ज्यान जोगिन सक्ने विकल्प हुँदाहुँदै पनि मृत्युवरण गरेकाहरू नै वास्तविक शहीद हुन्

 माघ १६, २०८० मंगलबार १४:५६:५२ | नीलाम्बर आचार्य
unn.prixa.net

देशका निम्ति, भविष्यका निम्ति, सन्ततिका निम्ति, नागरिकका निम्ति शहीदहरूले सङ्घर्ष गरे । यसकारण अहिले हामी शहीद सप्ताह मनाइरहेका छौँ । उनीहरू बाँच्न सक्ने थिए, जोगिन सक्ने थिए, आफ्नो पथबाट हटेको भए जीवन जिउन सक्ने थिए । तर उनीहरू आफ्नो वचनबाट हटेनन् र जीवनको आहुति दिए । केही यस्ता नामहरू हुन्छन् जसले सबैलाई जोड्छन् । अहिले १९९७ सालका शहीदको कुरा हुँदैछ । ती शहीदहरूले पूरा नेपाल र नेपालीलाई जोड्छन् । देशलाई जोड्छन, इतिहास र भविष्यलाई जोड्छन् । र उनीहरूको नाम मात्रले पनि प्रेरणा दिन्छ । त्यसैलाई शहीद भनिन्छ ।

उनीहरूले आफ्नो ज्यान जान्छ भन्ने थाहा हुँदाहुँदै बलिदान मात्र दिएका होइनन्, ‘होइन अब गर्दिन भन् छोड्दिन्छु’ भन्दा पनि होइन हाम्रो यही वचन हो, हामी यसबाट पछि हट्दैनौँ भनेर उनीहरूले मृत्युवरण गरेका हुन् । हाँसीहाँसी मृत्यु रोजेका मात्र होइनन् । माधवराज जोशी शुक्रराजका पिताले मेरो छोराले हाँसीहाँसी मृत्युवरण गरेकोमा मलाई गर्व छ, यस्तो छोरो होस् भनेको बाट त झन गर्व हुन्छ । शुक्रराज, गङ्गालाल, धर्मभक्त र दशरथ अमर शहीद हुन् । यी शहीदहरूले नेपालको राजनीतिलाई नागरिककाे तहसम्म पुर्‍याए । वास्तवमा राजनीति शुरु नै यी शहीदले गरे । किनभने जबसम्म नागरिकलाई राजनीतिको अधिकार हुँदैन त्यो राजनीति रहँदैन । जबसम्म विरोधको अधिकार हुँदैन तबसम्म राजनीति राजनीति हुँदैन । त्यसैले माघ १० देखि १६ गतेसम्म हामी शहीद दिवस मनाउँछाैँ । तत्कालीन राणा सरकारले माघ १० गते शहीदकाे हत्या शुरु गरे र १६ गते अन्तिम दिन हाे ।

मानवीय स्वतन्त्रताका निम्ति, राजनीतिक स्वतन्त्रताका निम्ति, स्वाभिमानका निम्ति जीवन अर्पण गरेका, भविष्यका निम्ति, नागरिकका निम्ति बलिदान गरेको शहीदको सम्झनामा हामी शहीद दिवस मनाउँछौँ । तर त्यसरी मनाउँदा मनाउँदै, त्यसरी जीवन अर्पण गर्नेहरूलाई प्रेरणा दिएको हुन्छ र त्यसबाट प्रेरणा लिएर अरू जो जसले याेगदान दिएका छन्, जसले जीवन अर्पण गरे तिनीहरूप्रति पनि श्रद्धा व्यक्त गर्छाैँ । जीवन अर्पण नगरेर बाँचिराखेर नागरिकका निम्ति योगदान दिँदै आए तिनीहरू पनि श्रद्धेय पात्र हुन् भनेर सम्झना गर्छाैँ । हामीले यस बेलामा सम्झना चार जना शहीदको गरे पनि बाँचेर वा जीवन बलिदान दिएर देशका लागि योगदान पुर्‍याएका सबैलाई सम्झिन्छाैँ । इतिहासप्रति हामी आभारी हुनुपर्छ । तर मूलस्रोतलाई दिने सम्मान भनेको मूलस्रोत नै हुन्छ । त्यसैले चार शहीदको बराबरी अरूले गर्ने भन्ने प्रश्नै आउँदैन । ती अति प्रातः स्मरणीय हुन् । ती मुहान हुन् । उनीहरू नेपालको राजनीतिक इतिहासको मुहान हुन् जसले निकै ठूलो उथलपुथललाई प्रेरित गरिदियो । २००७ साललाई प्रेरित गरिदियो । तत्पश्चात अहिलेसम्म हामी मनाउँदैछौँ । सम्झदैछौँ । अनि तत्पश्चातका नागरिकका निम्ति जीवनदान दिनेलाई । राजनीति भनेको सेवा हो, राजनीति भनेको नागरिकप्रति समर्पित भाव हो, राजनीति नाफानोक्सानको कुरा होइन आदर्शको कुरा हो, आफ्नो स्वर्थसिद्धि होइन विशाल जनसमुदायको हित, राष्ट्र हितलाई हेरेर काम गर्ने हो भन्ने कुरा उनीहरूले बताए ।

शहीद कसलाई भन्ने ?

नागरिकले जसलाई शहीद मान्छन्, नागरिकले जसप्रति सम्मान दिन्छन्, जसकाे रगतबाट सकारात्मक इतिहास निर्माण भएको छ, जनपक्षीय इतिहास निर्माण भएको छ, ती शहीद हुन् । मर्दैमा शहीद हुँदैनन् । अचानक मारिँदैमा शहीद हुँदैनन् । नागरिकका निम्ति, देशका निम्ति आन्दोलनमा जाँदाजाँदै गोली चलेर कोही हताहत हुँदैमा शहीद हुँदैनन् । उनीहरूले वीरगति प्राप्त गर्लान्, हामी शहीद पनि मानौँला तर विकल्प हुँदाहुँदै शहीद भएकालाई शहीद किन भन्नुपर्‍याे ? अचानक गोली लाग्यो, कोही मारियो, त्यसलाई शहीद भन्न अलि मिल्दैन कि जस्तो लाग्छ ।

शहीद दिवसको कुरा गर्दा चार जना शहीदको दिवसको रूपमा शहीद दिवसलाई बुझिन्छ । यो दिवस चार जना शहीदको भएको हुनाले त्यो बाटोमा जो अगाडि बढे, उनीहरूको बाटोलाई जसले अनुकरण गरे तिनीहरूलाई पनि हामीले सम्झनुपर्छ । प्रजातन्त्र प्राप्तिदेखि गणतन्त्र प्राप्तिसम्म भएका शहीदको निम्ति अरू दिनहरू छन् । जस्तो– २००७ सालको क्रान्तिका निम्ति जाे शहीद भए उनीहरूलाई प्रजातन्त्र दिवस मनाउँदा सम्झने हो । त्यस्तै २०४६ सालको आन्दोलनमा जाे शहीद भए उनीहरूलाई जनआन्दोलन दिवस मनाउँदा सम्झने हो । २०६२/६३ सालको आन्दोलनमा शहीद भएकालाई गणतन्त्र दिवस मनाउँदा सम्झने हो । यसकारण प्रत्येकका आ–आफ्ना दिवसहरू छन्, उनीहरूलाई त्यसबेलामा सम्झने हो । तर मुहान भनेका माघ १६ गते नै हो । जहाँबाट मूल फुट्यो, जहाँबाट नागरिककाे इतिहास शुरु भयो, जहाँबाट शहीदको इतिहास शुरु भयो, त्यसकारण त्यो अति विशिष्ट हो, अति महत्त्वपूर्ण हो ।

२००७ सालको क्रान्तिपश्चात २०१५ सालमा चुनाव भयो, पहिलो निर्वाचित सरकार आयो । २०४६ सालमा आन्दोलन भयो, प्रजातन्त्रको पुनर्स्थापना भयो । २०६३ सालमा आन्दोलन भयो, फेरि खोसिएको प्रजातन्त्र पुनर्स्थापित भयो । संविधान सभाको चुनाव भयो । यो सबै घटनाप्रति हामी तपाईँहरूप्रति आभारी छौँ र यी सबै घटना तपाईँहरूप्रति जोडिएको छ भनेर शहीदप्रति आभार प्रकट गर्ने हो । यसबीचमा जो जो जोडिए, ती पनि तपाईँहरूको बाटोको अनुशरण गर्दै शहीद भए भनेर उहाँहरूलाई सम्झिने हो । भनाइको मतलब तपाईँको शहादत खेर गएको छैन, इतिहास अगाडि बढेको छ भन्नलाई पनि यी घटना सम्झिने हो । तर मुख्यतया मूललाई नै सम्झिने हो ।

दिवस मनाएर शहीदको सम्मान गर्न सकिएको छ त ?

शहीदको सम्मान प्रत्येक नेपालीले गर्नुपर्छ । तर करले गर्ने होइन । समय बित्दै जान्छ तर आउने पुस्तालाई पनि हाम्राे इतिहासबारे जानकारी दिन हामी अहिले शहीद दिवस मनाउँछाैँ । र केही दिन यस्ता हुन्छन् जो इतिहासलाई समर्पित हुन्छन् । त्यसदिन त्यो इतिहासबारे चर्चा हुन्छ । त्यसकारण हामीले इतिहास मनाउनुपर्छ । केही दिन विशेष आभार व्यक्त गर्ने दिनहरू हुन्छन् । जस्तो– हामीले हाम्रो घरका पितृहरूको पुण्य तिथि किन मनाउँछौँ भन्दा त्यो दिन विशेष हो । उनीहरूकै सन्तान भएकोले अरू दिन पनि हामीले सम्झिएका त हुन्छाैँ नि । त्यसैले दिवस मनाउनु महत्त्वपूर्ण छ । र इतिहासबारे आउँदो पुस्तालाई पनि जानकारी दिनु जरुरी छ । इतिहास अगाडि बढ्छ, मूल कहाँ हो ? हामीले हाम्रो जरालाई बिर्सनु हुँदैन । यदि रुखको हाँगाबिँगाले रुखको जरा बिर्सियो भने पलाउन सक्दैन । त्यसैले जरालाई आफ्नो सम्झना गराउनका निम्ति यी दिवसहरू आवश्यक पर्न जान्छन् ।

शहीदको सपना कसरी पूरा हुन्छ ?

शहीदहरूले आफ्नो योगदान दिनुभयो । र त्यो योगदानले नेपालमा राजनीतिक स्वतन्त्रता, नागरिक स्वतन्त्रता, मानवीय गरिमाप्रति हाम्रो प्रतिबद्धता देखापर्‍याे । व्यवहारमा कमी कमजोरी भएका होलान् । तर शहीदहरूले आफ्नो उद्देश्य पूरा गर्नुभयो । शहीदको सपना पूरा भएन भन्ने थेगो मात्रै हो । हामीले त्यही ठाउँमा अडिने होइन नि । हामी १९९७ सालमै अडिन्छौँ र ? हामी २००७ सालमा अडिन्छौँ र ? इतिहास अगाडि बढ्छ । सपना त शहीद पछि पनि अरूहरूले पनि देखे । ठूल्ठूला नेताले देखे, क्रान्तिकारीले देखे । जायज सपना त अहिले पनि देखिँदै छन् । सपना सकिँदैन । एउटा सपना सकिन्छ अर्को आउँछ । हामीले शहीदको सपना पूरा भएनन् भन्नुको अर्थ ती शहीदहरूले जे जे सोचेका थिए ती पूरा भएनन् भन्ने होइन ती शहीदहरूले जन्माएपछिको इतिहासमा जन्माएका सपनाहरूलाई पूरा गर्दै जानुपर्छ भन्ने हो । उसोभए हाम्रा सपना विकसित नै भएनन् त ? १९९७ सालमा जे सपना थियो त्यो अहिलेसम्म रहिराखे त ? त्यसो होइन । सपनाको पनि विकास हुन्छ । मूल सपना त्यो बेलामा देखियो । त्यो विकसित र परिष्कृत हुँदै आए र नयाँ–नयाँ सपना देखिँदैछ, त्यसलाई पूरा गरिनुपर्छ भन्ने अर्थमा यसलाई लिनुपर्छ ।

यदि शहीदका सपना पूरा नभएको भए हामीले शहीदप्रति आभार व्यक्त गर्ने ठाउँ नै रहने थिएन । तिम्रो बलिदान खेर गएको छैन भन्ने ठाउँ नै रहने थिएन । त्यही पूरा भएर तिम्रो बलिदान खेर गएको छैन, तिम्रो रगतले गर्दा आज हामीले स्वतन्त्रता उपभोग गरिरहेका छौँ, तिम्रो बलिदानले गर्दा आज चुनाव भइरहेका छन् भन्छाैँ, यसको शुरुवात त त्यहीँबाट भएको हो नि । यदी उनका सपना पूरा नभएको भए आभार प्रकट गर्ने, हामी अगाडि बढेका छौँ भन्ने हुने थिएन । त्यसकारण शहीदका सपना पूरा भएनन् भन्ने विषय ठीक होइन ।

शहीदको नाममा विकृति

गृह मन्त्रालयको तथ्याङ्कमा अहिले झन्डै १२ हजार जना शहीद घोषणा भइसकेका छन् । अझै २६ सय शहीद थप्ने तयारी छ । नेपालमा वास्तविक जन्मदिन एउटा हुन्छ तर प्रमाणपत्रमा अर्को हुन्छ । प्रमाणपत्रको जन्मदिनलाई लिएर हामीले सबै काम गरिरहेका हुन्छौँ । सरकारले घोषणा गरेर राखेका भनेका ती प्रमाणपत्रधारी शहीद हुन् । वास्तविक शहीद भनेको यी चार जना नै हुन् । अरू पनि होलान् तर हजारौँ शहीद हुँदैनन् । जसको नाम, गाउँ अनि के गरे नै थाहा छैन, उनीहरूका बारे कसैलाई थाहा छैन, उनीहरूको बारेमा केही ग्रन्थ तयार भएको छैन, तिनको योगदान के हो भनेर प्रेरणा गर्ने ठाउँ पनि देखिँदैन भने ती कसरी शहीद भए ? ती लिखत, औपचारिक निर्णयका शहीद र वास्तविक शहीदलाई छुट्ट्याउनुपर्छ । त्यसकारण जथाभाबी शहीद घोषणा गर्ने काम गर्नुहुँदैन ।

यस्तो शहीद घोषण गर्नुपर्ने अवस्था आएको होइन यसको गलत प्रयोग गरिएको हो । शहीद घोषणा गरेर अलिकति क्षतिपूर्ति दिउँ थामथुम पारौँ भन्ने प्रवृत्ति रहन गयो । जसले ठूलो योगदान दिएको छ, जसलाई हेर्नुपर्ने छ, घाइते छन्, जसकाे परिवारलाई हेर्नुपर्ने छ हेरिएको छैन । जसलाई जे कुरा भनेर आन्दोलनमा लिएर आएको छ, त्यो कुरा नभएर बाटो बदलिएर अर्कोतिर लागेको छ, त्यो सबैलाई ढाकछोप गर्न तिमीलाई शहीद बनाएका छौँ, तिम्रो योगदानको कदर गर्नलाई भनेर झुठा आश्वासन दिन गरिएको हो । यो गलत प्रवृत्तिबाट उब्जिएको हो । सबै बेठीक भन्ने होइन । कुनै दिवस मनाउन त्यसका बारेमा थाहा हुनुपर्‍याे । ती मान्छे शहीद हुन् भन्नलाई तिनका बारेमा थाहा पनि हुनुपर्‍याे । त्यसैले जथाभाबी शहीद घोषणा गर्ने प्रवृत्तिका विरुद्ध आवाज उठ्नुपर्छ । तर त्यो प्रवृत्ति किन आयो भन्नलाई आफ्नो कमी कमजोरी, आफूले गर्नुपर्ने काम नगरेकालाई ढाकछोप गर्नलाई आयो कि भनेर पनि विश्लेषण गर्नुपर्छ ।

शहीद घोषणा नगरि पनि सम्मान हुन सक्छ

शहीद घोषणा नगरि पनि सम्मान हुन्छ । पहिले त उनीहरूले के का निम्ति ज्यान गुमाए, त्याे कुरालाई अगाडि बढाउनुपर्‍याे । तिनले ज्यान गुमाउँदा परिवार अप्ठेरोमा परेको हुन्छ, तिनको हेरविचार गर्नुपर्‍याे । तिनको सम्झना गर्ने गर्नुपर्‍याे । यदि राम्रो छ, गरेको छ, प्रेरणादायी छ भने तिनको जीवनी पनि निकाल्नुपर्‍याे । तर जसले शहीद घोषणा गरेको हो उसले पनि थाहा पाउँदैन भने त्यो भएन । शहीद घोषणा गर्‍याे तर मान्छे जिउँदै छ भन्ने कुरा पनि सुनिएका छन् । यो त बेवास्ताको पराकाष्ठा हो ।

हरेक आन्दोलनमा, हरेक घटनामा शहीद भएका हुन्छन् ती घटनाको इतिहास सम्झँदा तिनलाई पनि सम्झनुपर्छ । राम्रो घटनामा योगदान दिए, राम्रो कामको योगदान दिए भने हामीले त्यसबेला सम्झन्छौँ । सुखानी अनि पिसकोरमा जेल सार्दा मारिए जस्तै तिनलाई शहीद भनौँ/नभनौँ तर तिनलाई पनि सम्झन्छौँ । गोलमालमा हुलहालमा सबैलाई शहीद घाेषणा गर्दा सबैप्रति ध्यान पनि हुँदैन, जानकारी पनि हुँदैन अनि सबैको सम्मान पनि हुँदैन ।

सोलोडोलो सबैलाई शहीद घोषणा गर्नु भनेको हामी जिम्मेवारीबाट पन्छिनु हाे । जसबेला जसकाे गर्नुपर्ने हो त्यसबेला त्यसको गर्नु राम्रो हुन्छ । एउटा दिवस हामी मनाउन सक्छौँ, इतिहासप्रति आभार व्यक्त गर्ने दिवस । इतिहासमा धेरैले बलिदान दिएका छन् भनेर त्यस्तो एउटा शोक दिवस मनाउन सकिन्छ । निर्दोष घरमा बसिरहेका, आफ्नो गुजारा गरिरहेका जसलाई न राजनीतिसँग मतलब थियो, न बेमतलब नै । नेपाल बाँचोस् हामीले राम्रोसँग गुजारा गर्न सकौँ, सन्ततिलाई हुर्काउन सकौँ भनेर जसले किसानी, मजदुरी, प्राध्यापन गरिराखेका थिए उनीहरू पनि मारिए । उनीहरूप्रति आभार प्रकट गर्नसक्छौँ । ती सबै निर्दोषहरूलाई हामीले एकमुष्ट सम्झन सक्छौँ । ती निर्दोषहरूको सालिक बनाउनुपर्छ कि दिवस मनाउनुपर्छ, हामीले गर्न सक्छौँ । तिनलाई शहीद भने पनि नभने पनि तिनको अनाहकमा ज्यान गयो । यस्तो फेरि नहोस् भनेर पनि इतिहास सम्झिने हो भने तिनलाई सम्झनुपर्‍याे ।

शहीद नागरिकले मान्ने हो

शहीद नागरिकले मान्छन् । कुनै शासकले टीका लगाइदिएर शहीद हुने होइन । चार जना अमर शहीद छन्, ती नागरिकले मानेका शहीद हुन् । तिमीलाई शहीद बनाइदिएँ भनेर टीका लगाउने अनि एउटा राजनीतिक पार्टीकाले शहीद घोषणा गरे भनेर हाम्रा पार्टीको पनि आन्दोलन भएको थिए त्यसबेला मारिएकालाई पनि शहीद घोषणा किन नगर्ने भन्ने प्रवृत्ति छ । यो प्रक्रिया बन्द गर्नुपर्छ । 
शहीद हुनलाई नागरिकले, इतिहासले, इतिहासकारले मानेको हुनुपर्‍याे । इतिहास पल्टाउँदा नाम देखिने हुनुपर्‍याे । नेपालको इतिहास पढ्दा १२ हजारको नाम भेटिन्छ त ? १० वर्षे हिंसामा यतिको ज्यान गयो भनेर इतिहास पढिन्छ । उनीहरूको सम्झना भनेको नै त्यही हो । तिनलाई शहीद भनिरहनु परेन । तर त्यस्तो नहोस् भनेर सम्झनुपर्‍याे । जति हिंसा भयो त्यस्तो नहोस् र जसले गरे तिनले पश्चाताप गरून् भनेर सम्झनुपर्‍याे ।

१० लाख दिने प्रवृत्ति गलत छ

शहीद परिवार कसैलाई ५० लाख दिनुपर्ला, कसैलाई एक करोड दिनुपर्ला, कसैलाई कत्ति पनि दिनु नपर्ला । त्यसकारण परिवार हेरेर कस्तो परिवार हो, कति धान्न सक्छ भनेर परिवारलाई हेर्ने हो नि त । शहीदको परिवारले गल्लीमा मागेर हिँड्नु नपरोस् र शहीदप्रति सम्मान होस् भन्न खोजेको हो त्यो रकम भनेको । जो सम्पन्न छ, अर्बपति छ, उसको परिवारलाई दश लाख के काम ? मुख्य कुरा भनेको शहीदको परिवारप्रति सम्मान होस् भन्ने हो । जसले सार्वजनिक हितका निम्ति ज्यान गुमायो, त्यो परिवारले आफ्नो परिवारको सदस्य गुमेर, आर्जन गर्ने व्यक्ति गुमेर दुःख पाउनु नपरोस् भनेर राज्यले, नागरिकले हेरिदिनुपर्‍याे भन्ने मुख्य कुरा हो । अर्थात् सार्वजनिक हितका निम्ति जीवन अर्पण गरेकाहरूको परिवारले त्यसबापत अपमान, दुःख, अभाव भोग्नु नपरोस् भन्ने हो । सरकारले त्यस्तो परिवारको वास्ता गर्छ भन्न सन्देश जानुपर्छ । यो १० लाख बाँड्ने काम बन्द गर्नुपर्छ तर त्यसरी हताहत भएका परिवारलाई आवश्यकताअनुसार हेर्नुपर्छ ।

इतिहास सम्झँदा ती चार शहीदप्रति त्यसबेलाको सरकारले गर्न सकेन । उहाँहरूको परिवारलाई सहयोग गर्नुपर्ने हो, गर्नुपर्छ तर गर्न सकेन । उहाँको परिवारलाई मात्र होइन उहाँहरूलाई पनि गर्न सकेन । उहाँ जन्मनुभएको घरमा यहाँ दशरथ चन्द जन्मनुभएको थियो, यहाँ गङ्गालाल बस्नुभएको थियो, यो घरमा यस्तो बैठक बसेको थियो भनेर हामीले केही सम्झनाका चिह्न राखेनौँ । सम्मान गर्ने भनेको धेरै प्रक्रियाबाट हुन्छ । उहाँहरूका जीवनमा यो यो बाटो यसरी हिँड्नुभयो अर्थात् दशरथ चन्द तराईको यो यो बाटो भएर आउनुभयो भनेर हामीले सम्झेका छैनौँ । त्यो स्मृतिलाई हामीले कसरी जोगाउँछौँ र त्यसबाट भावी सन्ततिले प्रेरणा लिइराखून् भन्ने कुरा मुख्य हाे । त्यसकारण हामीले यी चार शहीदप्रति पनि गर्नुपर्ने सबै काम गरिसक्यौँ भन्ने छैन ।

जिउँदो शहीद मुकेश कायस्थलाई चिकित्सकीय तथा अरू सहयोग पनि सरकारले गर्‍याे । उहाँलाई १० लाखले भ्याउने थिएन । सार्वजनिक काम गर्दा भएको क्षतिमा तत्पश्चात सरकारले पीडा थप्ने काम गर्नुभएन । सरकारले आवश्यकताअनुसार हेरविचार गरोस् भन्ने सिद्धान्त अपनाउनुपर्‍याे ।

अहिले शहीद घोषणा गर्ने प्रवृत्ति भनेकाे हामी जिम्मेवारीबाट मुक्त हुनका लागि मात्र गरिरहेका छौँ । ती शहीद परिवारको आवश्यकता के छ, खाँचो के छ, कस्तो परिवार हो, छोराछोरी कति छन्, बुढा बाबुआमा छन् कि भनेर आवश्यकताअनुसार सहयोग गर्ने हो । तर यो सबै हेर्न झन्झट हुन्छ भनेर शहीद घोषणा गर्ने अनि १० लाख दिने प्रवृत्ति बढेको छ । यो भनेको जिम्मेवारी वहन गर्न अस्वीकार गरेको जस्तो भयो । शहीद भन्ने हो भने उसको बारे खोजीनीति गर्नुपर्‍याे, उसको परिवारबारे खोजीनीति गर्नुपर्‍याे । परिवारलाई हेर्नुपर्‍याे, जन्मेको ठाउँलाई हेर्नुपर्‍याे । सकिन्छ भने ऊ जन्मेको घरलाई सुरक्षित राख्नुपर्‍याे ।

शहीदप्रति न्याय गर्न पहिले १० लाखको घोषणा बन्द गर्नुपर्छ । इतिहास लेखन प्रक्रिया इतिहासकारलाई जिम्मा दिनुपर्छ । अनुसन्धान, सोध, खोजलाई प्रेरित गर्नुपर्छ । सार्वजनिक हितका निम्ति शहादत गरेका परिवारलाई के कति हेरविचार गर्नुपर्छ भनेर साेच्नुपर्छ । १० लाख दिएर शहीद घोषणा गर्ने हलुकापन बन्द गर्नुपर्छ । 

(वरिष्ठ राजनीतिज्ञ नीलाम्बर आचार्यसँगको कुराकानीमा आधारित)

अन्तिम अपडेट: असार ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नीलाम्बर आचार्य

आचार्य वरिष्ठ राजनीतिज्ञ हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया