राजा आऊ, देशलाई उत्तानो बनाऊ !

 माघ २१, २०८० आइतबार १३:३७:४४ | मिलन तिमिल्सिना
unn.prixa.net

राजा आउलान् र देश बचाउलान् भनेर पर्खँदापर्खंदै सबैका आँखा थाकिसके । राजतन्त्र फर्काउँछौँ भनेर थरीथरीका रुपरंग देखाएर उफ्रनेहरू गलिसके । तर राजा यता फर्कनुको सट्टा कहिले उता फर्केर भाषण गर्छन्, कहिले भुइँतिर फर्केर विज्ञप्ति कोर्छन् । राजाले मुन्टो हल्लाउन र खुट्टो फर्काउन छाडेपछि देश बर्बाद भैसक्यो । तर राजा बेलाबेला गाउँघर घुमेर आफ्नो खस्किएको शक्ति मात्रै नाप्छन् । त्यसो त राजा वादीहरूसँग कानेखुशी पनि गर्छन् । पहिले चौतारी र दोबाटोमा भेटिने राजा अचेल कहिले डिस्कोमा भेटिन्छन्, कहिले अभिनन्दनमा मस्किन्छन् । तर जहाँ गए पनि र जसलाई भेटे पनि किन हो कुन्नि राजा नारायणहिटीतिर आँखा लाउँदैनन् ।

नारायणहिटी फर्केर राजाले शक्ति हातमा लिए भने देशमा के के चमत्कार भैसक्थ्यो भन्ने त अस्ति भर्खर २०६१ सालको माघ १९ लाई सम्झने बेला नै थाहा भैसकेको छ ।

सबैभन्दा पहिले त राजा जाग्नेबित्तिकै मोबाइल, टेलिफोन र फेसबुक लगायतका सामाजिक सञ्जाल भाग्छन् । मोबाइल र फेसबुक चल्दैनन् । अहिले टिकटक मात्रै नचल्दा त कति आनन्द भएको छ भने मोबाइल र फेसबुक नै बन्द भएपछि झन् के होला ? जसले जहाँ जुनसुकै बेला पनि मोबाइल र फेसबुक चलाउने गर्दा मान्छे बिग्रिसके । भान्सामा तरकारी डढाउने पनि त्यही मोबाइल । श्रीमान्–श्रीमतीको झगडा गराउने पनि त्यही मोबाइल । हुने–नहुने, चाहिने–नचाहिने कुरा देखाउने पनि त्यही मोबाइल र फेसबुक । जथाभाबी मोबाइल र फेसबुक चलाउँदा विद्यार्थीको पढाइ बिग्रियो । जागिरेको काम बिग्रियो । पढाइमा भन्दा मोबाइलमा बढी ध्यान । काममा भन्दा फेसबुकमा बढी ट्याम । देश अघि बढ्न नसक्नुको मुख्य कारण मोबाइल र फेसबुक हो । मोबाइल र फेसबुक बन्द हुनेबित्तिकै विद्यार्थीले किताबमा मात्रै ध्यान दिन्छन् । जागिरेले काममा मात्रै समय दिन्छन् । भान्सेको आँखा मोबाइलको सट्टा चुल्हो र भाँडामा मात्रै हुन्छ । गाडी चलाउने र बाटो हिँड्नेको ध्यान सडक र पेटीमा मात्रै हुन्छ । कसैले फेसबुक ह्याक गर्‍याे, फेसबुकमा जथाभाबी लेख्यो भनेर टाउको दुखाउनु पनि पर्दैन । मोबाइल र फेसबुक चलाउने सबैको ध्यान देश विकासमा हुन्छ । देशले फड्को मार्छ । नचाहिने कुरा हेर्ने बानी भएका मान्छेहरू चाहिने काममा लाग्छन् । नहुनु पर्ने केही भयो कि भन्ने चिन्ता सकिन्छ । जहाँ जेसुकै होओस्, आफ्नै ठाउँको कुरामा मात्रै सबैको चित्त बस्छ ।

