काठमाण्डौ महानगरको श्रम बैङ्कमा चार हजार ७ सयभन्दा धेरैको आवेदन

 जेठ १९, २०८१ शनिबार १०:१:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाको श्रम बैङ्कमा चार हजार सात सय ७० जनाको आवेदन परेको छ । महानगरले गएको भदौमा सीप भएका तर बेरोजगार जनशक्तिलाई श्रम बैङ्कमा आबद्ध हुन माग गरेको सूचनाअनुसार आवेदन प्राप्त भएका महानगरको श्रम बैङ्कका फोकल पर्सन पवनकुमार ठाकुरले जानकारी दिनुभयो ।

महानगरले आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा महानगर स्वर्णिम योजनाअन्तर्गत श्रम बैङ्क सञ्चालन गर्ने नीति लिएको थियो । त्यसअनुसार महानगरले आवेदन माग गरेको थियो । यसबाट सामाजिक विकास, पूर्वाधार निर्माण, मर्मतसम्भार, सम्पदा संरक्षण, वातावरण संरक्षण, शहरी सुव्यवस्था कायम गराउनेलगायत क्षेत्रमा काम गर्ने जनशक्तिको सूचीकरण हुनेछ ।

श्रम बैङ्कमा आएकामध्येबाट अहिले ६ सयजना छनोट गरी महानगरमा खटाएको छ । आवश्यकता र मागअनुसार अन्यलाई पनि काममा खटाउने तयारी गरिरहेको फोकल पर्सन ठाकुरले जानकारी दिनुभयो । श्रम बैङ्कमा श्रमिकको नाम हुन्छ । जहाँ श्रमिकको ज्यालादर, कामको प्रकार सम्पर्क नम्बर र श्रमिकको ठेगानालगायत विवरण उल्लेख गरिएको हुन्छ ।

विवरणका आधारमा आवश्यकता पर्ने जोसुकैले श्रमिकलाई काममा लगाउन र उचित पारिश्रमिक दिन सक्नेछन् । आवेदन फाराममा विभिन्न ६४ प्रकारका काम उल्लेख गरिएका छन् । 

तपाईको प्रतिक्रिया