कैलालीको घोडाघोडी तालमा आन्तरिक पर्यटकको चहलपहल बढ्यो
असोज २९, २०८१ मंगलबार
काठमाण्डौ – दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ डाँडागाउँको सडकसँगै जोडिएको एक तले घर छ । घरभित्र कोही अचारका लागि चाहिने सामग्री काट्न, कोही सरसफाइ गर्न, कोही मरमसलाको तयारीमा र कोही थरीथरीका अचार बनाउन व्यस्त छन् । नेकपा एमालेकी पोलिटब्युरो सदस्य तथा भूमि अधिकार तथा श्रमिक सङ्गठनकी केन्द्रीय अध्यक्ष शान्ता चौधरी त्यही व्यस्तताको अगुवाइ गरिरहनुभएको छ । दुई महिनाअघि अचार व्यवसाय शुरु गरेसँगै उहाँको दैनिकी फेरिएको छ ।
सबै जना आत्मनिर्भर हुनुपर्छ, अझ राजनीतिक तथा सामाजिक क्षेत्रमा काम गर्ने व्यक्तिहरू बढी आत्मनिर्भर हुन जरुरी छ । चौधरीमा यस्तो सोच पहिलेदेखि नै थियो । कमलरी, राजनीतिकर्मी र अधिकारकर्मी हुँदै अहिले अचार व्यवसाय शुरु गरेसँगै उहाँको अर्को परिचय पनि थपिएको छ, ‘व्यवसायी शान्ता चौधरी’ । गएको पुस २० गते घरेलु तथा साना उद्योग कार्यालय दाङमा दर्ता गरेको ‘शान्ताको अचार उद्योग’ को कुल पुँजी २० लाख रुपैयाँको छ । चौधरीको व्यवसायमा पारिवारिक सहयोग छ । उहाँलाई छोरा, बुहारी, छोरी र ज्वाईँले काममा सघाउँछन् । राजनीतिक तथा सामाजिक क्षेत्रमा काम गर्ने व्यक्ति आयआर्जनमा जोडिए गलत ढङ्ले पैसा कमाउने बाटो बन्द हुने उहाँ बताउनुहुन्छ । चौधरी भन्नुहुन्छ, ‘म सधैँ केही न केही गर्न खोज्ने मान्छे हुँ । मलाई घरव्यवहार चलाउन काम गर्नुपर्ने बाध्यता पनि छ । उत्पादन, उद्यम, आयआर्जनमा जोडिनु सबैका लागि राम्रो हो ।’
चौधरीले यसअघि २०७७ माघ ८ गते ‘स्मार्ट जोन फिटनेस सेन्टर’ नामको व्यवसाय पनि सञ्चालन गर्नुभएको थियो । तर त्यो व्यवसाय त्यति सहज नभएपछि निरन्तरता दिन सक्नुभएन । राजनीतिसँगै गुजारा चलाउन कुनै न कुनै व्यवसाय गर्नुपर्ने उहाँलाई बाध्यता थियो । यसै क्रममा अचार उद्योग सञ्चालन गर्ने सोच आयो । मिठामिठा खानाका परिकार बनाउन साैकिन चौधरीलाई अचार उद्योग सञ्चालन गर्नुभन्दा पाँच/छ महिना अघिदेखि नै छिमेकी, साथीभाइ, आफन्तले अचार बनाउन 'अर्डर' गर्थे । 'अर्डर' अनुसारका अचारका परिकार बनाएर पठाउँदा उहाँलाई राम्रो प्रतिक्रिया आउँथ्यो । तिनै सकारात्मक प्रतिक्रियाले झनै हिम्मत जुटेको उहाँ बताउनुहुन्छ ।
शाकाहारीदेखि मांसाहारी अचार
चौधरीको अचार उद्योग सञ्चालनमा आएको दुई महिना जति भयो । अहिले काठमाण्डौ, सुर्खेत र कैलालीमा 'डिलर' छ । अरू जिल्लाका सुपरमार्केटहरूमा पनि 'डिलर' का लागि कुरा भइरहेको चौधरीले बताउनुभयो । जापान, अमेरिका, क्यानडा, मलेसियालगायतका देशहरूबाट पनि माग आउन थालेपछि उहाँ उत्साहित हुनुहुन्छ । उहाँले उद्योगमा शाकाहारी तथा मांसाहारी दुवै गरी अहिले झन्डै २२ प्रकारका अचार उत्पादन भइरहेको जानकारी दिनुभयो । मांसहारीमा कुखुरा, खसी, र माछाको नियमित उत्पादन हुन्छ । शाकाहारीमा अमला, लसुन, कागती, खुर्सानी, मुला, गुन्द्रुक, लप्सी र गाँजरलगायत माैसमअनुसारका अचार उपलब्ध छन् । स्थानीय ठाउँमा उपलब्ध 'अर्गानिक' सामग्रीको प्रयोग गरेर आफैँले बनाउने गरेकाले धेरैले अचार 'टिपिकल' र मिठो छ भनेर प्रतिक्रिया दिने गरेको शान्ताले बताउनुभयो ।
एमाले अध्यक्ष ओली र राजनीतिकर्मीबाट ऊर्जा
शान्ता चौधरीले बनाएको अचारको स्वाद धेरै नेताहरूले पनि चाखेका छन् । केही दिनअघि मात्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अचार लिएको फोटो सामाजिक सञ्जालमा राखेर चौधरीको प्रशंसा गर्नुभएको थियो । ‘मलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि निकै ऊर्जा मिल्छ । उहाँ सधैँ प्रेरणा र हौसला दिनुहुन्छ । केही दिनअघि भेटमा पनि उहाँले खुशी व्यक्त गर्दै मेरो व्यावसायिक सफलताको शुभकामना दिनुभयो । अरू राजनीतिकर्मी साथीहरूबाट पनि सकारात्मक प्रतिक्रिया पाउँदा म निकै खुशी भएकी छु’, चौधरीले भन्नुभयो । अहिले अचारको माग दिन प्रतिदिन बढिरहेको छ । दैनिक ५० हजार रुपैयाँको व्यापार हुन्छ । काम गर्ने मान्छेलाई सकारात्मक प्रतिक्रियाले ऊर्जा प्रेरणा मिल्ने चौधरी बताउनुहुन्छ ।
कमलरी हुँदै सांसद अनि राजनीतिसँगै व्यवसाय पनि
शान्ता चौधरीको विगत कहालीलाग्दो छ । बाल्यकाल अर्काको घरमा कमलरी बसेर बित्यो । पढ्ने, खेल्ने, रमाउने र बाबाआमाको माया पाउने बेलामा कमलरी बस्नु परेकाले ती अवसरको अनुभव उहाँले लिन पाउनुभएन । उहाँ आठ वर्षको हुँदा नै कमलरी बस्नु पर्याे । उहाँ भन्नुहुन्छ, ‘मेरो विगत निकै दर्दनाक थियो । सानो हुँदा खेल्ने, रमाउने, पढ्ने र परिवारको माया महसुस नै गर्न पाइएन । सानैमा कमलरी बस्नु पर्याे । धेरै दुःख भोगियो । विगतको सङ्घर्षले आज म यो स्थानमा छु ।’
पहिलो संविधान सभामा नै कमलरी आन्दोलनकी अभियन्ता शान्ता चौधरीलाई संसदमा पुग्ने मौका मिल्यो । पहिलो पटक संसदमा छिर्दासम्म पनि उहाँले कखरा चिन्नुभएको थिएन । व्यवस्थापिका–संसद्को प्राकृतिक स्रोत र साधन समितिको सभापति बन्दा उहाँलाई ‘औँठाछापे सभासद’ भनेर जिस्काउनेहरू धेरै थिए । तर उहाँले आफ्नो भूमिका राम्ररी निभाउनुभयो । ‘औंँठाछापे सभासद’ भनेर जिस्काउँदा, मिडियामा आउँदा साह्रै दुःख लागेको चौधरी सम्झनुहुन्छ ।
लामो समय कमलरी जीवन बिताउनुभएकी चौधरीलाई कमलरी बस्नु पर्दा पढ्न, लेख्नबाट वञ्चित हुनुपरेको पीडा कसैले बुझेनन् । बुझे त केवल दुःखदायी विगत अनि उडाए हाँसोको पात्र बनाएर । उहाँको मनमा अहिले पनि ‘औँठाछापे सभासद’, ‘भाँडा माझ्दामाझ्दै भएको सभासद’ भनेर आएका समाचार अमिट छाप बनेर बसेको छ । अनपढ हुँदाको पीडाले पाइलापाइलामा ठक्कर दिएको महसुस भएपछि उहाँलाई पढ्नुपर्छ भन्ने सोच आयो । पढ्ने सपना पूरा गर्न २०७२ सालमा गाउँकै गोग्ली माविमा कक्षा आठमा भर्ना हुनुभयो । राजनीतिक, सामाजिक काम सँगसँगै अगाडि बढाउनुभयो । २०७५ सालमा माध्यमिक शिक्षा परीक्षा (एसईई) र २०७७ सालमा कक्षा १२ उत्तीर्ण गर्नुभयो । अहिले उहाँ स्नातक दोस्रो वर्षमा अध्ययनरत हुनुहुन्छ । आँट, इच्छा, चाहना भए असम्भव भन्ने केही छैन भन्ने एक सङ्घर्षकाे उदाहरण हुनुहुन्छ उहाँ ।
शान्ता चौधरी छ जना दिदीबहिनी र एक दाजुमध्येकी कान्छी बहिनी हुनुहुन्छ । जसरी उहाँ राजनीतिक, सामाजिक र व्यावसायिक क्षेत्रमा चर्चित हुनुहुन्छ पारिवारिक जीवन भने सोचेअनुरूप हुन सकेन । उहाँले पारिवारिक जीवनमा थुप्रै उतारचढाव सामना गर्नुपर्याे । श्रीमानले दोस्रो विवाह गरेपछि उहाँ विगत १० वर्षदेखि छुट्टै बस्दै आउनुभएको छ । छोरा, छोरीका लागि अभिभावकीय भूमिका एक्लै निर्वाह गर्नुभएको छ । एउटी आमाले बा र आमा दुवैको भूमिका निर्वाह गर्दै अगाडि बढ्न त्यति सहज थिएन । उहाँ भन्नुहुन्छ, ‘मेरा छोराछोरीका लागि बाबाआमा दुवै म हुँ । छोराछोरी साना हुँदा निक्कै गाह्रो भयो । एकल आमाले सन्तान हुर्काउन दुःख हुने रहेछ । त्यो समय जसोतसो पार गरेँ, अब त छोराछोरीले नै मलाई सहयोग गर्छन् ।’ चौधरीले थुप्रै अप्ठ्याराहरूलाई छिचोलेर हिम्मतका साथ निरन्तर आफ्नो जीवनको यात्रालाई अगाडि बढाउनुभएको छ ।
कमलरी अभियन्ता हुँदै उहाँ दुई पटक (२०६४ र २०७४) सम्म संसदमा पुग्नुभयो । अहिले नेकपा एमालेको पोलिटब्युरो सदस्य तथा भूमि अधिकार तथा श्रमिक सङ्गठनको केन्द्रीय अध्यक्ष हुनुहुन्छ । त्यस्तै उद्यमी पनि हुनुहुन्छ । छोराछोरीका लागि दरिलो खम्बा हुनुहुन्छ । साँच्चै भन्ने हो भने चौधरी एक अथक सङ्घर्षको पात्र हुुनुहुन्छ । सङ्घर्षले मानिसलाई साहसी, आँटिलो र हिम्मतिलो बनाउने उहाँको अनुभव छ ।
तालिका बनाएर समय व्यवस्थापन
‘पात्र एक, भूमिका अनेक’ को परिचय बनाउनुभएको छ शान्ता चौधरीले । उहाँमा राजनीतिक, सामाजिक, व्यावसायिक, पारिवारिक, विद्यार्थीको समेत जिम्मेवारीलाई सहजै व्यवस्थापन गर्ने खुबी छ । बिहानदेखि बेलुकासम्म तालिका बनाएर समय व्यवस्थापन गर्नुहुन्छ । उहाँ बिहान ५ बजे उठेपछि एक घण्टा शारीरिक व्यायाम, त्यसपछि बिहान ३/४ घण्टाको समय व्यवसायमा, दिउँसो राजनीतिक र सामाजिक काम हुँदा त्यतै समय दिने र अरू बचेको समय व्यवसायमा र राति केही समय अध्ययनलाई दिने गर्नुहुन्छ ।
‘मान्छेमा सबैभन्दा पहिला इच्छाशक्ति चाहिन्छ, इच्छाशक्ति भएपछि समय व्यवस्थापन भइहाल्छ । म हरेक दिन बिहानदेखि बेलुकासम्मको समय तालिका बनाएर चल्छु । अलि बढी समय व्यवसायमा दिने गरेकी छु । राजनीतिक र सामाजिक कामको ठ्याक्कै नियमित तालिका नहुने हुँदा आवश्यकताअनुसार समय व्यवस्थापन गरेकी छु’, उहाँले भन्नुभयो ।
‘शान्ताको अचार उद्योग’ ले बिस्तारै बजार लिँदैछ । उद्योगमा तीन/चार जनाले रोजगारी पाएका छन् । कामको चाप बढी हुँदा १०/१५ जनासम्मले काम गर्ने गरेको चौधरीले बताउनुभयो । गाउँघरमा उत्पादित सामग्रीको प्रयोग र गाउँघरमा नै रोजगारीको सृजना भएको छ । ‘चौधरी दिदीबहिनीहरूले आफ्नो घरमा उब्जिएका तरकारीहरू टाउकोमा राखेर घरघर चिच्याउँदै बेच्न हिँडेको देख्दा दुःख लाग्थ्यो । अहिले उहाँहरूले म कहाँ ल्याउनुहुन्छ, धेरथोर आम्दानी गर्नुभएको छ । केहीले भए पनि रोजगारी पाउनुभएको छ, म निकै खुशी छु’, शान्ताले सन्तुष्टि जनाउनुभयो ।
अहिलेको समयमा समयको सदुपयोग गर्दै महिला आयआर्जनमा जोडिनुपर्ने चौधरीको सुझाव छ । ‘महिला आत्मनिर्भर हुन सके हिंसा, अन्याय, अत्याचार, उत्पीडन सहेर बस्न पर्दैन’, उहाँले आफ्नो अनुभव सुनाउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सीता बि.के. उज्यालो सहकर्मी हुनुहुन्छ ।