रास्वपा सभापति रवि लामिछानेविरुद्ध कास्कीमा मुद्दा दर्ता
पुस ७, २०८१ आइतबार
काठमाण्डौ – नेपालको मुख्य श्रम गन्तव्य देश कतारले आज आफ्नो राष्ट्रिय दिवस मनाइँदैछ । कतारको राष्ट्रिय दिवसमा त्यहाँका संस्थापक शेख जसिम बिन मोहम्मद बिन थानीले गरेको कतार एकीकरणको रुपमा स्मरण गरिन्छ ।
संस्थापक थानीले आधुनिक कतार राज्यको अवधारणा ल्याएर एकीकृत, एकताबद्ध र स्वतन्त्र राज्य बनेको विश्वास छ । यो सन् १८७८ डिसेम्बर १८ तारिखमा भएको थियो । कतारको राष्ट्रिय दिवस देशभित्र तथा विभिन्न देशमा रहेका राजदूतावासले पायक पर्ने समयमा भब्यताका साथ मनाउने गरेका छन् ।
कतारको राष्ट्रिय दिवसका अवसरमा नेपालमा रहेको कतारी राजदूतावासले काठमाण्डौमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । रात्रिभोजमा उपस्थित नेपालका उपराष्ट्रपति रामसहायप्रसाद यादवले कतारी नागरिकलाई राष्ट्रिय दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा नेपालका लागि कतारी राजदूत मिशाल विन मोहमद अलअन्सारी पनि सहभागी हुनुहुन्थ्यो । उहाँले नेपाल र कतारबीच बलियो कूटनीतिक सम्बन्ध रहेको र यो सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो ।
राजदूत अलअन्सारीले कतारको विकास र समृद्धिमा नेपाली कामदारले पुर्याउँदै आएको योगदानको चर्चा पनि गर्नुभयो । यसै वर्षको अप्रिलमा कतारका अमिरले नेपालको ऐतिहासिक भ्रमणसमेत गर्नुभएको थियो । दुई देशका सरकारबीच सहयोगका लागि आठ समझदारीपत्र र सम्झौतामा हस्ताक्षर भएको साक्षी बनेको उहाँले जानकारी दिनुभयो ।
अहिले कतारमा झण्डै चार लाखको सङ्ख्यामा नेपाली कामदार छन् । कतारमा काम गर्ने विदेशी नागरिकमध्ये नेपालीको यो सङ्ख्या दोस्रो ठूलो मानिन्छ ।