मानव बेचबिखनको आरोपमा एक जना पक्राउ

 साउन ४, २०८१ शुक्रबार ९:२६:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ‘भिजिट भिसा’मा कुवेत पुर्‍याई बेचबिखन गरेको अभियोगमा मोरङ रङ्गेली नगरपालिका–३ का ५७ वर्षीय कृष्ण अधिकारी भन्ने झयन्द्रकुमार अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

पीडितको उजुरीका आधारमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको प्रहरी टोलीले अधिकारीलाई अस्ति बुधवार ललितपुरबाट पक्राउ गरी हिजो सार्वजनिक गरेको हो । अधिकारीले पीडितलाई दुबइमा मासिक ४० हजार रुपैयाँ तलब हुने काममा लगाइदिने प्रलोभन देखाइ दुई लाख रुपैयाँ नगद लिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीकाअनुसार पीडितलाई दुबइमा रहेका अर्का अभियुक्तसँग मिलेमतो गरी अन्तर्वार्ता लिएको र भिजिट भिसामा २०७९ जेठ १६ गते दुबई पुर्‍याइ बन्धक बनाइएको थियो । बन्धक बनाएपछि घरेलु काममा लगाई चरम श्रम शोषण तथा यौनशोषणगरी गर्भपतन गराएको पाइएको छ । पीडितले नेपाल फर्काइदिन अनुरोध गर्दा छ लाख ७५ हजार रुपैयाँ बुझाउन भनेपछि आफन्तमार्फत रकम बुझाइ गएको मङ्सिरमा नेपाल फर्कन सफल भएका थिए ।

पक्राउ परेका अधिकारीमाथि मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाण्डौबाट पाँच दिन म्याद थप अनुमति लिइ आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया