विदेशबाट फर्किएकालाई लक्षित गर्दै 'रिटर्नी उद्यमशीलता कार्यक्रम' कार्यान्वयनको तयारी

 असार १०, २०८१ सोमबार ९:१६:३६ | रासस
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले विदेशबाट फर्किएकालाई नेपालभित्रै रोजगारीको अवसर सिर्जना गर्न 'रिटर्नी उद्यमशीलता कार्यक्रम' कार्यान्वयनको तयारी भइरहेको बताउनुभएको छ । हिजो प्रतिनिधिसभा बैठकमा उहाँले स्वदेशभित्रै रोजगारी सिर्जना गर्नेसँगै विदेशबाट फर्किएकालाई यहीँ काम गर्ने वातावरण बनाउने गरी सरकारले काम गरिरहेको दाबी गर्नुभयो ।

स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले अहिले प्रधानमन्त्री रोजगार कार्यक्रम, युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजना, रोजगारb प्रवर्द्धन जस्ता कार्यक्रम सङ्घ, प्रदेश र पालिकाको सहकार्यमा सञ्चालनमा आएका र अब वैदेशिक रोजगारीबाट फर्किएका नागरिकको ज्ञान, सीप र पुँजीलाई स्वदेशमै उपयोग गर्ने गरी रिटर्नी उद्यमशीलता कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको उहाँले बताउनुभयो ।

नेपाली नागरिकले वैदेशिक रोजगारीको क्रममा आर्जन गरेको सीप, पुँजी, प्रविधि र ज्ञानको उपयोग गर्दै उद्यमशीलता प्रवर्द्धनमार्फत उत्पादनशील रोजगारी र स्वरोजगार सिर्जना गर्नको लागि वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकको पुनः एकीकरण परियोजना कोशी प्रदेश र मधेस प्रदेशका २० वटा पालिकामा कार्यान्वयन भइरहेको श्रममन्त्री अर्यालको भनाइ छ ।

श्रम स्वीकृतिको लागि निर्णयको तह घटाई दुई सिफ्टमा कार्यालय सञ्चालन गरी एक घण्टाभित्रै श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था गरिएको उहाँले संसदमा जानकारी गराउनुभयो । आन्तरिक तथा वैदेशिक रोजगारीमा रहेका श्रमिकको गुनासो, उजुरी तथा सुझावलाई सम्बोधन गर्न सूचना प्रविधिमा आधारित एकद्वार प्रणाली श्रमाधानको स्थापना र सञ्चालन गरिएको उहाँको भनाइ छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई पुनर्संरचना गरी सीप विकास र उद्यमशीलतासँग आवद्ध गर्ने गरी प्रक्रिया अगाडि बढाइएको पनि उहाँले बताउनुभयो । उहाँका अनुसार वैदेशिक रोजगारीसम्बन्धी सूचना तथा परामर्श दिने कामलाई आउँदा आर्थिक वर्षदेखि सबै जिल्ला र पालिकामा बिस्तार गर्ने सरकारको योजना छ । साथै वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, पहुँचयोग्य बनाउने उद्देश्यले व्यक्तिगत र पुनःश्रम स्वीकृतिसम्बन्धी सहजीकरण सेवा सबै पालिकामा रहेको रोजगार सेवा केन्द्रमार्फत हुने व्यवस्था गरिएको श्रममन्त्री अर्यालले बताउनुभयो ।

तपाईको प्रतिक्रिया