हिउँदे वर्षा नभएपछि अब कृषि क्षेत्रमा पर्ने असर कसरी कम गर्ने ?

 फागुन ४, २०८० शुक्रबार १०:३६:३ | मदन पौड्याल
unn.prixa.net

मौसमविद्ले गएको मंसिर तेस्रो हप्तातिर गरेको पूर्वानुमान अनुसार यो हिउँदमा औषतभन्दा धेरै पानी पर्छ भन्ने थियो, तर त्यो पूर्वानुमान मिलेन । जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान हिउँद अवधिभरको थियो । अनि हिउँदयाम सकिन अब दुई हप्ता पनि बाँकी छैन । मंसिर १५ देखि फागुन १७ गतेसम्मको अवधिलाई हिउँदयाम मानिन्छ । तर छिटपुटबाहेक यसपालिको हिउँदमा हिउँदे वर्षा तथा हिमपात भएन । यसबाट कृषि क्षेत्र निक्कै प्रभावित भएको छ । 

छोटो अवधिको पूर्वानुमान र कृषि मौसम बुलेटिन प्रभावकारी

अहिले पनि जल तथा मौसम पूर्वानुमान महाशाखाले तीन दिनको पूर्वानुमान गर्दै आएको छ । लामो अवधिको पूर्वानुमान ठ्याक्कै नमिले पनि छोटो अवधिको अनुमान भने धेरै प्रभावकारी रहेको मौसमविद्ले बताउँदै आएका छन् ।

यस्तै, पूर्वानुमान र किसानलाई सल्लाह/सुझावसहित नेपाल कृषि अनुसन्धान परिषद् नार्कले साप्ताहिकरुपमा कृषि मौसम सल्लाह बुलेटिन निकाल्छ । कहिलेकाहीँ बुलेटिनले समेटेको मौसमी पूर्वानुमान ठ्याक्कै नमिले पनि खेतीकर्मका अरु विधि/पद्धतिअनुसार किसानले आवश्यक तयारी गरे त्यति धेरै क्षति भोग्नुपर्दैन भन्नुहुन्छ, नार्कको राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रामेश्वर रिमाल । उहाँका अनुसार बुलेटिनअनुसार किसानले सजगता अपनाउन सकेमा अन्नबालीमा हुने क्षति पक्कै कम हुन्छ ।

हिउँदे वर्षा र हिमपात नहुँदा किसानलाई चिन्ता

तर यसपालि किसानलाई मुख्य चिन्ता हिउँदे वर्षा नहुँदा भोग्नुपरेको समस्यामा छ । हिउँद सुक्खा हुँदा पक्कै पनि अब अन्नबालीको उत्पादनमा कमी हुने निश्चित छ । जहाँ सिँचाइको सुविधा छ, त्यहाँ त्यसै अनुसार खेती हुन्छ । किसानलाई त्यतिसाह्रो गाह्रो पनि नहोला । तर सबै ठाउँमा सिँचाइको सुविधा नै छैन ।

सिँचाइ नै नभएको खेतबारीमा गहुँ, मुसुरो, आलुलगायतका हिउँदेबालीलाई आकाशे पानीकै भर हो । गहुँ, जौ, दाल, मुसुरोलगायतको खेती यहीबेला हुन्छ । त्यसकारण यस्ता हिउँदे बालीलाई यो बेला पानी तथा हिमपात नहुँदा असर पुग्छ । जीविकोपार्जन तथा व्यावसायिक खेती गर्नेहरु मारमा पर्छन् । 

कृषिमा तत्कालीनसँगै दीर्घकालीन असर

अहिले देखिएको कृषि क्षेत्रको असरले तत्कालीन मात्रै नभएर दीर्घकालीन नै प्रभाव पार्ने विज्ञहरु बताउँछन् । किसान मात्रै होइन, यसको असर आम उपभोक्ताको भान्सामा पर्छ । उत्पादन नहुँदा मूल्य बढ्नु स्वाभाविक हो । अनि बाहिरबाट हुने खाद्यान्न आयात पनि बढ्छ । हिउँदे वर्षा नहुँदा कृषि क्षेत्रमा परेको तत्कालको असर कम केही उपायहरु अपनाउन सकिन्छ । 

तत्कालका असर न्यूनीकरणका केही उपायहरु

राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रिमालका अनुसार त्यस्ता उपायहरुमा पुरानो बाली लगाएको ठाउँमा भएको चिस्यान नसुक्दै अर्को बाली लगाउन सकिन्छ । अर्को अन्तरबाली खेती, मिश्रित बाली तथा भएको पानीका स्रोतलाई थोरैथोरै आलोपालो गरी व्यवस्थापन गर्न सकिन्छ । तर चिस्यान हुन पनि पानी या हिमपात हुनुपर्छ । जमिन भिज्नुपर्छ । तर यसअघि पुस/माघमा नै पर्नुपर्ने पानी तथा हिउँ नपर्दा देशका धेरैजसो ठाउँमा माटो भिजेकै छैन । जमिन सुक्खा भएपछि चिस्यान पनि पक्कै कम हुन्छ । अब पर्ने पानीले हिउँदेबालीलाई त्यति राहत नपुग्ने कृषि विभागका पूर्वमहानिर्देशक एवं बागवानीका विज्ञ भैरवराज कैनी बताउनुहुन्छ । अनि त्यसै पनि अहिले तत्कालै ठूलो पानी पर्ने सम्भावना छैन । अब पनि पानी पर्छ कि भनेर आकाशतिर हेर्नुबाहेक किसानलाई अर्को भरपर्दो विकल्प पनि छैन । 

कृषिको दीर्घकालीन असर घटाउने उपायहरु  

मौसमी चक्र यस्तै हुने हो भने दीर्घकालीन रुपमा असर देखिने पक्का छ । कृषि विज्ञकाअनुसार अबका दिनमा किसानले पनि मौसमी चक्र अनुकूलको खेतीपद्धति अपनाउनु पर्छ ।

राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत रिमालका अनुसार अबका दिनमा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिउँ सङ्कलन गर्ने, वर्षातकाे पानीलाई जम्मा गर्ने, थोपा सिँचाइको विधि अपनाउने, प्लाष्टिक टनेलमा खेती गर्नेलगायतका उपायहरु हुन सक्छन् । यसमा पनि तरकारी बालीमा थोपा सिँचाइको पद्धति भरपर्दो हुन सक्छ ।

कृषि विज्ञले किसानलाई सुक्खा सहन सक्ने बालीका जात लगाउन पनि आग्रह गर्दै आएका छन् । अहिले देखिएको जलवायु परिवर्तनलाई ध्यानमा राखेर अनुकूलनका कार्यक्रम, प्रविधि विस्तार र किसानले पनि यस्तै, खेतिपद्धति अपनाउनुपर्नेमा विज्ञको जोड छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया