नेपाली राजनीतिमा कृष्णबहादुर महरा : त्यहाँदेखि यहाँसम्म !

 असोज १४, २०७६ मंगलबार १८:२९:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – २०४८ सालमा ३२ वर्षको हुँदा नै संसद छिरेका कृष्णबहादुर महरा त्यसपछि भने लगातार राजनीतिक पदलाभबाट टाढा जानु परेन । महराले झण्डै चार दशकदेखि कम्युनिष्ट राजनीतिमा मात्रै होइन, नेपालकै राजनीतिमा सक्रिय भूमिकामा रहनु भएको छ । राजनीतिमा महराको छलाङ अन्य नेताहरुको तुलनामा हेर्दा छिट्टै भएको देखिन्छ । 

महराले २०७४ मा भएको प्रतिनिधिसभा चुनावमा दाङ क्षेत्र नम्बर २ बाट चुनाव जित्दै प्रतिनिधि सभाको सभामुखसम्मको यात्रा तय गर्नुभएको हो । महरा विभिन्न समयमा गरी अहिलेसम्म सभामुखसहित उपप्रधान, परराष्ट्र, अर्थ र गृह मन्त्री भइसक्नुभएको छ । 

प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावका बेला नेपाली कांग्रेस र तत्कालीन माओवादी केन्द्रको संयुक्त सरकार हुँदा महरा उपप्रधानसहित परराष्ट्र मन्त्री हुनुहुन्थ्यो ।  

त्यसअघि माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा पनि उपप्रधान तथा अर्थ मन्त्री हुनु भएको थियो । त्यसअघि २०६७ सालमा पनि उहाँ उपप्रधान तथा गृह मन्त्री हुनु भएको थियो ।

२०७० सालको चुनावा रोल्पा क्षेत्र नं. १ बाट निर्वाचित महरा २०७१ सालमा पार्टीको महासचिवमा निर्वाचित हुनु भएको थियो । २०३५/०३६ सालको विद्यार्थी आन्दोलनमा संलग्न भएपछि उहाँ राजनीतिमा सक्रिय हुनु भएको हो । २०३६ सालदेखि २०३९ सालसम्म नेपाल राष्ट्रिय शिक्षक संगठन रोल्पाको सचिव र केन्द्रीय प्रतिनिधि बनेका महरा २०३७ सालमा तत्कालीन नेकपा ‘चौम’को रोल्पा जिल्ला सदस्य हुनुभयो ।

२०३९ देखि ०४१ सालसम्म अनेरास्ववियू आठौँ राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्य र केन्द्रीय उपाध्यक्ष हुँदै पृथ्वीनारायण क्याम्पस पोखराको स्ववियू कोषाध्यक्ष हुनुभयो । २०४१ सालदेखि ०४५ सालसम्म नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाको मन्त्री बनेका महरा २०३६ सालदेखि ०४८ सम्म विज्ञान र गणित शिक्षकको रुपमा १० वर्ष काम गर्नुभयो ।

२०४८ सालदेखि नेकपा मशालको रोल्पा जिल्ला पार्टी सेक्रेटरी भएका महरा २०४८ सालको चुनावमा रोल्पा २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभयो । २०५० सालमा संयुक्त जनमोर्चा नेपालको संसदीय दलको नेता बनेका महरा त्यही वर्ष नेकपा एकता केन्द्रको क्षेत्रीय संगठन समिति र राप्ती अञ्चलको सदस्य हुनुभयो ।

२०५१ सालमा नै नेकपा माओवादीको पश्चिमाञ्चल क्षेत्रीय ब्यूरो सदस्य बनेका महरा २०५३ सालको असारमा केन्द्रीय सदस्य र २०५५ सालमा पोलिटब्यूरो सदस्य हुनुभयो । माओवादी द्वन्द्वका क्रममा २०५८ सालमा तत्कालीन सरकारसँग पहिलो पटक वार्ता हुँदा महरा वार्ता टोली संयोजक हुनुहुन्थ्यो ।

२०६० सालमा सरकारसँग भएको वार्तामा पनि माओवादीको तर्फबाट प्रवक्ता भएका महरा २०६१ सालमा पार्टी प्रवक्ता पनि हुनुभयो । २०६२ सालमा स्थायी समिति सदस्य र सचिवालय सदस्य हुनुभयो । २०६३ सालमा तत्कालीन सरकारसँग वार्ताको लागि गठन भएको वार्ता टोलीको संयोजक बनेका उहाँ अन्तरिम संविधान जारी भएपछि निर्मित अन्तरिम व्यवस्थापिका संसदको सदस्य तथा माओवादीको संसदीय दलको नेता पनि बन्नुभयो ।

चैतमा गठन भएको अन्तरिम सरकारको सूचना तथा संचार मन्त्री र सरकारको प्रवक्ता भएका उहाँ २०६४ मा भएको पहिलो संविधानसभा चुनावमा दाङ क्षेत्र नं ३ बाट निर्वाचित हुनुभयो । २०६५ सालको भदौमा प्रचण्ड नेतृत्वको सरकारको सूचना तथा सञ्चार मन्त्री तथा सरकारको प्रवक्ता बनेका महरा २०६५ सालमा पार्टी एकतापछि एनेकपा (माओवादी) को स्थायी समिति सदस्य र २०६६ सालमा अन्तर्राष्ट्रिय ब्यूरोको इञ्चार्ज हुनुहुन्थ्यो ।

२०१५ साल असार १५ गते रोल्पाको लिवाङ ७ धारापानीमा जन्मिएका महराले शिक्षाशास्त्रमा स्नातक गर्नु भएको छ । बालकल्याण उच्च मावि लिबाङबाट एसएलसी गरेका महराले प्रविणता प्रमाण पत्र तह विज्ञान विषयमा महेन्द्र बहुमुखी क्याम्पस, नेपालगञ्जबाट गर्नुभयो । त्रिविवि नेपाल (पोखरा) बाट उहाँले स्नातक तह पास गर्नु भएको छ ।

लामो समय कम्युनिष्ट राजनीतिमा बिताएका महराले अहिले सभामुख भएका बेला संसद सचिवालयमा नै कार्यरत एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि पदबाट राजीनामा दिन बाध्य बन्नुपर्यो । महरा चुनावमा कहिल्यै पराजित हुनुभएन । पार्टी राजनीतिमा पनि आफूभन्दा अघिकालाई उछिन्दै अघि बढेका महरा यौनकाण्डका कारण भने नराम्रोसँग पछारिनुभएकाे छ ।  

यसअघि चिनियाँ नागरिकसँग ५० करोड रुपैयाँ माग गरेको फोनवार्ता सार्वजनिक प्रकरण होस् वा इसाई धर्मगुरुबाट आशीर्वाद लिएको प्रकरण सबैमा उहाँले उन्मुक्ति पाउँदै आउनुभएकाे थियाे । 

पटक–पटक विभिन्न काण्डमा मुछिएका महरालाई अहिले भने गम्भीर यौन अपराधको आरोप लागेको छ । यो आरोपले उहाँको ४ दशक लामो कम्युनिष्ट पार्टीमा गरेको संघर्ष र राजनीतिक उचाइलाई गर्लम्मै ढालिदिएको छ ।

महिलाले लगाएको आरोपको छानबिनका लागि घुमाउरो पारामा राजीनामा दिएर भए पनि महराले मार्गप्रशस्त गरेकै हो । आरोप प्रमाणित होला, नहोला त्यो अनुसन्धानबाट पत्ता लाग्ला । तर महराकै कतिपय स्वीकारोक्तिले भने उहाँको नैतिक पतन भने अवश्य देखिएको छ ।

महरा नेपालको इतिहासमा नै यति उच्च पदस्थ व्यक्ति यौन दुर्व्यवहारको आरोपबाट पदच्यूत हुनुपरेको पहिलो नेपाली राजनीतिज्ञ बन्नु भएको छ ।  

सम्बन्धित समाचार

 

 

 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया