टिल र प्लाष्टिकका भाँडाले खाइदियो । दियोमा पनि कतै यस्तै पो हुन्छ कि भन्ने डर लाग्छ । तर आगोलाई प्लाष्टिकले नधान्ने भएकाले प्लाष्टिकको दियो बन्न नसक्नेमा रोशन ढुक्क हुनुहुन्छ । धन्न प्लाष्टिकको दियो बन्दैन !
माटोका भाँडा बनाउने प्रजापती समुदायको पुख्र्यौली पेसा हो । पहिला हातले चर्खा घुमाएर माटोका भाँडाहरु बनाइन्थ्यो । अहिले प्रविधिको विकाससँगै काम गर्ने तरिका पनि फेरिएको छ । बिजुलीबाट चल्ने ‘इलेक्ट्रिक हिल’मा तयार गरिन्छन् माटोका भाँडाहरु ।
तर बुट्टा भने हातले नै भर्नुपर्छ । त्यसको लागि कालिगढी सिकेको हुनुपर्छ । ‘हामीहरुले त बाउबाजेले बनाएको देखेरै सिकेको’ रोशन प्रजापतीले भन्नुभयो, ‘जोकोहीले त माटाका भाँडाहरु बनाउन कहाँ सक्छ र ? हेर्न जति रमाइलो लाग्छ यसमा काम गर्न त्यति नै दुःख हुन्छ ।’
२० वर्षभन्दा बढी भयो रोशनले माटोका भाँडा बनाउन थालेको । आफ्ना बावुबाजेले गर्दै आएको पेशा नै उहाँलाई राम्रो लाग्यो । पढाइ पनि नभएपछि यही पेशा उहाँको रोजगारी बन्यो । माटोका भाँडा बनाएर नै उहाँले आफ्नो परिवार राम्रैसँग पाल्नुभएको छ । काममा श्रीमतीले पनि हात फेरिदिनुहुन्छ ।
माटोका भाँडाहरु बनाउनको लागि बढी व्यस्त हुनुपर्छ । बिहान उठेर माटो मुछ्ने काम गरिन्छ । त्यसपछि मुछेको माटोलाई ‘ईलेक्ट्रिक हिल’मा राखेर बनाउन सुरु हुन्छ । बनाउँदै त्यसलाई घाममा सुकाउँदै गर्नुपर्छ । नत्र बिग्रने डर हुन्छ । ‘माटोका भाँडाहरु बनाइरहेको हेर्न जति रमाइलो लाग्छ, बनाएर तयार पार्न त्यति नै झन्झटिलो छ’ रोशन भन्नुहुन्छ, ‘मेहनत अनुसार यी भाँडाहरुको बजारमा मूल्य छैन ।’
होलसेलामा बेच्नुपर्दा एउटा पाला एक रुपैयाँ पर्छ । रोशनले दसैँमा एक लाखको भाँडा तयार पारेर बेच्नुभयो । दसैं तिहारको लागि त्यतिबेला नै पालाहरु अर्डर भइसकेकाले अहिले उहाँ धुपौरो बनाउने काममा व्यस्त हुनुहुन्छ ।
पालाको प्रयोग विशेषगरी नेवार समुदायमा बढी हुन्छ । घरको आँगनदेखि झ्यालमा पनि पालामा नै दियो बाल्ने परम्परा छ । यसले लक्ष्मी माताले घर धनधान्य बनाइराख्ने विश्वास रहेको पोटरी स्क्वायरका ७० वर्षीय रविन्द्र प्रजापती बताउनुहुन्छ ।
धनकी देवी लक्ष्मीलाई खुशी पार्नको लागि माटोका विभिन्न खेलौना बनाएर त्यसको पूजा गर्ने परम्परा नेवार समुदायमा रहिआएको छ । माटोका हात्ति, कछुवा, माछा, भगवानका मुर्तिहरु बनाएर विभिन्न चाडपर्वमा सेलाउने तथा देवीदेवताको प्रतीकको रुपमा चढाउने गरिन्छ ।
नेवारी समुदायमा विस्तारै चलन फेरिदो अवस्थामा छ । पहिले लक्ष्मीपूजाको दिन प्रयोग गरिने पाला त्यही दिन बनाएको, नपोलेको काँचो माटोको हुनुपर्थ्याे, तर हिजोआज यो मान्यता छैन । पहिला बनाइराखेका र पोलेका पालाहरु पनि लक्ष्मीपूजाको दिन प्रयोग हुन थालिसकेका छन् ।
तयार पारेको माटोको खेलौना जब प्याट्ट फुट्छ आफ्नो सन्तानलाई चोट लागेभन्दा बढी पीडा हुन्छ । माटोसँगको यस्तो माया अब लामो समय टिक्दैनकी भन्ने लाग्छ रविन्द्र प्रजापतीलाई । अहिले पोटरी स्क्वायरमा २ सय ५० प्रजापती परिवारमध्ये जम्मा ५० परिवारले मात्र यो पेशा अँगालेका छन् । नयाँ पुस्ताहरु पढेर विदेशतिर तथा अर्कै पेशामा लाग्न थालेपछि यो पेशा लोप भएर पो जाने हो कि भन्ने उहाँ गुनासो गर्नुहुन्छ ।
आधुनिक घरहरु बने । राम्रा रङ्ग लगाएर सिंगारिएका घरमा दियोको मुस्लोले कालो पर्ने डर भएर होला, दियोको भन्दा चिमको झिलिमिली लोकप्रिय हुँदै गएको छ । पहिलाको भन्दा अहिले माटोका पालाको माग कम हुने गरेको पोटरी स्क्वायरका प्रजापतीहरु बताउँछन् । बिजुली बत्ती र भारतबाट पाला आयातका कारण अहिले पहिलाको जस्तो व्यापार छैन भन्नुहुन्छ, पोटरी स्क्वारका विवेक प्रजापती ।
भारतको कलकत्तादेखि नेपालमा यस्ता माटाका पाला र दियो आउने गेरेको उहाँ बताउनुहुन्छ । ‘व्यापारीहरुलाई भारतबाट ल्याउँदा सस्तो परेर नै उताबाट ल्याउँछन् होला, तर त्यो नेपालको जस्तो टिकाउ र स्तरीय भने हुँदैन’, विवेक भन्नुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ।