मानसिक समस्यामा परेका मङ्गलबाबु २० वर्षदेखि आफ्नै घरभित्र ‘बन्धक’

 माघ १५, २०८० सोमबार १०:५४:१३ | किरण लोहनी
unn.prixa.net

भनिन्छ मानसिक समस्याको उपचार कि बोलीमार्फत् कि चाहिँ गोलीमार्फत् गरिन्छ । बोली अर्थात् मनोपरामर्श र गोली अर्थात् औषधिको गोली । परामर्श र चिकित्सकीय उपचारबाट धेरै मानसिक समस्याको निदान गर्न सकिने विज्ञहरु बताउँछन् । तर उपचारको अभावमा गोरखा नगरपालिका-५ नाङ्लेपानीका ४२ वर्षका मङ्गलबाबु सिर्मल भने झण्डै २० वर्षदेखि बन्धक जीवन बिताइरहनु भएको छ, त्यो पनि आफ्नै घरभित्र ।

दुई छोरामध्ये जेठो मङ्गललाई कहिलेदेखि मानसिक समस्या देखिन थाल्यो भन्ने आमा ७३ वर्षकी फिस्टी सिर्मललाई यकिन छैन । तर उपचारमै देशका विभिन्न अस्पताल धाउन थालेको मात्रै २० वर्षभन्दा बढी समय भैसकेको उहाँको भनाइ छ । ‘राजा खसेको साल ६ महिना उपचार गरेको हो, त्यसपछि केही महिना त ठीकैथ्यो पछि फेरि उस्तै भयो’ आमा फिस्टीले भन्नुभयो, ‘पहिले पहिले त खुल्लै राखेका थियौँ तर छरछिमेकमा गएर उपद्रो गरिदिन थाल्यो अनि यसरी राख्न थालेको ।’ 

बाहिर हिँडडुल गर्न नदिनका लागि मङ्गललाई थुनेर राखिएको कोठाको काठे ढोका बाहिर रेलिङसहितको अर्को फलामे ढोका जडान गरिएको छ । कोठाभित्रै एउटा खाल्डो परेको भागमा गरिएको शौचलाई बाहिर निकाल्न पाइप जडान गरिएको छ । झ्यालमा पनि तारजाली लगाइएको छ । फलामे तारबार सहितको कोठाभित्रबाट आक्कलझुक्कल बाहिर निस्कन पाउने मङ्गल आमाले भनेको मान्नुहुन्छ, त्यसैले आमा फिस्टीको रेखदेखमा मात्रै बेलाबखत बाहिर निस्कन पाउनुहुन्छ । तारबारसहितको कोठाभित्रै बसिरहेका बेला मङ्गल निरन्तर अङ्ग्रेजी बोलिरहनुहुन्छ । रेलिङको सानो प्वालबाट खानेकुरा र पानी भित्र छिराउने गरिएको छ ।

छरछिमेक र आफन्तहरुका अनुसार विद्यालय तहमा मङ्गल पढाइमा तेज हुनुहुुन्थ्यो । सदरमुकामको शक्ति माध्यमिक विद्यालय पाटेचौरबाट २०५६ सालमा तेस्रो श्रेणीमा प्रवेशीका परीक्षा उत्तीर्ण गरेपछि उहाँले दुईवर्षसम्म गोरखा क्याम्पसमा अध्ययन गर्नुभयो । त्यहीबीचमा २०५८ सालतिरबाट मानसिक समस्या देखा परेको उहाँका भाइ इश्वरको भनाइ छ । 

अहिलेसम्म कयौँपटक झारफुकसहित अस्पतालको उपचार गराए पनि उहाँको स्वास्थ्यमा सुधार हुन नसकेको आमा फिस्टी सिर्मल बताउनुहुन्छ ।

‘६ महिनाअघि चाहिँ भरतपुरमा लगेर उपचार गराइयो, ऋण गरेर लगेको डेढ लाख रुपैयाँ सकियो अनि गाडीमा हातखुट्टा डोरीले बाँधेर घर ल्याइयो’ उहाँले भन्नुभयो । बुबा लक्ष्मण सिर्मलको केही वर्ष पहिले दुर्घटनामा परि निधन भयो भने मङ्गलका भाइ ईश्वरले पनि रोगका कारण एउटा आँखाको दृष्टि गुुमाउनुुभयो । अहिले दुई छोराको हेरविचार र लालनपालनको जिम्मा ७३ वर्षकी आमा फिस्टीको काँधमा छ । छरछिमेक र आफन्तले थप उपचार पाए मङ्गलको स्वास्थ्यमा सुधार आउँछ नभनेका होइनन् तर यसअघि नै उहाँको उपचारमा ऋणधन गरेको लाखौँ पैसा खर्च भैसकेकाले फिस्टीलाई थप ऋण खोज्ने आँट छैन ।

‘छोराहरुले पाल्नुपर्ने बेला दुईवटा रोगी छोरालाई पालेर बस्नु परेको छ, कहिलेकाहीँ त मर्न पाए हुन्थ्यो जस्तो पनि लाग्छ’ भक्कानिँदै आमा फिस्टी भन्नुहुन्छ, ‘मै पनि मरेर गएपछि यिनीहरुले के गरे खालान् भन्ने पीरले रातभरि निद्रा लाग्दैन ।’ 

पाटन अस्पताल, अल्का अस्पताल, भरतपुर अस्पतालमा केही पटकको उपचार र औषधि सेवनपछि मङ्गलको स्वास्थ्यमा केही सुधार पनि आएको भाइ ईश्वरले बताउनुभयो । तर पैसाको अभावकै कारण नियमित औषधि खुवाउन र थप उपचार गर्न नसकिएको उहाँको भनाइ छ । ‘बिहान चियासँग दुई चक्की र बेलुका भातसँगै दुई चक्की निद्रा लाग्ने औषधि दिने गरेका छौँ’ उहाँले भन्नुभयो, ‘त्यही औषधि किन्न पनि महिनाको ३ हजार लाग्छ, अहिलेसम्म ऋणधनबाटै जुटाइएको छ अब त त्यही पनि सकिएला जस्तो छैन ।’ 

जिल्ला समन्वय समितिकी उपप्रमुख लीला परियार, गोरखा नगरपालिका १० का पूर्ववडाध्यक्ष देवीबहादुर बस्नेत, गोरखा नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विजयभक्त उपाध्यक्षसहित प्रहरी र पत्रकारको एक समूह गोरखा बजारबाट २० मिनेट मात्रै टाढा रहेको उहाँको घर पुगेको थियो । मानव सेवा आश्रममार्फत मङ्गलको उद्धार र उपचार गर्नेबारे छलफल चलिरहेको उपप्रमुख परियारले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

किरण लोहनी

उज्यालोका गोरखा सम्वाददाता किरण लोहनी गोरखाको च्वाइस एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया