दुई हजार ‘केयरगिभर’ लैजान इजरायल सहमत

 साउन ८, २०८१ मंगलबार ८:५७:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – इजरायलले दुई हजार नेपाली श्रमिकलाई केयरगिभरका रुपमा रोजगारी दिन सहमति जनाएको छ।

अहिले छनोटका चरणमा रहेका पाँच सय जना मुख्य उम्मेदवार र तीन सय वैकल्पिक उम्मेदवार गरी कूल आठ सय नेपाली श्रमिक इजरायल लैजाने भनिएकोमा यो सङ्ख्या बढाएर एक हजार मुख्य उम्मेदवार र एक हजार वैकल्पिक उम्मेदवार गरी दुई हजारसम्म नेपाली लैजान सकिनेगरी सहमति भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता गोविन्दप्रसाद रिजालले जानकारी दिनुभयो ।

यसबारेमा हिजो श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र नेपालका लागि इजरायली राजदूत हनान गोदारबीच पनि कुराकानी भएको थियो । मन्त्री भण्डारीसँगको शिष्टाचार भेटमा राजदूत गोदारले इजरायल नेपाली श्रमिकको सङ्ख्या वृद्धि गर्न सहमत भएको जानकारी समेत गराउनुभएको थियो ।

भेटमा द्विपक्षीय श्रम सम्बन्ध साथै ‘जिटुजी’ प्रक्रियाअन्तर्गत केयरगिभरका रुपमा नेपाली श्रमिक इजरायल पठाउने क्रममा भइरहेको छनोट प्रक्रियाबारे पनि छलफल भएको थियो ।   

तपाईको प्रतिक्रिया