राजा फर्किँदा सबैभन्दा बढी फाइदा दल र नेताहरूलाई हुन्छ । अहिले भएभरका दल र नेताहरूलाई कसरी नागरिक रिझाउने भन्ने चिन्ता छ । कोही गाउँ पसेका छन्, कोही शहर बसेका छन् । अर्कोभन्दा आफू कसरी ठाउँमा पुग्ने भन्ने चिन्ता छ । होडबाजी र दौडधूप छ । कोही वडाका राजा, कोही गाउँ र नगरका राजा । टोल र बस्तीपिच्छे राजा र महाराजा । साँच्चैका राजा सत्तामा फर्कनेबित्तिकै नयाँ राजाहरू घर फर्कन्छन् । दलहरू विज्ञप्तिमा फर्कन्छन् । गाउँगाउँमा पुगेको सिंहदरबार नारायणहिटीमै मिसिन्छ । नेताहरूलाई घरबाहिर निस्कनै पर्दैन । अहिलेजस्तो को पहिला गाउँ पुग्ने, अर्कोभन्दा आफू कसरी फरक भएर नागरिकको मन जित्ने भन्ने चिन्ता नै हुँदैन । चुनावमा टिकट पाइएला कि नपाइएला, पाइयो भने जितिएला कि नजितिएला, जितियो भने मन्त्री पाइएला कि नपाइएला भन्ने छटपटी हुँदैन । सबै काम राजा र उनका मान्छेले गर्छन् । आफू घरमै बसिरहन पाइन्छ । वर्षाैँसम्म घरमै बसेर खान पुग्ने सम्पत्ति पहिल्यै जोडिसकेको हुनाले के खाने भन्ने चिन्ता पनि छैन । बेलाबेला विज्ञप्ति निकाल्यो, आरामसँग बस्यो, आनन्दको जिन्दगी बिताउन पाइन्छ ।

देशमा राजाको हालीमुहाली हुनेबित्तिकै गैँडा तस्करी पनि घट्छ । पहिले राजाले गर्ने काम अहिले तस्करले गर्दा नै जथाभाबी गैँडा मार्ने र खाग बेच्ने घटना बढेका हुन् । खाल्डोमा मारिएको गैँडाको अनुसन्धान गर्न र तस्कर खोजेर कारबाही गर्न समस्या भैरहेको छ । देशमा कत्राकत्रा काम गर्नुपर्ने संरक्षणकर्मी, अनुसन्धानकर्मी र अरू कर्मचारीको समय मारिएको गैँडाकै पछि लागेर बितिरहेको छ । गैँडालाई जिउँदै विदेशतिर बेच्न पाइयो भने अहिले मरेको गैँडाको पछि लाग्ने सकस हट्छ । जुन काम राजाले मात्रै गर्न सक्छन् भन्ने कुरा जगजाहेर नै छ । राजा आउँदा देशमा समस्या बल्झाउने गैँडा विदेश पुग्छन् । सँगसँगै नेपालमा भएका देवीदेवताका मूर्तिहरू पनि विदेशीले देख्न र ढोग्न पाउँछन् । देशभित्रका मूर्तिलाई विदेशसम्म पुर्‍याएर सबैलाई दर्शन गराउन सक्ने मामिला पनि राजा पोख्त छन् । पहिले बेचिएका मूर्तिहरू अहिले धमाधम फर्किन थाल्दा नेपाली देवीदेवता देशभित्रै मात्र सीमित हुने हुन् कि भन्ने डर छ । देशभित्र रहेका धेरैभन्दा धेरै मूर्तिलाई विदेशसम्म पुर्‍याउनका लागि पनि राजा फर्कनैपर्छ ।

पूर्वराजा फर्कँदा देशमा बलात्कार, भ्रष्टाचार र बेथिति बढ्यो भनेर निराश भएका मान्छेलाई पनि राहत पुग्छ । किनकि राजा र उनका मान्छेबाट हुने यस्ता कुकाम कसैले सुन्नै पर्दैन । यस्ता कुरा सबैलाई सुनाउने रेडियो, टेलिभिजन, अखबार र अनलाइन नै हुँदैनन् । कुकामका कुरा गर्ने कोही नभएपछि देश भ्रष्टाचारमुक्त हुन्छ । चुनाव कसले जित्छ, प्रधानमन्त्री र मन्त्री को हुन्छन् भन्ने अनावश्यक चिन्ता, चासो र सरोकारमा पनि मान्छे अल्झनु पर्दैन । राजाकै छोरा राजा हुन्छन्, राजाकै मान्छे प्रधानमन्त्री र मन्त्री हुन्छन् । उनैले शासन गर्छन् । अरू चुप लाग्छन् र आफ्नो काम गर्छन् । अनि पो देशले कोल्टे फेर्छ । र कोल्टे परेपछि मात्र देश क्रमशः उत्तानो परेर मस्तले निदाउँछ ।

अन्तिम अपडेट: फागुन ९, २०८०

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया