भारतसँगको टेस्टमा अस्ट्रेलिया पहिलो पारीमा १ सय ४ रनमै अलआउट
मंसिर ८, २०८१ शनिबार
खेती गर्याे, उब्जनी हुँदैन । पसल राख्यो, व्यापार हुँदैन । जागिर खोज्यो, पाइँदैन । जागिर पाइहाले तलब पाइँदैन, तलब पाइहाले न पूरै पाइन्छ, न बेलामा पाइन्छ । पासपोर्ट बनाएर विदेश जान खोज्यो, सजिलै भिसा मिल्दैन । खत्तमै भयो भनेर निराश हुन पनि भएन । त्यसमाथि नागरिकको सुखदुःखमा साथ दिन्छु भन्ने नयाँ पुराना दलहरू छन् । तँभन्दा म के कम भन्दै छाती ठोक्दै हिँड्ने नेताहरू छन् । गाउँ र टोलपिच्छे सरकार छ । गाउँगाउँमा सिंहदरबार पुगेको भन्छन् । आफ्नै ठाउँमा सिंहदरबार पुगेको देख्दा देख्दै निराश पनि किन पो हुनु ? उ बेला चप्पल पड्काउँदै सिंहदरबार पुगेकाहरू अहिले कहाँबाट कहाँ पुगिसके । आफ्नो पनि कसो पालो नआउला त ! यी सबै कुराको हिसाबकिताबपछि सबैभन्दा पहिले आफ्नै ठाउँमा आइपुगेको सिंहदरबार पुग्नुपर्याे भन्ने लागेर त्यता पुगियो ।
‘ल भन्नुहोस् के कामले आउनुभयो ?’, हात जोड्न नभ्याउँदै हाकिमले सोधे ।
दुःख पाइयो हजुर, न्याय चाहियो ।
के भयो, भन्नुहोस् ।
के मात्रै भएन भन्नुहोस् न हजुर । घरमा बुढाबुढी मात्रै छौँ । खुट्टा लागेका छोराछोरी कोही शहरमा छन्, कोही विदेशमा । खेतबारी बाँझै रहेको र गोठ रित्तै भएको हेरिरहन सकिएन । सकिनसकी खनजोत गरेर छरछार गरियो । बेलामा पानी परेन, बल्लबल्ल उम्रिएको पनि बाँदरले खायो । बचेको पनि त्यहीँ बाँदरको पिसाबले पोलेर मर्न थाल्यो । एउटा दुहुनो भैँसी पनि पालेका छौँ । आफूले खाइनखाइ डेरीमा दूध बेच्न थालेको महिनौँ भइसक्यो । दूध बेच्यो तर पैसा पाइँदैन । न खेतमा बाली, न गोजीमा पैसो । गाह्रो भयो हजुर, न्याय चाहियो ।
के तपाईँको बारीमा हामीले पानी पार्न पर्याे ?
हैन हजुर, बालीनाली उत्पादन नभएपछि राहत पाइन्थ्यो कि भनेर ।
पार्टीको कार्यकर्ता भएको भए सोच्न सकिन्थ्यो । तपाईँ कार्यकर्ता पनि हुनुहुँदो रहेनछ । अब दूध बेचेको पैसा हामीले दिने होइन, डेरीवालालाई नै भन्नुस् ।
त्यसो भए यहाँबाट केही गर्न मिल्दैन ?
हाम्रा आफन्त, नातेदार, कार्यकर्ताको भए मिल्थ्यो । नमिले पनि मिलाइन्थ्यो । अब तपाईँको चाहिँ मिल्दैन । जानुहोस् ।
........
गाउँको सिंहदरबारबाट न्याय नपाएपछि काठमाण्डौकै सिंहदरबार पुग्नुपर्याे भनेर त्यता लागियो । नमस्कार फर्काउनुको साटो कुर्सीमा बसिरहेका हाकिमले ठाडै सोधे– भन्नुहोस् के कामले आउनुभयो ?
न्याय चाहियो हजुर ।
खै खुट्टा देखाउनुहोस् त, जुत्ता पनि सध्दे नै छ । खै जुत्ता खोल्नुहोस् त, ल कुर्कुच्चा र पाइताला पनि ठिकठाक छ । न ठेला, न घाउ । हिँडेर आउनुभएको हैन ?
कहाँ हिँडेर आउनु हजुर । घरबाट तल बारीसम्म जान त लौरो टेक्नुपर्छ । आँगनबाट पर दोबाटोसम्म त जान सकिँदैन, काठमाण्डौसम्म कसरी हिँडेर आउनु ? नाइट बस चढेर आएको हजुर ।
महिनौँ हिँडेर आएकाले त न्याय पाउन सकेका छैनन् । तपाईँ बस चढेर आउनेलाई कसरी न्याय दिन सकिन्छ ?
न्याय पाउन हिँडेरै आउनुपर्ने हो र हजुर ?
हिँडेर मात्रै हुँदैन । धेरै प्रक्रिया पुर्याउनुपर्छ ।
के के गर्नुपर्छ त ?
सबैभन्दा पहिले त तपाईँसँग जे छ त्यही सडकमा पोख्नुपर्छ, फाल्नुपर्छ । बारीमा तरकारी छ कि छैन ?
पानी नपरेर केही पनि भएन नि हजुर । धन्न कात्तिकताका अलिकति साग सुकाएर गुन्द्रुक गाडेका थियौँ, अहिले त्यही दुई/तीन त्यान्द्राको दरले पकाएर खाने गरेका छौँ । अरू त केही छैन । त्यही गुन्द्रुक नि कहिलेकाहीँ बढी हुँदा कुँडो पकाउने भाँडामा फाल्न चाहिँ फाल्छौँ ।
कुँडो पकाउने भाँडामा फालेर कहाँ हुन्छ त, सडकमा पो फाल्नुपर्छ । त्यसमाथि दुई चार वटा गुन्द्रुकका त्यान्द्रा फालेर हुँदैन । बोराका बोरा तरकारी फाल्नुपर्छ, त्यो पनि सडकमा । मान्छेहरूले बेलाबेला सडकमा गोलभेँडा, बन्दा फालेको सुन्नुभएको होला नि !
आफ्नो त भए पो फाल्नु हजुर । त्यही नभएर त न्याय माग्न आएको ।
अरू के छ त घरमा ? दूध छ ?
दूध त बेच्छौँ नि हजुर । त्यही दूध बेचेको पैसा डेरीवालाले दिएन भनेर भन्न आएको ।
डेरीवालाले त्यसै कहाँ दिन्छ त । दूध पोख्नुपर्छ, अनि बल्ल सोच्न सकिन्छ ।
दूध त पोखिन्छ हजुर बेलाबेला । कहिलेकाहीँ दुहुँदादुहँदै भैँसीले लात्ताले हानेर पोखिन्छ । कहिले बाल्टीबाट भाँडोमा हाल्दा पोखिन्छ । कहिले डेरीमा बोकेर जाँदा पोखिन्छ । दूध पोखेर कति घाटा भइसक्यो हजुर । बल्लबल्ल जतन गरेर बेचेको दूधको पनि पैसा आएन ।
सडकमा पोख्नुपर्छ । दूधको खोलो बगाउनुपर्छ । तपाईँले सडकमा दूध पनि पोख्नुहुन्न । न्याय माग्न भन्दै महिनौँ पैदल हिँडेर कुर्कुच्चाबाट रगत पनि बगाउनुहुन्न । न जुलुस गर्नुहुन्छ, न धर्ना र नाराबाजी । अनशनमा पनि बस्नुहुन्न । अनि कसरी न्याय पाइन्छ त ?
अनशन भनेको के हो र हजुर ?
केही पनि नखाइ दिनरात बसिरहने ।
त्यस्तो अनशन त कति बसियो बसियो हजुर । अहिले त मजस्ता धेरै मान्छे अनशनमा छन् । न भाँडोमा अन्न छ, न खल्तीमा पैसो छ । हातमुख जोर्नै धौधौ भएपछि बिहान बेलुका सधैँ अनशन छ हजुर हाम्रो त ।
त्यस्तो अनशनले कहाँ हुन्छ । सडकमा बसेर देखाउनुपर्छ । धर्ना, जुलुस, अनशन गर्नुभयो भने बल्ल सरकारले ध्यान दिन्छ । महिनौँ हिँडेर पाइतालामा ठेला परेको र रगत बगेको देखाउन सक्नुभयो भने ए दुःख पाउनुभएको रहेछ भन्ने थाहा हुन्छ । दूध र तरकारी फ्याँक्नुभयो भने साँच्चै विरोध गर्नुभएको हो भन्ने पत्यार लाग्छ । त्यसैले न्याय चाहिएको हो भने यी सबै प्रक्रिया पूरा गर्नुस् । तपाईँलाई न्याय दिन नसके पनि फेरि फेरि फर्किएर आइरहन मिल्ने गरी आश्वासन चाहिँ पक्कै पाउनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ।