वित्तीय साक्षरताले रेमिट्यान्सको सही उपयोग गर्न सिकाउँछ

 मंसिर ६, २०८० बुधबार ९:७:९ | डा. गुणाकर भट्ट
unn.prixa.net

नेपालको अर्थतन्त्रको एउटा महत्त्वपूर्ण आधारकोरुपमा रेमिट्यान्स रहेको छ । विदेश गएका नेपालीहरुले विदेशमा ठूलो मेहनत गर्नु भएको छ । उहाँहरु यहाँ आफ्नो घरपरिवार छोडेर जानुभएको छ । विदेशमा पसिना बगाउनु भएको छ । कमाइ गर्नुभएको छ । त्यो नेपालमा रहेको आफ्नो घरपरिवारलाई पठाउनुहुन्छ । त्यो रेमिट्यान्सकोरुपमा हाम्रो देशमा भित्रिरहेको छ । यस कारणले हामी संसारका रेमिट्यान्स भित्र्याउने देशहरुमध्ये अग्रस्थानमा पर्छौँ । हामीकहाँ अहिले पनि कुल गार्हस्थ उत्पादनको २० प्रतिशत रेमिट्यान्स आएको देखिन्छ ।

पछिल्लो समय हेर्ने हो भने ठूलो सङ्ख्यामा नेपालीहरु कामका लागि विदेशमा गएका छन् । यो दुई वर्ष यता हेर्दा करिब करिब १६ लाख मान्छे कामको लागि विदेश गएको देखिन्छ । ठूलो सङ्ख्यामा नेपालीहरु विदेश गइरहेका छन् । उनीहरुले पठाएको रेमिट्यान्सले नेपालमा आयात धान्नका लागि, नेपालले आफ्नो विदेशी विनिमयलाई बलियो बनाउन रेमिट्यान्सले ठूलो मद्दत पुर्‍याइरहेको छ । यस्तो बेलामा घरपरिवारले प्राप्त गरेको रेमिट्यान्सलाई स्वभाविकरुपले उहाँहरुले बच्चाहरुको शिक्षामा, घरपरिवारको स्वास्थ्यमा, स्तरीय कपडामा तथा राम्रो जीवन निर्वाह गर्नका लागि आवासमा खर्च गरिरहनु भएको छ ।

त्यो बाहेक पनि विदेश गएका नेपालीहरुले विदेशमा कमाएको रेमिट्यान्स नेपाल सरकारले समय समयमा जारी गर्ने वैदेशिक रोजगार बचतपत्र छ त्यसमा उहाँहरुले लगानी गर्नसक्नुहुन्छ । यदि उहाँहरुले आफ्ना दैनिक खर्च, व्यक्तिगत खर्च, नियमित आवश्यक्तामा खर्च गरेर थप बचाउन सकिने रकम भविष्यका लागि बचाउन सकिन्छ भने वैदेशिक रोजगार बचतपत्रमा लगानी गर्ने अवसर छँदैछ । यो रोजगार बचतपत्रको ब्याजदर अन्य बचतभन्दा सामान्यतया अधिक नै छ ।

यस्तै विदेशमा रहेका नेपालीले रेमिट्यान्स पठाउनुहुन्छ र रेमिट्यान्स खातामा बचत गर्नुहुन्छ भने अरुलाई दिनेभन्दा बैंकहरुमा एक प्रतिशत ब्याजदर थपको व्यवस्था छ । अन्य मुद्दती खातामा यदि नौ प्रतिशत ब्याजदरको व्यवस्था छ भने रेमिट्यान्स मुद्दती बचत खातामा कम्तीमा एक प्रतिशत बढी ब्याज पाउने व्यवस्था छ । यस्का लागि उहाँहरुले बैंकमा रेमिट्यान्स आएको प्रमाण देखाएर रेमिट्यान्स खाता खोलेर थप ब्याज आर्जन सक्नुहुन्छ ।

नेपाली नागरिकले नेपालमै बसेर कमाएको पैसा बैंकमा जम्मा गरेको ब्याज भन्दा विदेश गएर दुःख गरेर पठाएको पैसामा एक प्रतिशत ब्याज कम्तीमा पनि थप्नुपर्छ भन्ने व्यवस्था हामीले गरेका छौँ रेमिट्यान्स बचत गर्ने उत्साहको लागि । यो पनि रेमिट्यान्स जम्मा गर्न दिइएको एक प्रकारको उत्प्रेरणा हो ।

रेमिट्यान्स तीन प्रकारले व्यवस्थापन गर्न सकिन्छ

विदेशमा कमाएको रेमिट्यान्सलाई हामीले तीन प्रकारले व्यवस्थापन गर्न सक्छौँ । विदेशमा बस्दा पनि आफ्ना केही व्यक्तिगत आवश्यक्ता त हुने नै भए । त्यसपछि घर परिवारको शिक्षा, स्वास्थ्य, आवास, लत्ताकपडा त्यसमा पनि केही खर्च हुन्छ । त्यसबाहेक बाँकी भएको रकम साथीभाइलाई ऋण सापट दिने अथवा अन्यत्र राख्ने काम गर्नु भएन । यसले विदेशमा दुःख गरेर कमाएको रकमको सही सदुपयोग हुन सक्दैन । 

अर्को भनेको राष्ट्र बैंकको निगरानीमा नरहने कतिपय सहकारी जस्ता ठाउँहरु जहाँ अहिले समस्या आइरहेको छ, त्यहाँ पैसा राख्दा मान्छेहरुको पैसा डुबिरहेको छ त्यस्ता संस्थाहरुमा राख्नुको सट्टा आफूले बचत गरेको रकम बैंकमा बचत गर्न सकिन्छ । बैंक पैसा राख्नका लागि सजिलो माध्यम पनि छ । यसरी बैंकमा रोमिट्यान्स राख्दा अरुले पाउने भन्दा थप एक प्रतिशत ब्याज पनि पाइन्छ ।

यसैगरी सरकारले समय समयमा निकाल्ने वैदेशिक रोजगार बचतपत्रमा पनि लगानी गर्न सकिन्छ । वैदेशिक रोजगार बचतपत्रको ब्याज पनि तुलनात्मकरुपमा केही बढी हुन्छ । त्यसकारण यदि वैदेशिक रोजगारमा जानेहरुले कमाएको रकम बचाउन सक्नुभयो भने भोलि नेपाल फर्किसकेपछि आफूलाई उद्यम, व्यवसाय गर्न पनि सजिलो हुन्छ । त्यो बचतलाई विदेशमा सिकेको ज्ञान, सीप नेपालमा उपयोग गर्दा उद्यम गर्ने वातावरण बन्छ । अब उद्यम शुरु गर्दा आफ्नो पनि केही पैसा भयो भने सजिलो हुन्छ । त्यसकारण आफ्नो बचत यसरी पनि उपयोग गर्न सकिन्छ ।

पालिका तथा प्रदेश सरकारले कतिपय पूर्वाधारका क्षेत्रमा विदेशमा बसेर कमाएको रकमलाई आकर्षित गर्न भोलि रेमिट्यान्स बण्ड जारी गर्न सक्नुहुन्छ । जसरी अहिले नेपाल सरकारले वैदेशिक रोजगार बचतपत्र जारी गरिरहेको छ त्यसैगरी पालिका एवम् प्रदेश सरकारले पनि रेमिट्यान्स बण्ड जारी गरेर बण्डमार्फत् विदेशमा बसेर कमाएको पैसालाई निर्माणका क्षेत्रमा, पूर्वाधारका क्षेत्रमा उपयोग गर्नसक्ने एउटा अवसर छ ।

रेमिटेन्सको उपयोगका लागि वित्तीय साक्षरता प्रवर्द्धन 

अर्को भनेको वित्तीय साक्षरता प्रवर्द्धन गर्नुपर्ने देखिन्छ । पालिकाहरुको दायित्व मुख्यरुपमा वित्तीय साक्षरता बढाउनमा मान्छेहरुलाई जानकारी दिनेमा केन्द्रित गर्नुपर्ने पनि देखिन्छ । विदेशमा कमाएको पैसा अनौपचारिक माध्यमबाट धेरैको यसलाई हुण्डी पनि भन्ने चलन छ, त्यसबाट पठाउने चलन पनि छ । यसरी अनौपचारिक माध्यमबाट वा हुण्डीबाट विदेशमा कमाएको रकम पठाउने नगरौँ । यसलाई औपचारिक माध्यम अर्थात् बैंकबाट नै पठाउने गरौँ । यसरी बैंकिङ च्यानलबाट पठाउँदा एउटा त बचत गर्ने बानीको विकास हुन्छ । अर्को भनेको त्यो पैसा दुरुपयोग हुँदैन, त्यो पैसा हराउने सम्भावना हुँदैन । त्यो पैसा जोखिममा पर्दैन भनेर वित्तीय साक्षरता प्रवर्द्धन गर्ने काम गर्नुपर्ने जरुरी पनि देखिन्छ।

अर्को भनेको नेपालमा पनि बचत गरेको रकमलाई भोलि फेरि उद्यममा लगाउन सकिन्छ भनेर यस्ता कुराहरु घरपरिवारदेखि वैदेशिक रोजगारमा जाने, वैदेशिक रोजगारबाट फर्केका, रोजगारीमै रहेका, वैदेशिक रोजगारीको खोजीमा रहेका, जाने तयारीमा रहेका सबैलाई बुझाउनका लागि, वित्तीय चेतना बढाउनका लागि पालिका वा प्रदेश सरकारले भूमिका खेल्न सक्छ ।

नेपालीहरुमा पनि वित्तीय साक्षरता क्रमशः अभिवृद्धि भइरहेको छ । वित्तीय साक्षरता बढाउनका लागि विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले पनि आफ्नो लगानीको केही अंश उहाँहरुले वित्तीय साक्षरतामा खर्च गरिरहनु भएको छ । हरेक महिना जसो कुनै न कुनै वित्तीय संस्थाले वित्तीय साक्षरताको कार्यक्रम गरी नै रहेको छ ।

वित्तीय साक्षरता बढाउँदै बैंक

पछिल्लो समय केही सञ्चार माध्यमहरु पनि वित्तीय साक्षरता बढाउनमा लागिरहनु भएको छ । राष्ट्र बैंकले स्वभाविकरुपमा डिजिटल वित्तीय साक्षरता भनेर गएको वर्ष देशका दुर्गमलगायत धेरै ठाउँहरुमा राष्ट्र बैंकको उच्च तहबाट नै त्यहाँ उपस्थिति जनाएर कार्यक्रमहरु भएका छन् । राष्ट्र बैंकको गर्भनरसमेत उपस्थित भएर यस्ता धेरै कार्यक्रमहरु भएका छन् ।

बैंकले गर्ने संस्थागत उत्तरदायित्व बापतको खर्च बैंकको मुनाफाको एक प्रतिशत रकममध्ये त्यसको पाँच प्रतिशत रकम वित्तीय साक्षरतामा खर्च गर्न राष्ट्र बैंकले बैंकहरुलाई निर्देशन दिएको छ । त्यसैले अहिले भएका केही व्यवस्थाले पनि वित्तीय साक्षरता अभिवृद्धि गर्न मद्दत पुर्‍याएको छ । हाम्रो वित्तीय साक्षरताको तह अहिलेको तथ्याँक हेर्दा बढेको भन्न सकिन्छ । जस्तो झण्डै पाँच करोड बैंक खाता खुलेका छन् । झण्डै ७२ प्रतिशत नागरिकको कुनै न कुनैरुपमा बैंकिङ पहुँच पुगेको आँकलन गरिएको छ । यी कुराहरुले के पुष्टि गर्छ त भन्दा वित्तीय साक्षरता क्रमशः बढ्दै गइरहेको छ ।

बैंकहरुसँग मान्छेहरुले आफ्नो आर्थिक व्यवहार गर्ने, बैंकमा गएर बचत गर्ने, ऋण लिने जस्ता बानीको क्रमशः विकास भइरहेको छ । त्यसका लागि बैंकहरुले थप सहयोगी भूमिका खेल्नुपर्छ भनेर हामीले भनिरहेका छौँ । ग्राहकहरुलाई ऋण लिँदा के कस्तो समस्या आइपर्छ, ब्याजदर कस्तो छ, भोलि ब्याजदर कसरी परिवर्तन हुन सक्छ, ऋणको दुरुपयोग भयो भने के हुन्छ, जुन प्रयोजनको लागि ऋण लिएको हो त्यसको लागि मात्र ऋणको उपयोग गर्नुपर्छ, दुरुपयोग गर्नुहुँदैन भन्ने जस्ता कुराहरु सिकाउनमा बैंकहरुको सबैभन्दा महत्त्वपूर्ण भूमिका हुन्छ ।

जुन बैंकको जुन शाखाबाट ग्राहकले ऋण लिएको छ अथवा बचत गरेको छ त्यो शाखाले आफ्ना ग्राहकलाई असाध्यै राम्रो किसिमले, प्रभावकारी ढंगले उहाँहरुलाई जानकारी दिनुपर्छ । उहाँहरुलाई यस विषयमा सुसूचित बनाउने काम बैंकको हो । त्यसैले वित्तीय साक्षरता बढाउनमा प्राथमिक दायित्व कसैको छ भने त्यो बैंकहरुको नै हो । त्यसबाहेक पालिकाहरुले पनि आफ्ना नागरिकहरको वित्तीय साक्षरता बढाउन भूमिका खेल्दा राम्रो हुन्छ । अहिले क्रमशः वित्तीय साक्षरता नेपालमा बढ्दै गइरहेको छ ।

रेमिट्यान्सका लागि अहिले सरकारले वित्तीय साक्षरताका कुराहरु, वैदेशिक रोजगार बचतपत्रका कुराहरुलाई हामीले निरन्तरता दिनुपर्छ । वैदेशिक रोजगारीमा जाने मान्छेहरुले उहाँहरु जानुभन्दा अगाडि थप सीप, ज्ञान बढाइदिने र रेमिट्यान्सको रकमलाई कसरी बैकिङ प्रणालीबाट पठाउने भन्ने विषय जानुभन्दा पहिले त्यसलाई तालिमको हिस्साकोरुपमा पनि लैजानुपर्छ जस्तो लाग्छ ।

(नेपाल राष्ट्र बैंकका प्रवक्ता भट्टसँगको कुराकानीमा आधारित)

अन्तिम अपडेट: फागुन १४, २०८०

डा. गुणाकर भट्ट

भट्ट नेपाल राष्ट्रबैंकका कार्यकारी निर्देशकसँगै प्रवक्ता तथा सूचना अधिकारी हुनुहुन्छ 

तपाईको प्रतिक्रिया