बुद्ध एअरको आपतकालीन ढोका खोल्ने दुई जना यात्रुलाई जरीवाना

 पुष १९, २०८१ शुक्रबार ८:१३:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बुद्ध एअरले विमानको आपतकालीन ढोका खोल्ने दुई जना यात्रुलाई जरीवाना तिराएको छ । दुई उडानका क्रममा ढोका खोल्ने यात्रुलाई एक/एक लाख जरिवाना तिराइएको बुद्ध एअरले जनाएको छ ।

कम्पनीका अनुसार जरीवानाबापत यात्रुबाट प्राप्त रकम परोपकारी संस्थालाई हस्तान्तरण गरिएको छ । जनकपुरधामको महागङ्गा आरती–गङ्गासागर र पोखराको वृद्धाश्रमलाई एक/एक लाख सहयोग गरिएको बुद्ध एअरले जनाएको छ ।

अस्ति बुधवार पोखराबाट काठमाण्डौ उडान तयारीका क्रममा एक जना यात्रुले अनाहकमा विमानको आपतकालीन ढोका खोलेका थिए । प्राविधिक टोलीको परीक्षणपछि करिब तीन घण्टा ढिलो विमान उडेको थियो ।

यसैगरी गएको असोज २४ गते काठमाण्डौबाट जनकपुरका लागि बिहान ६ः०५ मा उडेको विमान जनकपुरको खराब मौसमका कारण डाइभर्ट भई विराटनगर पुगेको थियो ।

जनकपुरको मौसममा सुधार आएपछि विराटनगरबाट उड्ने तरखरमा रहेको विमानमा ट्याक्सी वेबाट धावनमार्ग पस्दै गर्दा एक यात्रुले विमानको आपतकालीन ढोका खोलेका थिए । त्यसपछि चालक दलले विमान पार्किङ–वेमै फर्काएका थिए । विमानको प्राविधिक जाँचका लागि काठमाण्डौबाट प्राविधि समूह गई सम्पूर्ण जाँचपछि दिउँसो १ बजे जनकपुर अवतरण गरेको थियो ।

यसबाट उडान प्रक्रिया अवरुद्ध भई त्यस दिनको उडान तालिका निकै प्रभावित बनेको थियो । अनाहकमा आपतकालीन ढोका खोल्ने यात्रुलाई विमानस्थल सुरक्षाकर्मीलाई जिम्मा लगाइने गरिएको छ । यात्रुलाई अब उप्रान्त यस्तो कार्य नगर्ने शर्तमा एक लाख क्षतिपूर्ति तिराइएको बुद्ध एअरले जनाएको छ ।

आपतकालीन ढोकाको प्रयोगबारे विमान कम्पनीका परिचारिकाले उडानअगावै विस्तृत रुपमा जानकारी गराएका हुन्छन् । आपतकालीन अवस्थाबाहेक यसलाई खोल्न मिल्दैन, यसले उडान सुरक्षामै खलल पुर्‍याउँछ ।

हवाई उडानमा खलल पुर्‍याउने जोसुकैलाई ‘गैर सैनिक हवाई उडान (सिभिल एभिएसन) ऐन, २)१५’ अनुसार एकदेखि तीन वर्षसम्म कैद तथा अपराधको प्रकृति हेरेर जन्मकैदसम्म सजाय हुने प्रावधान छ । 
 

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया