भूकम्पले बेलाबेला पाठ सिकाए पनि हामीले व्यवहारमा लागू गर्न सकेनौँ

 मंसिर ४, २०८० सोमबार १२:१:४६ | डा. लाेक विजय अधिकारी
unn.prixa.net

जाजरकोट केन्द्रबिन्दु बनाएर भूकम्प गएपछि कहाँकहाँ कसरी क्षति भयो भनेर अध्ययन र भूकम्पपछिको परकम्पको अध्ययन गर्नका लागि तथा नयाँ विशेष यन्त्र स्थापना गर्ने विशेष उद्देश्य लिएर हामी जाजरकोट गएका थियौँ । हामीले केन्द्रबिन्दु वरपर र धेरै क्षति भएको ठाउँ अध्ययनका हिसाबले एक हप्ता बितायौँ । अरु धेरै अध्ययन त गर्न बाँकी छ तर,सरसर्ती हेर्दा केन्द्रबिन्दुबाट करिब २० किलोमिटर टाढा सबैभन्दा क्षति भएको देखियो । क्षतिको हिसाब गर्दा दुई किसिमले असर गरेको देखियो ।

भेरी नदीको किनारमा नदीले बनाएका टार अर्थात् ढुङ्गा, बालुवा, ग्रेगरहरुमा रहेका बस्तीहरुका घरहरु सबैभन्दा धेरै क्षति भएको पाइयो । अर्को भनेको डाँडाको बस्तीहरुमा धेरै क्षति भएको पाइयो । त्यो भनेको जाजरकोटको नलगाडको चिउरी, रुकुमको ज्यामिरेकोट तथा खलङ्गामा मानवीय क्षति धेरै भएको पाइयो । भौगोलिक बनावटको कुरा गर्दा नदीका किनार तथा डाँडाका धुराहरुमा बढी क्षति भएको पाइयो । 

हामीलाई पनि केन्द्रबिन्दु नजिक धेरै क्षति हुन्छ भन्ने लागेको थियो । तर, केन्द्रबिन्दुभन्दा २० किलोमिटर पर धेरै क्षति भएको पाइयो । यो कुरा त्यहाँ गएर स्थलगत अध्ययनपछि मात्र थाहा भयो । केन्द्रबिन्दु नजिक पनि क्षति नभएको होइन तर २० किलोमिटर पर भने मानवीय क्षति बढी भएको पाइएको छ । हामी गएको बारेकोट गाउँपालिकाको प्रत्येक वडामा कम्तीमा पनि दुई/तीन वटा घर पूर्णरुपमा ध्वस्त भएका छन् ।चर्किएका घरहरु पनि छन् । झन् केन्द्रबिन्दु नजिक भएको हुनाले त्यसो नहुने कुरै छैन । यसका दुई वटा कारणहरु छन् । जस्तो हाम्रो हिमालयमा जाने भूकम्पहरुको चट्टान कसरी ‘स्लिप’ भएको छ भन्ने थाहा पाउनुपर्छ । जस्तो यो भूकम्पमा करिब करिब दुई किलोमिटर दरार (रफ्चर) भयो अर्थात् चिप्लियो भनौँ बुझ्नका लागि । चट्टानहरु एक ठाउँबाट अर्को ठाउँमा सरे ।

गोरखा भूकम्पमा यो एक सय ४० किलोमिटर थियो । अर्थात् त्यति धेरै चट्टान सरेको थियो । त्यो भनेको गोरखादेखि सिन्धुपाल्चोकसम्म पर्छ । यो भूकम्पमा चाहिँ केवल दुई किलोमिटर भागमा मात्र दरार उत्पन्न भयो । जति ठूलो भूकम्प हुन्छ त्यति धेरै ‘स्लिप’ अर्थात् चिप्लने हुन्छ । गोरखा भूकम्पमा झण्डै सात मिटरसम्मको ‘स्लिप’ भएको थियो । गोरखा भूकम्पले काठमाण्डौ एक मिटर तल सर्यो भन्ने छ ।

काठमाण्डौ पश्चिमतर्फ लगभग ४५ सेन्टिमिटर सर्यो भन्ने छ । यो भूकम्पले भने १०/१५ सेन्टिमिटर ‘स्लिप’ भएको भन्ने अनुमान छ । यो स्लिपको दिशा भने दक्षिणपूर्वतर्फको छ । सम्बन्धित ठाउँभन्दा पनि बाहिर क्षति हुनुको कारण एउटा यो हो । जस्तो गोरखा भूकम्पमा गोरखामा भूकम्प गए पनि पूर्वतर्फ क्षति बढ्दै गयो । तर, पश्चिमतर्फ केही पनि भएन।   

जाजरकोटको भूकम्प भनेको आफैँमा मझौला भूकम्प हो । ठूलो भूकम्प होइन । त्यसमा पनि यसको दरार (रफ्चर) दक्षिणपूर्वतर्फ गयो र दक्षिणतर्फ बढी क्षति भयो । यसको एउटा कारण ‘लोकल साइड इफेक्ट’ अर्थात् भेरी नदीको किनारमा स्थानीय भौगर्भिक असरका कारण बढी क्षति भयो । अर्को भनेको भूकम्पका तरङ्गहरुको ‘टोपोग्राफिक’ असरका कारण बढी क्षति हुन्छ । साधारणतया चट्टानमा भूकम्पको केन्द्रबिन्दुबाट आइरहेका तरङ्गहरुको शक्ति बेसीमाभन्दा पहाडमा बढी हुनु, नदीको छेउमा बनेका टारहरुमा बढी हुनु, बढी समयसम्म रहेका कारण त्यो ठाउँमा बढी क्षति भएको पाइयो ।

भूकम्प मापन प्रविधि जडान 

जाजरकोटको बारेकोटमा हामीले भूकम्प मापन प्रविधि जडान गरेका हौँ । अरु दुई/तीन ठाउँमा भने नास्टले राखेको हो । २०७२ सालको भूकम्पपछि ताप्लेजुङदेखि दार्चुलासम्म गरेर हामीले ४२ वटा भूकम्प मापन केन्द्र स्थापना गरेका छौँ । त्यसमध्ये धेरैजसो मध्यपहाडी क्षेत्रमा केन्द्रित छन् । हामीले भूकम्प मापन केन्द्र स्थापना गर्नुको कारण भने भूकम्प कहाँ गयो, कति रेक्टर स्केलको गयो भन्ने सूचनाको लागि हो । अहिले पनि हिमाल तथा तराईतिर भूकम्प गयो भने त्यसका लागि भूकम्प मापन केन्द्रहरु कम छन् । यी केन्द्रहरुले नेपालभरी गएका दुई रेक्टरस्केलभन्दा माथिका भूकम्पहरु मापन गर्ने काम गर्छ । तर, त्योभन्दा साना भूकम्पहरु भने भूकम्प मापन केन्द्रको यो यन्त्रले मापन गर्दैन । अहिले काठमाण्डौभित्र पनि धेरै भूकम्प गइरहेका छन् । त्यहाँ गएका एक रेक्टर स्केलको भूकम्प पनि मापन हुन्छ भने नेपालभरीको कुरा गर्दा दुई रेक्टर स्केलभन्दा माथिका भूकम्पहरु मात्र मापन हुने गर्छ । 

अहिले हामीसँग काठमाण्डौ तथा सुर्खेतमा गरेर दुई वटा मुख्य केन्द्रहरु छन् । एउटा प्युठानदेखि पूर्वतिरका केन्द्रहरुलाई समेटेर त्यहाँको तथ्याङ्क समेट्ने गरेर काठमाण्डौ केन्द्र । सुर्खेतमा भएको केन्द्रले भने पश्चितिरको तथ्याङ्क समेट्ने गर्छ । अहिले जाजरकोटमा गएको भूकम्पको नजिकको मापन केन्द्र भने रुकुममा रहेको केन्द्र हो । यो भनेको केन्द्रबिन्दुबाट झण्डै २०/२५ किलोमिटर टाढा होला । त्यसभन्दा टाढा जाने हो भने अर्को केन्द्र भनेको मुगुमा छ । त्यसपछि दक्षिणतर्फ भनेको दैलेखमा हो । केन्द्रहरु टाढा भएका कारणले त्यहाँ गएका साना साना भूकम्प भने मापन हुँदैनन्, छुट्छन् ।

अहिले भूकम्प मापन केन्द्र राख्नुको कारण भनेको भूकम्पका परकम्पन मापनको लागि हो । अर्को भनेको भौगोलिक दरार पत्ता लगाउनु तथा भूकम्प ठ्याक्कै कहाँ गएको भन्ने पत्ता लगाउनु पनि हो । विदेशबाट वा बाहिरका केन्द्रहरुले ठूला भूकम्पको अध्ययन गर्न अलिकति तथ्याङ्क होला । तर, नजिकको हुँदैन । नजिक नहुँदा सही तथ्याङ्क आउँदैन । साना भूकम्पहरुले त्यस ठाउँमा भूकम्प जाने दरारको अवस्था त्यसको प्रकृति कस्तो हो  भनेर पत्ता लगाउने कामका लागि पनि मापन केन्द्रहरु राखिएका हुन् । 

हामीले समाचारमा सुन्दा भूकम्पको केन्द्रबिन्दु यहाँ भनेर सुने पनि त्यो ठ्याक्कै कहाँ हो भन्ने पत्ता लगाउनु भूकम्प मापन केन्द्रको मुख्य काम हो । किनकि दुई/चार किलोमिटर टाढा हुँदा पनि अध्ययनका हिसाबले त त्यसले धेरै नै फरक पर्छ । यी दरारको अध्ययनबाट हामीले कस्तो खालको क्षति भयो भनेर पत्ता लगाउन सक्छौँ । किनकि केन्द्रबिन्दुको नजिक धेरै क्षति हुन्छ भन्ने कुरा हामीले सोचे जस्तो भएन । हुनत अहिले जाजरकोटको भूकम्पमा पुराना घरहरु बढी क्षति भएका छन् । नयाँ घर भए पनि ढुङ्गामाटो प्रयोग गरेका कच्ची घरहरु बढी क्षति भएका छन् । पक्की भवनमा कम क्षति भएको छ ।

तर, कच्ची घर भए पनि सबै ठाउँमा उस्तै किसिमको क्षति भएको छैन । गोरखाको भूकम्पमा पनि काठमाण्डौको सबै ठाउँमा उस्तै प्रकारको क्षति भएको थिएन । यसबाट के बुझिन्छ भने भूकम्पको तरङ्गले एकै किसिमको असर गर्ने जस्तो हाम्रो ठाउँ छैन । भोलि हामीले सुरक्षित आवास निर्माण गर्दा, सुरक्षित संरचना निर्माण गर्दा भूकम्पीय अध्ययन गर्नको लागि सजिलो होस् भनेर यस्ता केन्द्रहरु राखिएका हुन् । 

त्यस क्षेत्रका मान्छेले आफ्नोे जीवनमा थाहा पाएको सबैभन्दा ठूलो क्षति भएको भूकम्प नै जाजरकोट भूकम्प भयो । अझै पनि ठूलो भूकम्प जाँदा हाम्रो कुन क्षेत्र कति जोखिममा छ भनेर विस्तृत र पूर्णरुपमा अध्ययन गर्न सकेका छैनौँ । यी विविध कारणले हामीले त्यहाँ भूकम्प मापन केन्द्र स्थापना गरेका हौँ ।

हिमालय क्षेत्र नै भूकम्पीय जोखिममा

भूकम्पको कुरा गर्दा हामी सधैँ नै भूकम्पीय जोखिममा छौँ । त्यो कुरालाई हामी विगतमा गएका भूकम्पलाई हेर्यौँ भने पनि ऐतिहासिक रुपमा भन्न सक्छौँ । त्यस्तै, वैज्ञानिक अध्ययन अनुसन्धानले पनि के देखाएको छ भने हिमालय सधैँ आफैँमा भूकम्पीय जोखिममा छ ।

पश्चिमतर्फको कुरा गर्दा विगत पाँच सय वर्षदेखि त्यहाँ भूकम्पीय शक्ति जम्मा भइरहेको र त्यो प्रक्रिया सधैँ चलिरहने पश्चिम नेपाल पनि भूकम्पीय जोखिममा छ । त्यहाँ आठ रेक्टर स्केलभन्दा ठूलो भूकम्प जाने शक्ति पहिलेदेखि छ भनेदेखि त्यहाँ पाँच/छ रेक्टरको भूकम्प जहिले पनि जान सक्ने भयो । 

हामी पश्चिम नेपाल मात्र नभएर सबै क्षेत्र अर्थात् सिङ्गो नेपाल नै भूकम्पीय जोखिममा छ । जस्तो मध्य नेपालमा गोरखा भूकम्पपछि पनि काठमाण्डौभन्दा दक्षिणतर्फ बाँकी रहेको शक्ति पनि बाँकी नै छ । त्यहाँ पनि भूकम्प जान सक्छ । पूर्वतर्फ पनि ९० सालभन्दा पछि गएको भूकम्पले प्लेट सर्दा जम्मा भएको शक्ति बाँकी नै छ । त्यहाँ आठ रेक्टर जाने शक्ति नभए पनि त्यो शक्ति त त्यहाँ जम्मा भइरहेको छ । त्यसकारण सबै ठाउँ भूकम्पको जोखिममा छ । आठ रेक्टर जान सक्ने ठाउँमा छ रेक्टर जाँदा त यो क्षति भएको छ । यसकारण हामी सबै सदैव, सबै क्षेत्र भूकम्पीय जोखिममा छौँ ।

अब भूकम्प जाने जोखिमको कुरा गर्दा कहाँ, कहिले भन्ने प्रश्न पनि आउँछ । तर, यसलाई मानिसको जीवनसँग तुलना गर्दा हुन्छ । मानिसको मृत्यु अवश्यम्भावी छ तर, कहाँ, कहिले कसरी भन्ने थाहा नभए जस्तै हो भूकम्प पनि । यसकारण कसरी स्वस्थ हुने भनेर हामी लागि परेजस्तै भूकम्पबाट कसरी जोगिने भन्ने कुरामा सदैव सचेत हुनुपर्छ ।

ठूलो जोखिमबाट जोगिने मौका

बेलाबेलामा गएका भूकम्पले हामीले पाठ त सिकेका छौँ । तर, त्यसलाई व्यवहारमा भने लागू गरेका छैनौँ । यो भन्दा ठूलो जोखिम आउन सक्ने परिस्थिति छ । यति सानो आउँदा त यति क्षति हुन्छ भने ठूलो आउँदा के होला भनेर जोगिने मौका पनि हो यो भूकम्प । जस्तो हामी पूर्वकम्प भन्छौँ ठूलो भूकम्प जाँदा सानो अगाडि आयो भने त्यसले कम क्षति गर्छ भन्छौँ । बझाङमा त्यस्तै भयो । त्यस्तै अवस्था चाहिँ साना साना भूकम्प आएर भोलि भविष्यमा जाने ठूलो भूकम्पको तयारीका लागि एउटा मौका पनि दिएको हो प्रकृतिले । तर, हाम्रो काम जहिले पनि के देखिन्छ भने भूकम्प गइसकेपछि विपद् व्यवस्थापनतिर मात्रै लाग्ने गरेका छौँ । हामीले पूर्व तयारीभन्दा पनि भूकम्प गइसकेपछि व्यवस्थापन गर्नतिर लाग्ने गरेको देखिन्छ । यस्ले हामीलाई कहिले पनि सुरक्षित राख्ने देखिँदैन । 

भविष्यमा जान सक्ने ठूला भूकम्पलाई मध्यनजर गर्दै हामीले सरकार तथा नागरिकले के गर्ने भन्ने बुझ्नुपर्छ । हामी जहिले पनि भूकम्पीय जोखिममा रहेका कारण भवनहरु बनाउँदा भूकम्पबाट कम क्षति कसरी हुन्छ भन्ने तरिका बुझेर आफैँ पनि लाग्नुपर्ने भयो । तर, अहिलेको पुनःनिर्माण हेर्दा पुरानै शैली देखिएको छ । यसमा भने नागरिका आफैँ सचेत भएर लाग्नुपर्ने छ । अब बन्ने भवनले कम्तीमा जोखिम नबढाओस् भनेर सरकारले पनि यो कुरामा ध्यान दिनुपर्यो । 

अर्को भनेको भूकम्प जानुअघि र गइसकेपछि के गर्ने भन्ने बारेमा शिक्षा दिनु पनि जरुरी देखिएको छ । सबै कारणले गर्द बच्चादेखि प्रौढसम्मलाई भूकम्प सम्बन्धी शिक्षा दिनु जरुरी देखियो । भूकम्प सम्बन्धी शिक्षालाई पाठ्यपुस्तकमै पनि समावेश गर्नुपर्ने जरुरी भयो ।

ठूलो भूकम्प जाँदा हुनसक्ने क्षतिकाबारे अध्ययन

अहिले हामीले बनाएका संरचना भोलि ठूलो भूकम्प जाँदा कति क्षति हुन्छ के हुन्छ भन्ने बारेमा हामीसँग केही पनि अध्ययन नै छैन । अब सरकारले गर्नुपर्ने भनेको हामी ठूलो भूकम्प जानसक्छ भनिरहँदा गयो भने कहाँ कस्तो क्षति हुनसक्छ भनेर अध्ययनकै जरुरी भयो पहिला भनेको । जुन काम हामीले अहिलेसम्म गरेका छैनौँ । अध्ययन गरिसकेपछि बनाएका संरचना बल्ल सुरक्षित हुन्छन् । 

भूकम्प पश्चातको तयारीमा भने अहिले पनि धेरै नै कमी कमजोरी अहिले पनि देखियो । अहिले ऐन, कानुन केहीले रोकेको त होइन होला । सेना र प्रहरीको खोज तथा उद्धार भने उत्कृष्ट रह्यो । हामी भोलिपल्ट जाजरकोट पुग्दा पनि त्यहाँका सम्पूर्ण घाइतेहरुलाई उद्धार गरिसकिएको थियो । तर, त्यस अनुसार राहत वितरणको काम भने भएन । यस्ता कुरामा पनि हामीले ध्यान दिनुपर्छ । किनकि भूकम्प गइसकेपछि उद्धार तथा राहतको काममा हामीसँग पहिलेको राम्रै अनुभव छ ।

अब हामी भूकम्पबाट सुरक्षित रहनका लागि अब हामीले बनाएका संरचनाले जोखिम नबढाओस् भनेर पहिला ध्यान दिनुपर्यो । त्यो भनेको अब हामीले बनाउने संरचना भूकम्प जोखिम रहित हुनुपर्यो । अब हामीसँग पहिले नै भएका जोखिमयुक्त संरचनाको पनि लगत राख्नुपर्ने भयो । र, त्यसलाई सबलीकरण गर्नतिर पनि लाग्नुपर्ने भयो ।

(राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ वैज्ञानिक अधिकारीसँगको कुराकानीमा आधारित।)

अन्तिम अपडेट: असार ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डा. लाेक विजय अधिकारी

अधिकारी राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रमा वरिष्ठ भूकम्पविदकाे रुपमा कार्यरत हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया