सडकका रमाइलोमा कतै तपाईँ रमिते, कतै म !

 फागुन ६, २०८० आइतबार १४:११:१० | मिलन तिमिल्सिना
unn.prixa.net

तपाईँलाई लागेको होला सडकपेटी मान्छे हिँड्ने र सडक गाडी गुड्ने ठाउँ हो ! तपाईँको बुझाइ यही हो भने तपाईँ पूरै भ्रममा हुनुहुन्छ । आफूलाई भ्रमबाट बाहिर निकाल्न एकैछिन सडक र सडकपेटीतिर फर्केर हेर्नुहोस् । जहाँ नेपालीका आफ्नै पारा र मौलिक पन भेटिन्छन् । जसले सडक र सडकपेटीलाई नेपाली माटो र व्यवहार सुहाउँदो बनाउन मद्दत गरिरहेका छन् ।

मान्छे हिँड्नुपर्ने सडकपेटीमा हो तर मान्छेहरू गाडी गुड्ने बीच सडकमै हात र कपाल हल्लाउँदै हिँडिरहेका हुन्छन् । सडकपेटीमा हिँड्न पनि कहाँ सजिलो छ र ! सडक छेउको पसलेले नुनको बोरा र लुगाको पोका सडकपेटीमै चाङ लगाएको हुन्छ । कुरकुरे र लेजको माला, अनि खसी र राँगाको खुट्टा भुइँसम्मै पुग्नेगरी बाहिरै झुन्ड्याइएको हुन्छ । घर बनाउनेले बालुवा, ढुङ्गा र इँटा त्यहीँ असरल्ल छोडेको हुन्छ । बिग्रेको मोटरसाइकल र गाडी बनाउनेले बसेर काम गर्ने ठाउँ पनि त्यही हो । त्यतिले समेत मान्छे हिँड्ने ठाउँ अलिअलि बाँकी रहेको थाहा पाएपछि विद्युत् प्राधिकरणले भूमिगत तार बिच्छ्याएको भन्दै करेन्ट खाँदिएका ठूल्ठूला बाकस त्यही सडकपेटी ढाक्ने गरी राखेको छ । त्यति राख्दा पनि खाली भएको सडकपेटीमा कतै मोटरसाइकल कुदिरहेको हुन्छ, कतै गाडीको आधी भाग सडकतिर र अर्को आधी भाग सडकपेटीतिर हुनेगरी रोकेर राखेको हुन्छ ।

सडकपेटी अर्कैकै भएपछि हिँड्ने मान्छेले बीच सडकमै पाइला चाल्नुपर्‍याे । कहिले गाडीसँग ठोक्किन्छ, कहिले हिँडिरहेको अर्को मान्छेसँग । मान्छेको हुलमा थरीथरीका अनुहार । कोही नाकमुख र पूरै अनुहार नै छोपेर हिँडिरहेको हुन्छ । कोही दायाँबायाँ थुक्दै, खकार्दै र सिँगान फाल्दै । पानी परेको बेला पनि थुक र सिँगानमै चिप्लेर लडिने डर ।

सडक छेउछाउका घरबाट बग्ने फोहोर पानी पनि सडकमै छताछुल्ल । कतै पाइपबाट पानी चुहिएर सडकमै मेलम्ची बगिरहेको छ । कतै ढल र नाला चुहिएर सडक नै भिजिरहेको छ । घरबाट कसिङ्गर बढारेर थुप्रो लाग्ने ठाउँ पनि सडक नै हो । फोहोर र दुर्गन्ध तह लगाउने ठाउँ पनि सडक । पातपतिङ्गर र कागज प्लास्टिक जलाउने ठाउँ पनि सडक । अनि सडकमा धुवाँधुलो नभएर अत्तरको बासना उडोस् त ?

सडक छेउछाउका रुख र बिजुलीका पोल चाहिँ चर्पीको भित्तोजस्ता । हिँड्दाहिँड्दै कट्टुमै चुहिन लागेपछि मान्छे हतारहतार सडकको छेउकुनातिर लाग्छ । पोल र रुख देख्नेबित्तिकै छेल पारेर उभिन्छ । झाडी भेटियो भने यताउता हेरेर टुक्रुक्क त्यहीँ बस्छ । न लाज, न घिन । कट्टुमै खुस्किन लागेको दिसापिसाब सडक छेउछाउमा बिसाउन पाउँदा सन्तोषको श्वास फेर्छ । हतारहतार छोड्दा सुरुवाल र पाइन्टमा छिट्टा परेको चाहिँ थाहा पाउँदैन ।

सडक छेउछाउका कतिपय ठाउँ त गाईवस्तु बाँध्ने गोठजस्ता । सडक छेउमै भैँसीले कान हल्लाउँदै पाउर मारिरहेको हुन्छ । गाईले पुच्छर हल्लाउँदै घाँस खाइरहेको हुन्छ । सडकमै बड्कौला छोड्दै बाख्रा कराइरहेको हुन्छ । कतैकतै सडकमा बिस्कुन सुकाएको देखिन्छ । कतैकतै धान, गहुँ र कोदो झारिरहेको भेटिन्छ । घाँस राख्ने ठाउँ पनि सडक, दाउरा राख्ने ठाउँ पनि सडक । आफ्नो घरमाथिको आकाश त आफ्नै हुन्छ भने घर अघिल्तिरको सडक चाहिँ कसरी अर्कोको हुन्छ भनेर आफ्नै ठानेजस्तो नि !

