धनगढीका मेयर हमाल अस्वस्थ भएपछि थप उपचारका लागि दिल्ली रेफर
मंसिर २२, २०८१ शनिबार
एक्कासी किन यता आयौ बाबु ? घरमा आमा, दिदी र भाइलाई छोडेर ।
हैन किन बोल्दैनौ ? के भयो ? घरतिर त सबै ठीकै छ नि ? म बिरामी हुँदा ऋण लाग्यो, व्यवहार बिग्रियो, ऋण तिर्न र घरखर्च जुटाउन कोरिया जान्छु भन्थ्यौ । यति छिटै किन यता आएको ? भन न बाबु ।
कोरिया जान खोजेको हो बा । तर सरकारले उता जान दिएन, यता पठाइदियो ।
किन, के भनेर सरकारले यता पठाएको ?
विदेश जाँदा पनि बाँचिन्छ भन्ने ठेगान हुँदैन रे बा । कति जना त काम गर्दागर्दै, हिँड्दाहिँड्दै, बस्दाबस्दै, सुत्दासुत्दै बित्छन् रे । मर्ने नै हो, मर्नु नै छ भने विदेशसम्म जाने दुःख किन गर्नु, विदेशमा मरेपछि लास ल्याउन पनि अनेक झन्झट हुन्छ, अनि लास पनि ल्याउन सकेन भनेर सरकारकै विरोध हुन्छ, बरु देशमै मर भनेर पठायो बा । कथम्कदाचित् विदेशमा बाँचेर घर फर्कियो भने पनि एकदिन त मर्ने नै हो । कालगतिले छिटो नमरे पनि अभाव, चिन्ता र छटपटीले दिनदिनै मर्नुभन्दा एकैपटक मर्न सजिलो हुन्छ भनेर पठाएको बा । मेरो मृत्यु यात्रापछि धेरैले देशभित्र रोजगार खोज्ने बेरोजगारको नम्बरमा एउटा अङ्क घट्यो । नेतालाई गाली गर्ने एउटा स्वर अस्तायो । प्रतिस्पर्धीका लागि एउटा कोटा खाली भयो भनेर उधुम रमाइलै मानिरहेका छन् । तपाईँसित भेट्न पाएपछि मलाई पनि नमज्जा लाग्न छाडेको छ बा !
तर परिवारको आडभरोसा ढल्यो नि बाबु । म वर्ष दिनअघि नै तिमीहरूलाई छोडेर यता आएको । मैले पूरै ज्यान छाडेपछि तिम्री आमा आधा ज्यानकी भएर सकिनसकी सास फेर्दै थिइन् । मेरो अभावमा तिमी नै आमाको सहारा थियौ । भाइ सानै छ । दिदीले त्यति मेसो पाउँदिन । तिमी पनि यता आएपछि आमा र दिदीभाइको हालत के भएको होला ?
के गर्नु त बा सरकारले तँलाई नै सजिलो हुन्छ भनेर यता पठायो ।
अनि तिमीले लगाएको यो लुगा त पुरानै हैन ? म उता छँदै किनेको ।
हो बा । काकुले अर्को महिना एकजोर नयाँ लुगा किन्दिन्छु भन्नुहुन्थ्यो । तर नयाँ लुगा लगाउन नपाउँदै पुरानो पनि छोडेर आउनुपर्याे । बिहान अलिकति भात खाएर निस्केको थिएँ । दिउँसो पानीसमेत पिउन नपाउँदै सरकारले यता पठाइदियो ।
अनि घरतिर अरू के छ त बाबु ? व्यवहार अलिअलि सुध्रेको छ त ?
छैन बा, तपाईँले छोडेर यता आएपछि आमाको आधा ज्यान घटिहाल्यो । अब म पनि यता आएपछि के हाल होला ? दिदी र भाइ पढ्दैछन् । तपाईँसँगै व्यापार पनि डुबिहाल्यो । घरको चुहिने छाना टाल्न पनि सकेको छैन । भएको त्यही दुई/चार सुर्का बारीमा फलेको बालीले खान पुग्दैन, तपाईँलाई थाहा छँदैछ । बिहान बेलुकाको छाक टार्न उस्तै मुस्किल छ । दुई छाक टार्न, चुहिने छाना टाल्न, दिदी र भाइलाई पढाउन, ऋण तिर्न र आमाको मुहारमा खुशी फर्काउन भनेरै कोरिया जान खोज्दै थिएँ बा । भाषा परीक्षाको तयारी गर्दै थिएँ । तर न गाउँ फर्केर खोरिया खस्रन पाइयो, न कमाउन कोरिया जान पाइयो, केही पाइएन ।
अनि तिमीसँगै आएको अर्को बाबु को त नि ?
म पनि तपाईँको छोराजस्तै हो बुबा । मेरो घर चाहिँ अछाम । म पनि सुजनसँगै कोरिया जान चाहन्थेँ । कोरिया जाने दिन उडाउन आउनु है बुबा भनेर काठमाण्डौ आएको थिएँ । तर सरकारले कोरियाको सट्टा यता पठायो हामीलाई । मेरो बुबा पनि बिरामी हुनुहुन्छ ।
पोहोर म यता आउने बेलामा त चुनाव भएको थियो । दुःखी, गरिब र बेरोजगारीको मर्का बुझ्ने हामीले हो भनेर भाषण गर्ने पार्टी सरकारमा छ । तिमीहरूजस्तै युवालाई ठूल्ठूला सपना बाँड्ने नेता प्रधानमन्त्री छन् । के गर्दैछन् त प्रधानमन्त्री र सरकारका अरू मान्छेहरू ?
आफ्नै परिवार, नातागोता र आसेपासेलाई हेर्दैमा फुर्सद छैन बा उहाँहरूलाई । अस्ति सरकार चलाएको वार्षिकी पारेर बोल्दा अब कार्यशैली फेर्छु भन्नुहुन्थ्यो । सरकारले कार्यशैली फेरेपछि देशले चोला फेर्ला भनेर आश गर्दा हाम्रो चाहिँ चोला नै उड्यो ।
तिमीहरू पनि बेला नपुग्दै यता आयौ । मलाई पनि अकालमै आउनुपर्याे । उता हुँदाजस्तो यता घरव्यवहार र देश बिग्रिएको त देख्न परेको छैन बाबु हो, आनन्दै छ । तर उता हुनेहरूको अवस्था के होला ?
हामी यता आएपछि धेरै कुरा भैसक्यो बा । हामी हुँदासम्म कोरिया जाने फारम भर्न मिल्दैन भन्थे । हामी यता आएपछि मिल्ने भएछ । एकपटक फारम भरेर पास भएर कोरिया जाने हुटहुटी बाँकी नै छ ।
अब तिमीहरूले फारम भर्न मिल्दैन बाबु हो । तिमीहरूजस्तै अरू साथीहरूलाई चाहिँ मिल्ने भयो । उनीहरूका लागि तिमीहरूले बलिदान गर्याै भनेर चित्त बुझाउ । त्यसमाथि तिमीहरूका लागि सरकारले १० लाख पनि दिने भयो रे । गोली खाएपछि मात्र आफूले देख्न नपाउने १० लाख कमायौ छोरा हो, १० लाख !
गोली खाएर यता आउने सबैले १० लाख पाउने रैछन् है बा ?
हो बाबु सरकारले पहिलेदेखि नै तोकेको ज्यानको मूल्य । एउटा गोलीसँग साटिने मूल्य । पहिले पनि १० लाख थियो, अहिले पनि १० लाख नै छ ।
सबैको भाउ बढ्यो, तर जिन्दगीको भाउ कहिल्यै बढ्दो रहेनछ बा ?
हामीजस्ता मान्छेको जिन्दगी र जिउको भाउ कहिल्यै बढ्दैन बाबु हो । झन् घट्छ । सरकार र नेताहरूलाई हामी पाँच वर्षमा एकपटक मात्रै काममा आउँछौँ भोट हाल्ने बेला । त्यति बेला हामीलाई अलि महँगो जस्तो ठान्छन् । त्यसपछि हामी अलिकति पनि काम लाग्ने हुँदैनौ बाबु हो । काम लाग्ने थियौँ भने तिमीहरूलाई किन कलिलैमा यता पठाउँथे ? म पनि किन अकालमै यता आउनुपर्थ्याे ? संविधान, नीति नियम र दलहरूका घोषणापत्रमा लेखिएजस्तै गाउँठाउँमै सुख र समृद्धि हुन्थ्यो । खोरियामै काम र दाम मिल्थ्यो, कोरिया जान तिमीहरूले बल गर्नै पर्दैन थियो । मैले समयमै उपचार पाउँथे, अझै केही वर्ष उतै हुन्थेँ, व्यवहार मिलाउँथे । तिमीले घरव्यवहारको जिम्मेवारीबाट टाढा बसेर राम्रोसँग पढ्न पाउँथ्यौ । ठिकै छ बाबु हो, १० लाख कमाउन कति गाह्रो हुन्थ्यो ? कोरिया नपुग्दै १० लाख कमाइ भयो भनेर चित्त बुझाउ । धेरै चिन्ता नमान । उताजस्तो यहाँ सरकार छैन । दल र नेताहरू छैनन् । धनी र गरिबको भेदभाव छैन । अभाव र बेरोजगारी छैन । यता पेट भर्न पर्दैन, ओत लाग्न र आङ ढाक्न पर्दैन । सरकार र दलहरूका भाषण, प्रतिबद्धता, नीति नियम पढ्न र सुन्न पर्दैन । उनीहरूले केही गर्लान् कि भनेर पहिले आश गर्न र त्यसपछि केही गरेनन् भनेर पछि निराश हुन पनि पर्दैन । केही गर्नै र हुनै नपरेपछि सबै आनन्द ! महाआनन्द !! परमानन्द !!!
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।