भारतको उत्तराखण्डमा बस दुर्घटना हुँदा ३६ जनाको ज्यान गयो
कात्तिक १९, २०८१ सोमबार
काठमाण्डाै – भारतको अयोध्यामा बनेको राम मन्दिरमा विश्वकै ध्यान तान्नेगरी आज भगवान रामको प्राण प्रतिष्ठा सम्पन्न भएको छ । अर्थात् भगवान रामको प्राणलाई मूर्तिमा सारिएको छ । प्राण प्रतिष्ठालाई भारतले –बिशेषतः भारतीय जनता पार्टीले आफ्नै प्रतिष्ठाको रुपमा हेरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरको निर्माण र प्राण प्रतिष्ठालाई भारतीय इतिहासकै सर्वोच्च दिनको रुपमा ब्याख्या गर्दै सयौँ वर्षको प्रतिक्षा र धैर्यतापछि आजको दिन आएको पनि उल्लेख गर्नुभयो । वावरी मस्जीदको अवसान र रामको प्राण प्रतिष्ठाले नेपालमा पनि गहिरो असर देखाउने लगभग निश्चित छ ।
तर आज प्राणप्रतिष्ठा गरिएको राममन्दिर क्षेत्र अत्यन्त विवादित छ ।
अहिले भव्य मन्दिर बनाएको ठाउँमा सन् १९९२ अर्थात् ३२ वर्ष पहिले भव्य बाबरी मस्जिद थियो । यो मस्जिद १६ औँ शताब्दीमा बनेको मानिन्छ । मस्जिदमा तोडफोड हुनुअघि हिन्दुहरूले यो ठाउँलाई भगवान् रामको जन्मस्थान भनेर दाबी गरेका थिए । तर मुस्लिमहरूको पनि आफ्नै दाबी छ । उनीहरू भन्छन्, ‘केही व्यक्तिहरूले अन्धकार भएको मौका छोपेर रामका मूर्ति मस्जिदमा लगेर राखिदिए र त्यसको पूजा गर्न थाले अनि रामको जन्मभूमि भनेर षड्यन्त्र गरे ।’
विवादको जरो र भाजपाको जन्म
२० औँ शताब्दीको शुरुदेखि नै भारतमा हिन्दु र मुसलमानबीचको विवाद बढ्यो । यो विवादमा राजनीति घुस्यो । स्वतन्त्रताको लडाइँ बलियो हुँदै जाँदा सन् १९२० पछि भारतमा हिन्दु धर्मका उग्र अनुयायीले सङ्घ–संस्था खोल्न थाले । सन् १९२३ मा विनायक दामोदर सावरकरले हिन्दु धर्मको उग्र पक्ष र मुसलमानहरूविरुद्ध घृणाको भाव सँगै फैलाएको इतिहासमा उल्लेख छ । सावरकरबाट प्रभावित भएर सन् १९२५ मा राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) गठन भयो । आरएसएसले मुसलमानको नाम सुन्न समेत चाहन्न । सन् १९४७ मा बेलायती साम्राज्यबाट भारतलाई मुक्त गराएपछि महात्मा गान्धीले भारतमा सबै धर्मका मानिस मिलेर बस्नुपर्छ र छुट्टिएको पाकिस्तानलाई पनि जोड्नुपर्छ भन्ने अभियान चलाउन थालेका थिए । आरएसएसको शिक्षा दीक्षामा हुर्केका उग्र हिन्दुवादी नाथुराम गोड्सेले सन् १९४८ जनवरी ३० मा गोली हानेर सनातन हिन्दु धर्मका अगुवा महात्मा गान्धीको हत्या गरे ।
गान्धीको हत्यापछि तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले धर्मनिरपेक्षतालाई बलियो पार्ने प्रयास गरे । तर नेहरुले नेतृत्व गरेको भारतीय कांग्रेसले लिएको धर्मनिरपेक्षताविरुद्ध र हिन्दुत्वको पक्षमा आरएसएसको सहयोगमा सन् १९५१ मा श्यामाप्रसाद मुखर्जीले भारतीय जनसङ्घको स्थापना गरे । १ वर्षपछि सन् १९५२ मा भएको चुनावमा जनसङ्घले लोक सभाका ३ सिट जित्यो । सन् १९६७ मा पुग्दा जनसङ्घ अरू दलसँग गठबन्धन गरेर बिहार, मध्यप्रदेश र उत्तर प्रदेशमा सरकार बनाउन र ढाल्न सक्ने गरी बलियो भयो । त्यसको ८ वर्षपछि सन् १९७५ मा भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीले सङ्कटकाल लगाएको मौकामा जनसङ्घले देशभर आन्दोलन मात्र चर्काएन, जनसङ्घको नाम बदलेर जनता पार्टी बन्न गयो । पाँच वर्षपछि सन् १९८० को अप्रिलमा जनता पार्टीको नाम भारतीय जनता पार्टी अथवा अहिलेको भाजपा बन्यो । भाजपा बलियो हुँदै गएपछि हिन्दु धर्मको नाममा उग्रता बढ्दै गयो, हिन्दु सनातनीहरू कमजोर हुँदै गए ।
अयोध्यामा रामको मन्दिर र बाबरी मस्जिद
भाजपाको पहिलो पुस्ताका लालकृष्ण आणवाणी गृहमन्त्री र अटल बिहारी बाजपेयी प्रधानमन्त्री भएका बेला उनीहरूले हिन्दु धर्मको उग्रता अरू बढाए । सन् १९९० मा गुजरातदेखि अयोध्यासम्म राम रथयात्राको नेतृत्व लालकृष्ण आडवाणीले गरेका थिए । त्यो रथयात्राको मुख्य संयोजक थिए भाजपाको गुजरातका शक्तिशाली नेता तथा भारतका अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदी । त्यो रथयात्रापछि सन् १९९२ मा भाजपाका हजारौँ कार्यकर्ताले उत्तर प्रदेशको अयोध्यामा रहेको राममन्दिर नजिकैको बाबरी मस्जिद भत्काइदिए । देशभर साम्प्रदायिक हिंसा भड्कियो । २ हजार जनाले ज्यान गुमाए । मुम्बईमा मात्रै ९ सय जना मारिए । प्रहरीले समेत हिन्दुको पक्ष लिएको आरोप लाग्यो । सन् २००१ देखि १४ सम्म गुजरातको मुख्यमन्त्री रहेका मोदी सन् २०१४ देखि निरन्तर भारतका प्रधानमन्त्री छन् । २०१९ मा भारतको सर्वोच्च अदालतले बाबरी मस्जिद रहेको ठाउँमा राममन्दिर बनाउन पाउने फैसला गरेपछि मोदीकै सक्रियतामा राममन्दिरको निर्माण शुरु भएको हो ।
राममन्दिरको निर्माण अहिले पनि अपूरै छ तर आउँदो अप्रिल र मे अर्थात् वैशाख र जेठ महिनामा हुने चुनावमा हिन्दु मतदाताको भोट भाजपाको पक्षमा पार्न मोदीले आजै मन्दिरको उद्घाटन र प्राणप्रतिष्ठा सम्पन्न गरेका छन् । आजको पूजामा मोदी जति सक्रिय देखिन्थे, उत्तिकै सक्रिय थिए आरएसएसका अध्यक्ष मोहन भागवत । यसले के पुष्टि गर्छ भने भाजपा र अति हिन्दुवादी संस्था आरएसएस सँगसँगै छन् ।
मोदीले धर्मलाई राजनीतिकरण गरेको र विधि मिचेको भन्दै देशका ४ वटै मठका शङ्कराचार्य प्राणप्रतिष्ठामा सहभागी भएनन् । विपक्षी नेता पनि गएनन् । तर रामको धुनमा भारतवासी मस्त भएकाले शङ्कराचार्य र धर्मनिरपेक्षताका पक्षधरहरूको अनुपस्थिति छायामा परेको छ ।
नेपालको नाता
राममन्दिर र रामको प्राणप्रतिष्ठाले नेपालमा पनि राम्रै प्रभाव पारेको छ । भारतीय धर्म राजनीतिको सिको गर्दै कपिलवस्तुका ८ वटा र सप्तरीका २ वटा पालिकाले आज सार्वजनिक बिदा दिएका छन् । धनुषा, बाँकेलगायत जिल्लाका ठाउँठाउँमा मोटरसाइकल र्याली निस्किए, भजनकीर्तन र पूजाआजा गर्न उर्दी नै जारी भएका छन् । नागरिक शीतलहरले कठ्याङ्ग्रिएका बेला बिदा नदिएका पालिकाले छिमेकको अयोध्यामा भइरहेको धार्मिक कार्यक्रमका अवसरमा बिदा दिनुलाई नेपालमा बढ्दो हिन्दु उग्रताको सङ्केतका रूपमा लिइएको छ । कतिपय पालिकाका जनप्रतिनिधिले उग्र हिन्दुवादी संस्थाको दबाबमा बिदा दिएको जानकारी सार्वजनिक गरेका छन् ।
धनुषाको जनकपुर उपमहानगरका मेयर मनोजकुमार शाह र जानकी मन्दिरका महन्त रामरोशन दासले गरगहना, मिठाई, फलफूल, कपडा र भाँडाकुँडासहित ३ हजार वटा उपहारका पोका अयोध्या पठाएका छन् । रामको मूर्ति बनाउन भन्दै कालीगण्डकीका विशाल शिला ट्रकमा हालेर अयोध्या लगिएको थियो तर शिलाबाट मूर्ति बनाइएन, बरु राममन्दिरको गर्भगृहमा राखियो । नेपालको कालीगण्डकीबाट शिला लैजानेदेखि आजको प्राण प्रतिष्ठासम्मका सबै गतिविधिमा नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको सक्रियतालाई धेरैले चर्चाको विषय ठानेका छन् । भारतमा हुने ठूला परिवर्तन र घटनाका बाछिटा नेपालमा सदियौँदेखि पर्दै आएका छन् । यसलाई नेपालमा स्वाभाविकै मानिन्छ । त्यसैले आज अयोध्यामा भएको रामको प्राणप्रतिष्ठाले नेपालका सनातनी हिन्दुहरूको मनोबल केही खस्केको र उग्र हिन्दुवादीको दबाब र प्रभाव बढेको देखिन्छ । यसको राजनीतिक लाभ लिन नेपालका राजनीतिक दलका नेताहरू त तँछाडमछाड गरिरहेकै छन्, नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्छ भन्ने राजावादीहरू त अति नै उत्साहित छन् । अयोध्यामा बनेको राममन्दिर र प्राणप्रतिष्ठाले नेपालमा के प्रभाव पार्छ, अहिले नै भन्न सकिन्न । किनकि ‘दिल्लीमा पानी पर्दा काठमाण्डौमा छाता ओढ्ने’ कथन बन्न र नेपालमा लोकप्रिय हुन पनि दशकौँ लागेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।