सडकमा गाडी गुड्दैनन् मात्रै, रोकिन्छन् पनि । एकछिन मात्रै होइन, लामो समयसम्म गाडी पार्किङ गरेर राख्ने ठाउँ पनि सडक नै हो । कतै छेउकुनामा बडेमानका गाडी रोकिएका हुन्छन्, कतै गुड्दागुड्दै थाकेर बीच सडकमै थचक्क बसेका हुन्छन् । कुनैमा झ्यालबाहिर खुट्टा तेर्साएर चालक भित्र सिटमा मस्त निदाइरहेका हुन्छन् । कतै यात्रु स्टोभ सल्काएर भात पकाइरहेका भेटिन्छन् । कतै बिग्रेको गाडी बनाइरहेका हुन्छन् । यसरी सडक छेउमा लामो समयसम्म गाडी रोकेर राख्दा आफ्नै मौलिक ट्राफिक सङ्केत छ । रुखको हाँगो या पातीको गाँज भाँचेर गाडीको अगाडि पछाडिको छेउछेउमा झुन्ड्याउने । गाडीको अगाडि पछाडि रुख र स्याउला झुन्ड्याएको देखेपछि मान्छेहरूले बुझ्छन् कि यो गाडी कि बिग्रिएको छ, कि लामो समयसम्म रोकेर बस्नेवाला छ । कतिपय गाडीवालालाई चाहिँ रुखको हाँगो र स्याउला भाँच्न पनि जाँगर चल्दैन । अर्को गाडीले ठक्कर दिन सक्छ भन्ने डर पनि नमानी बीच सडकमै थोत्रो सिट तेर्साएर आफ्नो बिग्रेको गाडीको पाङ्ग्राे बनाइरहेको हुन्छ । कतै चाहिँ गाडीको पिठ्युँबीच सडकतिर फर्काएर आफू चाहिँ भित्र उत्तानो परेर निदाइरहेका हुन्छन् । न ट्राफिक नियमको मतलब, न आफ्नै विवेकको वास्ता ।

कुनै कुनैमा त गाडी नै छोपिने गरी पछिल्तिर सामानको भार । पराल र भुस्सा बोक्नेले गाडीको पछिल्तिर ८/९ हातसम्मको खाली ठाउँमासमेत डोरीले बाँधेर सामान अड्याएर राखेको हुन्छ । ६/७ फिटको सानो गाडीले आफूभन्दा १० गुणा लामोसम्म बाँस र रड बोकेर गुडिरहेको हुन्छ । घुम्ती आउँदा गाडी मोडिएर पर पुगिसकेको हुन्छ, त्यही गाडीमा रहेको बाँस र रड चाहिँ उस्तै सिधाको सिधा । कुनैकुनैले बाँस र रडको पछिल्तिर रातो टालो या स्याउला पनि झुन्ड्याएका हुन्छन् ट्राफिक सङ्केतको रूपमा ।

सडक भनेपछि बिजुली, इन्टरनेट, खानेपानी, ढलको समेत साझा थलो हो । सडकवालाले बल्लबल्ल सडक पिच गर्छ । त्यसपछि खानेपानीवालालाई पाइप बिच्छ्याउन जाँगर चल्छ । खानेपानीवालाले पाइप बिच्छ्याएपछि खनेर टालेको पिच देखेपछि त्यसलाई अरू चौडा हुने गरी भत्काएर ढलवालालाई त्यहीँ खन्न हतार हुन्छ । बिजुलीवालाले बीच सडकमै पोल गाड्छ । त्यही पोलमा इन्टरनेटवालाले तार बिच्छ्याउँछ । माकुराको जालोजस्तो कुन तार कसको हो भनेर तार टाँग्नेलाई समेत पत्तो हुन्न । कतै तारैतार जेलिएर छोपिन लागेका पोल । कतै तारको भारले थिचिएर ढलिसकेका पोल ।

बिहेको सिजन हुनुपर्छ, त्यो बेला सडक बेहुला–बेहुली, जन्ती र भोज खानेको मात्रै । सडकको अघिल्तिर जन्ती हिँडेपछि पछिल्तिरका गाडी उनीहरूको सारमा र बाजाको तालमा बिस्तारै नाच्दै गाउँदै गुड्नुपर्छ । भतेर पकाउने र खाने ठाउँ पनि सडक छेउमै हुन्छ । अलि चिटिक्कको लुगा लगाएर प्लेट समाउने आँट गर्ने हो भने जसले पनि चाख्न पाउँछ, नबोलाएको ठाउँमा त्यति गर्ने आँट आएन भने मज्जाले सुँघ्दै हिँड्न चाहिँ पाइन्छ ।

बिहेको सिजन नभएको बेला सडकमा नारा जुलुस, मेला महोत्सवको रौनक भैरहन्छ । कतै प्रहरी र आन्दोलनकारीको ठेलमठेल र भीडन्त । कतै नाचगान र रमाइलो ।

यी त सडकमा देखिने रमाइला र रमिताका केही ‘हाइलाइट’ मात्रै हुन् । सडकमा यीबाहेक अरू पनि थुप्रै रमाइला हुन्छन् । यस्ता रमाइलामा कतै तपाईँको सहभागिता हुन्छ, कतै मेरो । कतै तपाईँ रमिते, कतै म रमिते । मैले सम्झन नपाएका थप रमाइला र रमिता खोज्ने काम चाहिँ तपाईँको है त !

अन्तिम अपडेट: बैशाख १२, २०८१

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया