'एमसीसी' अन्तर्गत बन्ने २ सय ९७ किलोमिटर लामो प्रसारण लाइन नि...
मंसिर १२, २०८१ बुधबार
काठमाण्डाै – सूचना प्रविधिले निकै छिटो फड्को मारिरहेको छ । अरू क्षेत्रमा जस्तै दूरसञ्चारको क्षेत्रमा पनि छिटो छिटो विकास भइरहेको छ । एउटा टेलिफोन बुथमा घण्टाैँसम्म बसेर केही सेकेन्ड मात्रै कुरा गर्न पाउने अवस्थाबाट अहिले एक सेकेन्डमै भिडियो कलमा सम्पर्क हुने अवस्था आइसकेको छ । नेपालमा पनि टेलिफोन सेवा शुरु भएको एक शताब्दीभन्दा धेरै समय पुगिकसेको छ । योबीचमा टेलिफोन अब बाध्यता नभई रहर हुन थालेको छ, बरु इन्टरनेटले फड्को मारेको छ, इन्टरनेट त नभई नहुने आवश्यकता बनेको छ ।
देशकै एकमात्र सरकारी र सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायकले सोमवार २० औँ वार्षिकोत्सव मनायो, टेलिकमले बल्ल २० औँ वार्षिकोत्सव मनाएको खबर सुन्दा तपाईँलाई नेपालमा दूरसञ्चारको इतिहास खासै लामो छैन भन्ने लागे होला । तर त्यसो होइन, नेपालमा टेलिफोन सेवा शुरु भएको १ सय १० वर्ष भइसकेको छ । नेपालमा टेलिफोन, आकाशवाणीजस्ता सेवाको व्यवस्थापन र सञ्चालनका लागि सरकाले बनाएको निकाय विभिन्न नाम र जिम्मेवारी परिवर्तन हुँदा हुँदै अहिले नेपाल टेलिकमको नामबाट सेवा दिइरहेको छ ।
नेपालमा टेलिफोन सेवाको शुरुवात १९७० सालदेखि शुरु भएको मानिन्छ तर केहीले १९७३ साल भनेर पनि दाबी गरेका छन् । १९६८ सालमा फर्पिङमा जलविद्युत् आयोजना सञ्चालनमा आएपछि काठमाण्डौमा टेलिफोन ल्याउन थालियो, दुई वर्षपछि वीरगञ्जबाट काठमाण्डौसम्म नाङ्गो तार टाँगेर टेलिफोन लाइन विस्तार भयो । गोरखापत्रमा प्रकाशित समाचारअनुसार वीरगञ्जबाट काठमाण्डौको टुँडिखेलसम्म १ सय १५ किलोमिटर लामो नाङ्गो तार टाँगिएको थियो ।
त्यतिखेर चन्द्रशम्शेरकाे शासन थियो, राणा शासकमध्येका उदार र विदेशी शिक्षा लिएकाे हुनाले उनले १९७४ जेठ १ गते सर्वसाधारणका लागि टेलिफोन सेवा खुला गरिदिए । दूरसञ्चारको क्षेत्रमा नेपाल एक खुट्किलो माथि उक्लियो । १९९१ सालमा टेलिफोन हेड अफिस कार्यालयको स्थापना भएपछि दूरसञ्चार सेवा निजी प्रयोगमा समेत उपलब्ध हुन थालेको पाइन्छ ।
२००५ सालमा मोहन आकाशवाणीको नामबाट आकाशवाणी सेवा शुरु भयो । २०१६ सालमा आकाशवाणी हेड अफिस र टेलिफोन हेड अफिस कार्यालयलाई एकै ठाउँमा गाभेर निर्माण यातायात र सञ्चार मन्त्रालयअन्तर्गत ’दूरसञ्चार विभाग’ को स्थापना भएको थियो । यो विभाग २०२६ साल कात्तिक १ गते दूरसञ्चार समितिमा परिणत गरियो, २०३२ साल असार १ गते नेपाल दूरसञ्चार संस्थानमा परिणत गरिएको थियो । २०६० माघ २२ गते नेपाल दूरसञ्चार कम्पनी लिमिटेड स्थापना भयो ।
२०१२ सालमा सर्वसाधारणलाई टेलिफोन सेवा वितरण भयो, २०४० सालमा पहिलो पटक डिजिटल टेलिफोन एक्सचेन्जको स्थापना भयो, २०४४ सालमा अन्तर्राष्ट्रिय ट्रङ्क सेवा (आईएसडी) को शुरुवात भयो ।
२०५० सालमा मर्कन्टायल कम्यूनिकेसन प्रालीले नेपालमा इन्टरनेट भित्र्यायो । तर २०५५ सालमा मात्र दूरसञ्चार प्राधिकरणबाट पहिलो पटक निजी क्षेत्रको सेवा प्रदायकलाई इन्टरनेट तथा इमेल सेवा सञ्चालनको अनुमतिपत्र जारी भयो ।
२०५६ सालमा नेपालको दूरसञ्चार क्षेत्रमा ठूलो क्रान्ति आयो, नेपालमा मोबाइल फोन सेवाको शुरुवात भयो । त्यसको एक वर्षपछि झनै ठूलो उपलब्धिका रूपमा २०५७ सालमा टेलिकमको इन्टरनेट सेवाको शुरु भयो । त्यसै वर्ष जीएसएम प्रिपेड सेवा थालनी भयो । २०५९ सालमा भ्वाइस सेवाका लागि निजी क्षेत्रलाई अनुमति प्रदान भयो ।
२०६२ सालदेखि ईभीडीओ डेटा इन्टरनेट शुरु भयो । २०६४ सालमा दक्षिण एसियाली देशमै नेपालमा पहिलो पटक मोबाइल थ्री जी सेवाको शुरुवात भयो । २०७४ सालमा मोबाइलमा फोर जी सेवा शुरु भयो, गएको वर्ष नेपालमा फाइभ जी परीक्षण पनि शुरु भएको छ ।
एक कल फोनका लागि दुई/चार दिन हिँडेर दुई/चार घण्टा लाइन बस्नेहरू अहिले एकै सेकेन्डमा संसारका जुनसुकै ठाउँमा भएका आफन्त र साथीभाइसँग मजाले भिडियो कुराकानी गर्न सक्षम भएका छन् । अहिले गाउँघरमा भारी बोकेर हिँड्दै गर्दा पनि भिडियो कुराकानी गरिरहेका दृश्य बडो रमाइला देखिन्छन् । एउटै पुस्ताका व्यक्तिले टाढाको खबर थाहा पाउन महिनौँसम्म चिठीको पर्खाइमा बस्ने भोगाइदेखि अहिले रातदिन मोबाइलमै झुन्डिनेसम्मकाे अनुभव गर्न पाएका छन् । तीन वर्षअघि नेपालमा कोभिडको महामारी थियो, त्यो बेला लगभग सबैजसो काम इन्टरनेटको माध्यमबाटै भए, स्कुले नानीबाबुले पनि घरमै बसेर पढे । अहिले बिल भुक्तानी, सरकारी सेवाका शुल्क तिर्नेदेखि स–साना किनमेलमै पनि इन्टरनेटकै प्रयोग भइरहेको छ, अझ मोबाइल इन्टरनेट झनै आवश्यक र लोकप्रिय छ ।
ग्राहक भ्वाइस सेवाबाट इन्टरनेटतर्फ ओइरिन थालेपछि दूरसञ्चार सेवा कम्पनीहरू इन्टरनेट सेवातर्फ गइरहेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार अहिलेसम्म सबै कम्पनीका भ्वाइस सेवातर्फका कुल ग्राहक तीन करोड ४७ लाख ३१ हजार रहेकामा दुई करोड ५२ लाख २२ हजार जना सक्रिय प्रयोगकर्ता छन् । तर इन्टरनेटका ग्राहकको सङ्ख्या चार करोड १६ लाख पुगेका छन् । यीमध्ये झन्डै तीन करोड त मोबाइल डेटाका ग्राहक छन् । यसमा सक्रिय प्रयोगकर्ताको सङ्ख्या भने केही कम छ । तर तथ्याङ्कले नै भन्छ, भ्वाइसका भन्दा इन्टरनेटका ग्राहक धेरै छन् ।
इन्टरनेटका ग्राहक बढ्दै जान थालेपछि टेलिकम कम्पनीहरू पनि भ्वाइसको साटो इन्टरनेट सेवातर्फ केन्द्रित भएको बताउनुहुन्छ त्रिभुवन विश्वविद्यालयका सह–प्राध्यापक डाक्टर कुन्दन अर्याल ।
‘ग्राहकले जमानाअनुसारको प्रविधि प्रयोग गर्छन्, सस्तो र छिटो सेवा रोज्छन् । अहिले भ्वाइस भन्दा इन्टरनेटमार्फत हुने कल, म्यासेज र भिडियो कल नै लोकप्रिय बनेको छ । त्यसैले टेलिकम कम्पनीहरूले पनि भ्वाइस सेवाको तुलनामा इन्टरनेट सेवामा लगानी र प्राथमिकता बढाएको पाइन्छ जुन स्वाभाविक हो’, अर्यालले भन्नुभयो ।
विभिन्न सेवाका लागि मोबाइल नम्बर अनिवार्य र त्यही मोबाइल नम्बरमै वन टाइम पासवर्ड अर्थात् ओटीपी आउने हुँदा भ्वाइस सेवाका ग्राहक स्वात्तै घटेको देखिन्न र घट्दैनन् पनि । तर भ्वाइस सेवा बिस्तारै विस्थापित र इन्टरनेटमार्फत हुने भ्वाइस कल र अन्य सेवा लोकप्रिय भइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।