ठीकठाक चलेको देशमा टिकटक टिक्नै पर्ने कारण पो के छ र !

 मंसिर ३, २०८० आइतबार १४:५७:१३ | मिलन तिमिल्सिना
unn.prixa.net

माओ विचारको पार्टी राम्रोसँग चल्न नसकेको देशमा माओकै देशको टिकटक कति चल्थ्यो र ! नेताले देश र पार्टी चलाउन नजानेजस्तै युवाले पनि टिकटक चलाउन जानेनन् । त्यसमाथि माओकै बदनाम हुनेगरी माओवादीकी एक चेलीले नाकमुख र आँखा थुन्न पर्ने गरी टिकटक फोहोर गरिन् । बैंकबाट लिएको ऋण पचाउन खोज्नेहरूले पनि टिकटककै सहारा लिन थाले । देश ठीकठाक चलिरहेको बेला टिकटक हेरि नसक्नु भयो । जता हेर्‍याे उतै फोहोर । फोहोर सफा गर्नुभन्दा बन्द गर्नै सजिलो । फोहोर गर्नेहरू मात्रै भए पनि केही थिएन । सुँघ्न मन गर्नेहरू सुँघ्थे, अरूले नाकमुख थुन्थे, चुप लाग्थे । तर टिकटकमा ठूलाबडा र सरकार चलाउनेकै पोल भटाभट खुल्न थाल्यो । थरीथरीका काण्ड देखिन थाले । टिकटकमा अरूको मुख र आफ्नो नाकसमेत हेरिसाध्य नभएपछि सरकारले टिकटक बन्द गर्‍याे ।

टिकटक बन्द भएपछि सरकारलाई लागेको छ : बल्ल हाइसञ्चो भयो । गाली गर्नेहरूको मुख टालियो । छाडा बोल्नेहरूको जिब्रो फालियो । जथाभाबी देखाउनेहरूको अङ्ग काटियो । आफ्नो कमजोरी चाहिँ मज्जाले ढाकियो ।

टिकटक बन्द हुनेबित्तिकै अब ठीकठाक हुन थाल्यो भनेर सरकार त मख्ख परेको छ नै । टिकटक बन्द भएकै कारण देशभक्त, कर्मठ र वैज्ञानिक नागरिक उत्पादन हुने सिलसिला पनि शुरु भएको छ । त्यसका केही उदाहरण यस्ता छन् :

टिकटक बन्द हुनेबित्तिकै यसअघि बन्द भएका देशका धेरै कुरामा मान्छेको ध्यान पुगेको छ । मान्छेहरूले प्रश्न उठाएका छन् : ट्रली बस खोई ? साझा बस खोई ? भृकुटी कागज कारखाना खोई ? विराटनगर जुट मिल खोई ? सर्लाही चिनी कारखाना खोई ? बाँसबारी जुत्ता कारखाना खोई ? जनकपुर चुरोट कारखाना खोई ? हेटौँडा कपडा उद्योग खोई ? हेटौँडा–काठमाण्डौ रोपवे खोई ? गोरखकाली टायर उद्योग खोई ? बुटवल धागो कारखाना खोई ? वीरगञ्ज चिनी कारखाना खोई ? वीरगञ्ज कृषि औजार कारखाना खोई ? हिमाल सिमेन्ट कारखाना खोई ? हरिसिद्धि इँटा टायल कारखाना खोई ? दोलखा खरिढुङ्गा कारखाना खोई ?

टिकटक खुलै भएको भए बन्द भएका महत्त्वपूर्ण कलकारखाना खोज्न कसैलाई फुर्सद हुँदैन थियो । सबै टिकटकमै रमाउँथे । टिकटक बन्द भएकै कारण सबैमा देशका पुराना उद्योग धन्दा खोजेर विकास निर्माणमा जुट्ने हुटहुटी जागेको छ ।

टिकटक बन्द भएपछि कुशासन र ढिलासुस्तीविरुद्धको आवाज पनि बलियो हुँदैछ । मान्छेहरूले भन्न थालेका छन् : टिकटक बन्द गरेर ठीक भो, अब भ्रष्टाचार बन्द गर । नागरिकलाई नै बेच्न बन्द गर । विमानस्थलमा हुने सुन तस्करी बन्द गर । नाकाबाट आउने विषादी तरकारी र फलफूल बन्द गर । दुई छाकका लागि विदेशिनु पर्ने स्थिति बन्द गर । उपचारका लागि सिङ्गापुर र बैंकक जानुपर्ने अवस्था बन्द गर । छ हिम्मत ?

अस्तिसम्म टिकटकमा झुम्मिने नागरिकले यसरी सरकारलाई झकझकाउन थालेपछि देश विकास र सुशासनको बाटोतिर नहिँड्ने कुरै भएन ।

टिकटक बन्द भएपछि नेपालीहरूमा बहस, छलफल र तर्क गर्ने क्षमता बलियो भएको छ । एकथरी भन्छन्, टिकटक र अभिव्यक्ति स्वतन्त्रताबीच गोरु बेचेको साइनो छैन । अर्काथरी भन्छन्, टिकटक र अभिव्यक्ति स्वतन्त्रताबीच नङ र मासुको सम्बन्ध छ । कसैलाई लागेको छ, टिकटक बन्द भयो, अब जिन्दगी नै चल्दैन । कसैलाई आनन्द भएको छ, टिकटककै कारण सबैथोक बर्बाद भएको थियो, अब बल्ल मज्जा आउँछ ।

राजनीति र समाजका जल्दाबल्दा मुद्दामा हुनुपर्ने बहस र छलफल टिकटकको विषयमा पुग्नु भनेको नेपालीको तार्किक क्षमताले छलाङ मार्नु हो ।

टिकटक बन्द भएपछि देशको अर्थतन्त्र पनि बलियो हुन थालेको छ । टिकटककै कारण युवायुवतीले कपडा र मेकअपमा धेरै खर्च गर्नुपर्ने बाध्यता थियो । टिकटक बन्द भएपछि अब वर्षमा एकजोर कपडा किन्दा हुने भएको छ । टिकटक खुलै भएको भए छिनछिनमा कपडा फेरि फेरि हाउभाउ देखाउँदै उफ्रन पर्थ्याे ? अब देखाउनै नपरेपछि धेरै कपडा लगाइरहनै परेन, आनन्दै भयो ।

अबको चुनावमा टिकटक मुख्य राजनीतिक एजेन्डा हुने भएको छ । त्यतिबेलासम्म टिकटक बन्दै रह्यो भने पार्टी र उम्मेदवारहरूले आफूले जितेमा निर्वाधरूपमा टिकटक चलाउन दिइनेछ भनेर घोषणापत्रमा नयाँ बुँदा थप्न पाउने भए । खुल्यो भने आफू र आफ्नो पार्टीको योगदानका कारण बन्द भएको टिकटक खुलेर देश र नागरिकको हितमा काम गरियो भनेर उपलब्धिका बुँदा थप्न पाइने भयो ।

टिकटक बन्द भैरह्यो भने मानसिक उपचार गर्नेहरूको काम र दाम बढ्ने भयो । अहिलेसम्म पारिवारिक कलह र आर्थिक अभावले मात्रै मान्छेहरू 'डिप्रेशन' मा पर्ने गर्थे । अब टिकटक चलाउन नपाएकै कारण 'डिप्रेशन' का बिरामी बढ्ने भए ।

टिकटक बन्द भएपछि देशमा खोज, अनुसन्धान र प्रविधिको क्षेत्रका जनशक्ति पनि बढ्ने पक्का छ । अहिले बन्द भएको टिकटक खोल्ने नयाँ नयाँ तरिकाको खोजी हुन थालेको छ । कतिपय युवाहरूले टिकटक हेर्ने र चलाउने वैकल्पिक प्रविधि पत्ता लगाइसके । टिकटक सधैँका लागि बन्द भयो भने देशभित्रै टिकटकजस्तै अर्को सामाजिक सञ्जालको आविष्कार हुन सक्छ । देशमा वैज्ञानिकहरूको सङ्ख्या बढ्छ । आफ्नै देशले उत्पादन गरेको प्रविधिमा नाच्न, गाउन, उफ्रन अनि अर्काको उछित्तो काढ्न र आफ्नो प्रशंसा गर्न पाइन्छ ।

खोज्दै जाँदा फाइदा त कति छन् कति । एउटा टिकटक बन्द गर्दैमा यति धेरै फाइदा हुन्छ भने फेसबुक र मोबाइल फोन नै बन्द गर्‍याे भने अझ कति धेरै फाइदा होला । सरकारले यसतर्फ पनि सोचेकै त होला !

अन्तिम अपडेट: जेठ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया