अमेरिकाको लस एन्जलसको डढेलो आजदेखि थप तीव्र गतिमा फैलिने अन...
पुस २६, २०८१ शुक्रबार
यूएई – संयुक्त अरब एमिरेट्स (यूएई)मा अलपत्र परेका १२ नेपालीमध्ये ७ जना नेपाली घर फर्किएका छन् । कम्पनीले काम गरे बापतको तलब नदिएपछि खाना, बस्न समस्या भएकाले उनीहरु झण्डै तीन महिनादेखि अलपत्र थिए ।
नवलपरासीका गया चौधरी, सुनसरीका इन्द्र महतो, मोरङका सन्तोष गुरुङ, सानु राई, लालध्वज राई, काभ्रेका बमबहादुर तामाङ र अर्घाखाँचीका हरिप्रसाद गैरे फर्किएका हुन् ।
४ जना मंगलबार र ३ जना बुधबार नेपाल फर्किएका हुन् । समस्यामा परेका उनीहरुले यूएईमा रहेको नेपाली दूतावासमा निवेदन दिएको एक महिनापछि उद्धार भएको हो ।
काठमाण्डौं महाराजगञ्जमा रहेको नेगी इन्टरनेशनल ओभरसिज म्यानपावरमार्फत यूएईको एटोन कन्ट्र्याक्टिङ मेन्टिनेन्स् कम्पनीमा ९ महिना पहिले आएका उनीहरुमध्ये आबुधाबीको मुसाफा ८ नम्बर मजदुर क्याम्पमा ७ जना र बाँकी ५ जना दुबईमा थिए ।
दूतावासमा आफ्नो समस्या राख्न जाने पैसासमेत नभएकाले आफूहरु आबुधाबी जान नपाएको दुबईमा अलपत्र ५ नेपालीले बताएका छन् ।
दुबईमा अलपत्र ५ जना दूतावासभन्दा झण्डै १ सय ५० किलोमिटर टाढा छन् । सबैले राजीनामा बुझाएर बसेको पीडित शिशिर राईले बताउनुभयो । आफूहरु समस्यामा परेकोबारे आफ्ना आबुधाबीका साथीहरुले दूतावासमा जानकारी गराए पनि दूतावासले सम्पर्क नगरेको उनीहरुको गुनासो छ ।
आबुधाबीमा समस्यामा परेका ७ जनालाई नेपाल फर्काए पनि उनीहरुले काम गरेबापत पाउनुपर्ने रकमसमेत पाएका छैनन् ।
कम्पनीले १ महिनाको ८ सय दिर्हाम तलब दिए पनि दुई वर्षे करार अवधि पूरा नगरी फर्किन खोजेको भन्दै अन्यत्र काम गर्ने गाउँका साथीसँग ऋण लिएर घर फर्किएको मोरङका सन्तोष गुरुङले बताउनुभयो ।
फर्किएका ४ जनालाई कम्पनीले जरिवाना तिराएको र ३ जनालाई एक महिनाको तलवबाट कटाएर कम्पनीले हवाई टिकट उपल्बध गराएको हो । तर ६ महिनामा अतिरिक्त समय गरेको कामको पैसा पनि नदिएको अर्घाखाँचीका हरिप्रसाद गैरेले उज्यालोलाई बताउनुभयो ।
दूतावासका श्रम काउन्सिलर भेषबहादुर कार्कीले तत्काल कम्पनीसँग सम्पर्क गरी समस्या सुल्झाउन आग्रह गरे पनि रमादान पर्वका कारण थप एक महिना समय लागेको बताउनुभयो ।
फर्किएका पीडितहरुले म्यानपावर कम्पनीसँग क्षतिपूर्तिको माग गरेका छन् ।
उज्यालाे सहकर्मी उमाकान्त पाण्डे युएईमा बसेर पत्रकारिता गर्नुहुन्छ।