ग्लोबल आईएमई बैंकका कार्ड होल्डरलाई सेल्सबेरीमा १० प्रतिशतसम्म ...
चैत २१, २०८१ बिहिबार
म अहिले ३९ वर्षको भएँ । अहिलेसम्म बेरोजगार थिएँ । तर १५ दिन भयो मैले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत काम पाएको छु ।
पहिलो पटक काम गर्न पाउँदा खुशी लागेको छ । सधैं घरधन्दामा मात्र भुलिरहने मन अहिले पैसा आउने काम गर्न पाउँदा खुशी भएको छ । मेरा दुई बालबच्चा छन्। श्रीमान् सानोतिनो काम गर्नुहुन्छ ।
उहाँकै कामले घर चलेको थियो । केही महिनाअघि मैले गाउँमा बेरोजगार हुनेले कामका लागि आवेदन दिन पाउने भन्ने सुनें। त्यसपछि वडा कार्यालयमा गएर निवेदन दिएको थिएँ ।
काम पाइन्छ कि पाईंदैन भन्ने त ठेगान थिएन । तर मेरो नाम बेरोजगारको सूचीमा निस्किएछ । मैले १२ कक्षासम्म पढेको थिएँ । काम पनि राम्रो नै पाइयो । अहिले मलाई नगरपालिकाले वडाका सबै घरघरमा गएर पारिवारिक तथ्याँक लिने काम दिएको छ । घरघरमा पुग्दा हाँस्न, बोल्न पाइन्छ । रमाइलो हुन्छ ।
तर कतिले चाहिँ हामीलाई के दिने हो र सोधेको भन्ने जस्ता कुरा पनि गर्छन् । जे भए पनि काम पाउँदा निकै खुशी लागेको छ । एक महिनाको लागि मात्रै हो यो काम त । तर लामो समयलाई यो काम भइदिए हुन्थ्यो भन्ने लागेको छ । हाँस्दै हिँड्न पाइएको छ ।
गाउँका अरुले पनि हामीलाई पनि भन्नु पर्छ नि हामी पनि काममा जाने थियौं भन्छन् । मैले पनि अन्तबाटै थाहा पाएको थिएँ । काम पनि मिलिहाल्यो । अब सरकारले यो काम बढाउँदै लगे हुन्थ्यो । हामीजस्ता काम नभएर घरमै बस्नेहरुलाई सरकारले दिएको यो कामले खुशी मिलेको छ ।