पोर्चुगलमा सडकमै सुत्छन् नेपाली !

 मंसिर १०, २०७६ मंगलबार १३:३९:२२ | रासस
unn.prixa.net

भगवान गिरी/रासस ।

लिस्बन, पाेर्चुगल - नेपालबाट युरोप छिर्ने सपना धेरै नेपालीमा छ । जीवनलाई सफल बनाउन भन्दै युरोप छिर्ने नेपालीको सङ्ख्या पनि उत्तिकै बढ्दो छ । त्यसमा पनि युरोपेली देश पोर्चुगलमा आउने नेपालीको सङ्ख्या दैनिकजसो बढेको बढ्यै छ । उनीहरु सहजै रुपमा पाइने आवासीय अनुमति पत्र, नागरिकता र युरोपियन पासपोर्ट (रातो पासपोर्ट) का कारण पोर्चुगल आउने गर्दछन् ।

नेपालबाट सपना बुनेर पोर्चुगल आइपुगेकाको जीवन भने कष्टकर नै छ । साहुसँग चर्को ब्याजमा ऋण काढेर युरोप आएका तिनै नेपाली जागिरकै लागि दिनरात भौतारिनुपर्ने अर्को चुनौती पनि छ । पछिल्लो समय समस्यै समस्याका कारण नेपाली युवाको बास पोर्चुगलका मुख्य सडक बन्ने गरेको छ । तर यसप्रति कसैको चासो भने छैन् । सडक जीवन बिताउने नेपालीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको एनआरएनए पोर्चुगलका अध्यक्ष तिलक गैरेको भनाइ छ । 

उहाँका अनुसार गलत सङ्गत र धैर्य गर्न नसक्दा नेपाली युवाको वास सडकमा पुगेको हो । गलत सङ्गत र धैर्य गर्न नसक्दा नेपाली युवाको वास सडकमा पुगेको हो । ‘साथीभाइ पोर्चुगलमा यथार्थभन्दा धेरै ठूलो सपना बोकेर आउनुहुन्छ वा महत्वाकांक्षी सपना बुन्नु हुन्छ तर त्यस्तो खालको सोचाइ र सपना रातारात पूरा हुने अवस्था छैन, यहाँ मात्र होइन कहींँ गए पनि त्यस्तो हुँदैन । उहाँ भन्नुहुन्छ, 'सडकको बास नेपाली समुदायमा निकै जटिल समस्याको रुपमा देखापरेको छ । यसको समाधान चुनौतीको रुपमा देखा पर्न थालेको छ ।'

किन सुत्छन् सडकमा ?

कामका लागि भन्दै नेपालमा साहु महाजनसँग ऋण लिएर पोर्चुगल छिर्नेहरु काम नपाएर छटपटाउनुपर्ने विकराल समस्या पैदा भएको छ । विकृति, गलत सङ्गत, कुलत, महत्वाकांक्षा र अस्वभाविक सपना टुट्ने र फुट्ने हुँदै जीवन सडकको पेटीमा पुग्ने गरेको जानकारहरु बताउँछन् ।

पोर्चुगलको व्यस्त सडकमा सडक जीवन बिताइरहेका पोखरा र काठमाण्डौका दुई युवाले आफ्नो परिचय नखुलाउने सर्तमा आफ्नो पीडा सुनाउनुभयो । 'सपना ठूलो थियो । तर सपना देख्दादेख्दै सडकमा आइपुगेको पत्तै भएन्', उनीहरु भन्छन्, 'हामी सम्पन्न परिवारमा हुर्के बढेका । तर आज गलत सङ्गत र कुलतकै कारण सडकछापमा परिणत भयौं ।'

सडकमै खाने, सडकमै सुत्ने र सडकमै रमाउने उनीहरु नेपाल फर्किने सोचमा भने छैनन् । घरपरिवारबाटसमेत साथ पाउन छाडेका उनीहरुले नेपाल गएर पारिवारिक स्नेह र वातावरणमा सुध्रन्छु भन्ने आशा नरहेको गुनासो गर्छन् । मनोविज्ञानका ज्ञाता पनि परिवारले आफ्ना सन्तानको ख्याल नगर्दा कुलतमा फस्ने बताउँछन् । कुलत, डिप्रेसन अस्वथ्य र बैराग भएर सडक जीवन बिताउने नेपालीलाई उद्धार गर्नुपर्नेमा मनोविज्ञानका जानकार राज क्षेत्रीको भनाइ छ । 

सरोकारवाला उत्तिकै अग्रसर

सडकजीवन बिताइरहेका नेपालीप्रति नेपाली समुदाय र लिस्वनस्थित अवैतानिक वाणिज्यदूतावास निकै गम्भीर बनेको छ । समस्यामा परेका आफ्ना नेपालीलाई सहयोग गर्ने र नेपाल फर्कन चाहनेलाई नेपाल पठाएको तथ्याङ्क पनि वाणिज्य दूतावाससँग छ । कामको सिलसिलामा पोर्चुगल आउनेलाई ठूलो सपना नदेख्न र कूलतमा नफस्न लिस्बनका लागि अवैतानिक वाणिज्य दूत मकरबहादुर हमालको सुझाव छ । उहाँ समस्याको  समाधान र न्यूनीकरण गर्न आफूले यथाशक्य प्रयत्न गरिरेको बताउनुहुन्छ । 

एनआरएनए पोर्चुगल, नेपाली समाज र अवैतानिक वाणिज्यदूतावासको सामूहिक पहलमा सडकमा पुगेका नेपालीलाई उद्धार गर्न सकिन्छ । उनीहरुको अवस्थाबारे परिवारलाई जानकारी गराएर नेपाल फर्काउन वा सुधार केन्द्रमा पठाउन सकिने जानकारहरु बताउँछन् । समस्या समाधानको लागि उनीहरुलाई काउन्सिलिङ गर्ने, हेल्प डेस्क सञ्चालनमा  ल्याउने र पोर्चुगलको परोपकारी सङ्घ संस्थासँग समन्वय गरी उद्दार गर्न सकिन्छ । 

पोर्चुगलमा ३० हजार नेपाली

कुनैबेला रोजगारीका लागि छिमेकी देश भारत, मलेसिया, कतार, साउदी, दुवईलगायतका मुलुकमा पुग्ने नेपाली पछिल्लो समय पोर्चुगल आउन थालेका छन् । अहिले दैनिकजसो पोर्चुगलमा नेपाली आइरहेका छन् । त्यसैले पनि पोर्चुगलमा ३० हजार नेपाली बसोबास गरिरहेको अनुमान छ । 

रातो पासपोर्ट पाउने र सुविधायुक्त जीवनयापन गर्न पाइने भन्दै दिनप्रतिदिन यो सङ्ख्या बढ्दो छ । विशेषगरी कृषि र रेष्टुरेन्टमा काम पाइने हुनाले नेपालीको आकर्षण पनि बढेको जानकारहरु बताउँछन् । सन् २०१० देखि हालसम्म पोर्चुगलमा २९ जना नेपालीले अकालमा मृत्यु भएको तथ्याङ्क छ । 

3 Comments

  • Tulsi Giri

    Nov. 27, 2019, 1:50 p.m.

    मातृभूमीमा मेहनत गर्न लाज लाग्ने, छोटो समयमा धेरै पैसा कमाउन रहर गर्ने व्यक्तित्वहरु , आफूलाई युरोपमा काम गर्ने एनआरएन भनेर ठूला हुन खोज्ने नेपाली मानसिकता छताछुल्ल हुँदै गएको छ / यस्ता पढेका व्यक्तित्व सबैभन्दा पहिले आफुलाई चिनाउँ, मातृभूमीलाई चिनाउँ / यहि कुनै काम गरे इज्जतका साथ रहन पाइन्छ भन्ने मानसिकता विकाश गरौं / सबैलाई चेतना भया /

  • Kiran sapkota

    Nov. 27, 2019, 5:34 a.m.

    Hello namaste Sorry if its wrong information but the writer of this artical was forced to leave house because he always delayed to pay the rent. The owner given him notice to leave the house as soon as possible, I heared. May be it's about his future otherwise I have been here since last 5 years I never seen any nepalese people staying and sleeping In the street Thank you.

  • Hiramani adhikari` bibash

    Nov. 27, 2019, 12:59 a.m.

    तिलक गैरे एन आर एन पोर्चुगलको अध्यक्ष हुनुहुन्छ र उहाँले नै नेपालवाट सिजनल भिसामा ल्याएका २८ जना नेपालीको अवस्था कस्तो छ , के त्यसको खबर छ उहाँलाई ? उहाँ जस्तो लिडरले नै हो पोर्चुगलमा यो अवस्था आएको /नत्र यहाँका ९५ % एन आर एनका लिडर भनेका दलाल श्रमशोषक नै हुन् , उनिहरुले कहीले पनि नेपालीलाई सहयोग गर्दैनन...गरेपनि देखावटी मात्र / धन्यवाद /

तपाईको प्रतिक्रिया