घरकाे भित्ताभरि माैरीकाे घार

 मंसिर २४, २०८० आइतबार १५:३४:६ | उज्यालो सहकर्मी
unn.prixa.net

मौरीको घार नै घारले भरिएको दिनेश तामाङको घर ।

खोटाङ – सँगै छन् एक तले २ वटा घर । एउटै आँगनमा आमनेसामने दुवै घरको चारैतिर मौरीका परम्परागत घार राखिएका छन् । आँगनमा पुग्दा काठको घार र घरको भित्तामा बनाइएको स–साना प्वालबाट मौरीको हुल गुनगुनाउँदै भित्र–बाहिर गरिरहेको देखिन्छ । जोसुकैलाई लोभ्याउने यो पौरख हो खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा लालीका युवा दिनेश तामाङको ।

३२ वर्षीय तामाङले घरको पर्खालमा खोपा घार र काठको डुँड (परम्परागत घार) बनाएर मौरीपालन गरिरहनुभएकाे छ । २०६९ सालदेखि एपीसेरेना जातको मौरीपालन शुरु गर्नुभएका तामाङले १ सिजनमा कम्तीमा १ सय २० बोतल मह बिक्री गर्नुहुन्छ । आधा लिटरकाे बाेतलमा भरिएकाे मह १ हजार ५ सय रुपैयाँमा बिक्री गर्ने गरेको तामाङ बताउनुहुन्छ ।

डुँडमा राखिएको मौरीको मह निकाल्दै दिनेश तामाङ ।

अहिले तामाङको घरमा ३० वटा खोपा घार र १७ वटा काठको डुँड छन् । त्यसमध्ये अहिले ४० वटा घारमा मौरी छन् । प्रायः वर्षको जेठमा एकपल्ट र कात्तिक–मङ्सिरमा एकपल्ट मौरीको मह निकाल्ने गरिन्छ । गएकाे कात्तिकदेखि अहिलेसम्म १ सय ३५ बोतल मह बिक्री भइसकेको तामाङले बताउनुभयाे । महका लागि बजार खोज्दै हिँड्न पर्दैन उहाँलाई । ग्राहक फोनबाट सम्पर्क गर्दै घरैमा आइपुग्छन् । कहिलेकहीँ मह खोज्दै आउनेको भीड नै लाग्छ आँगनमा । महबाट आउने आम्दानीले नै उहाँको ६ जना (श्रीमती, तीन छोरी र एक छोरा) को परिवार चलिरहेको छ । मह काढ्ने सिजन भएपछि उहाँ तस्बिर र भिडियोसहित सम्पर्क नम्बर सामाजिक सञ्जाल फेसबुकमा राख्नुहुन्छ । ग्राहक त्यही नम्बरमार्फत मह किन्न पुग्छन् ।

मध्यपहाडी राजमार्गको मुढेबाट झन्डै ५ मिनेटमाथि रहेको तामाङको घर पुग्ने कच्ची सडक पनि बनिसकेको छ । मौरीपालनका लागि तामाङले पुरानो घरको पर्खालमा १० खोपा घार र नयाँ घरमा २० वटा खोपा घार बनाउनुभएकाे छ । खोपा घार घर बनाउने क्रममै काठको खोपा बनाएर पर्खालमा लहरै मिलाएर राख्नुपर्ने हुन्छ । डुँड घारलाई भने पानीले नभेट्नेगरी घरको छानामुनि राखिएकाे छ । कतिपय डुँडलाई बाहिर बारीको कुनामा छाना हालेर राखिएको छ । तामाङले शौचालयको पर्खाललाई समेत खोपा घारको रूपमा उपयोग गर्नुभएकाे छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलामा रहेकाे गैरीगाउँ पुगेका बेला तामाङले घरको भित्ता र काठको डुँडमा मौरीपालन गरेको देख्नुभएकाे थियाे । पछि घर बनाउने क्रममा उहाँले पनि त्यहीअनुसार घरको भित्तामा खोपा घार र काठको डुँड बनाएर मौरीपालन शुरु गर्नुभएकाे हाे । मौरीपालनकै सीप सिक्नका लागि उहाँ गोदावरीसम्म पुग्नुभएकाे छ । ‘मावली घरमा देखेर त्यस्तै खालको घारहरू बनाएँ । नभन्दै मौरी आफैँ घार खोज्दै आएर बस्यो’, तामाङले भन्नुभयाे, ‘मौरी बढ्दै गयो । थप काम गर्न उत्साह जगायो । धोद्रो भएको रुख काटेर डुँडहरू थप्दै गएँ । अहिले यसैबाट गुजारा चलिरहेको छ ।’

उहाँकाे घरभन्दा केही माथि रुपाकोटमा घना जङ्गल छ । जङ्गलमा चिमाल, चिराइतो, गुराँस, पात्ले, चुथ्रो, मान्द्रे लगायतका फूल फुल्छन् । त्यही कारण पनि उहाँलाई मौरीपालन फापेको छ । तामाङले मौरीका लागि अहिलेसम्म आधुनिक घार प्रयोग गर्नुभएकाे छैन । लेकमा आधुनिक घार चिसो हुने र मह कम निकाल्ने भएकाले आधुनिक घार प्रयोग नगरेको तामाङले बताउनुभयाे ।

उहाँले अहिलेसम्म कहीँ कतैबाट सरकारी अनुदान लिनुभएकाे छैन । उहाँ आफ्नै बलबुतामा मौरीसँग रमिरहनुभएकाे छ । २ वर्षअघि बाल सेवा समाज नामक संस्थाले २० हजार रुपैयाँ अनुदान दिएको थियो । त्यसमा थपथाप गरेर २० खोपा घारसहितको घर बनाएको तामाङ बताउनुहुन्छ । ‘अहिले सच्चा किसानले अनुदान पाउन सकिरहेका छैनन् । नक्कली किसानले अनुदान पाउँछन्’, तामाङ भन्नुहुन्छ, ‘अनुदानका लागि एक पटक घरेलु पुगेको थिएँ । समूह बनाएर आउनु भन्यो, त्यसपछि गइन । अनुदानको सही सदुपयोग भइरहेको छैन ।’

दिनेशका बुवा मानबहादुर भारतका पूर्वसेना हुनुहुन्छ । तर दिनेशले बुबाको पदचापलाई पछ्याउनुभएन, कृषि पेसातिर लाग्नुभयाे । मौरीपालनलाई थप विस्तार गर्ने योजना छ तामाङको । ३० वटा खोपा घारसहितको गुवाली बनाउने उहाँको योजना छ । २०७६ सालमा मुढेमा हिमपात हुँदा उहाँको ३६ घार मौरी सखाप भएको थियो । मौरी नै नरहेपछि उहाँले धेरैजसाे घारहरू चिरेर दाउरा बाल्नुभयाे । तर बाँकी घारहरूलाई सफा गरेपछि क्रमशः आफैँ मौरी आएको तामाङले बताउनुभयाे ।

तस्बिर : दमन राई

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया