सामाजिक सुरक्षा योजनाको एक वर्ष : एक लाख १५ हजार श्रमिक सूचीकृत

 मंसिर ११, २०७६ बुधबार ११:५२:५८ | उज्यालो सहकर्मी

काठमाण्डौ – योगदानमा आधारित सामाजिक सुरक्षा योजना घोषणा भएको दिनको सम्झनामा सरकारले आज सामाजिक सुरक्षा दिवस मनाउँदैछ ।

अघिल्लो वर्ष मंसिर ११ गते सरकारले नयाँ युगको सुरुवात भन्दै तामझामका साथ सामाजिक सुरक्षा योजना घोषणा गरेको थियो । सामाजिक सुरक्षा दिवसको अवसरमा शुभकामना दिँदै निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले आफू सधैं श्रमजीविको साथमा रहने बताउनुभएको छ ।

आफ्नै पसिना र पौरखमा बाँच्ने श्रमिकहरु र जोखिमपूर्ण जीवन र अनिश्चित भविष्यका साथ काम गरिरहेकाहरुको सहारा सामाजिक सुरक्षा योजना भएको भन्दै उहाँले यसको सफलताका लागि सधैं आफू श्रमिकको साथमा रहने प्रतिबद्धता जनाउनुभएको छ ।

सबै श्रमिकलाई समेट्ने भन्दै सरकारले ल्याएको यो योजनामा अहिलेसम्म १० हजार ४ सय ७७ रोजगारदाता र १ लाख १५ हजार ६ सय ६ श्रमिक सूचीकृत भएका छन् ।

कोषमा सूचीकृत हुने श्रमिकले दुर्घटना बीमादेखि पेन्सनसम्म पाउने व्यवस्था कोषले गरेको छ । कोषमा सूचीकृत दुई योगदानकर्ताका परिवारले सेवा पनि लिन थालिसकेका छन् । कोषमा सूचीकृत योगदानकर्ताको तलबबाट रोजगारदाताले न्यूनतम तलबको ११ प्रतिशत रकम कट्टा गर्नेछन् । र श्रमिकको न्यूनतम तलबको २० प्रतिशत रोजगारदाताले थप गरी जम्मा ३१ प्रतिशत रकम कोषमा जम्मा गर्नुपर्छ । 

जम्मा भएको रकमबाट औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाका लागि १ प्रतिशत, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाका लागि १ दशमलव ४० प्रतिशत, आश्रित परिवार सुरक्षा योजनाका लागि शून्य दशमलव २७ प्रतिशत र बाँकी २८ दशमलव ३३ प्रतिशत वृद्ध अवस्था सुरक्षाका लागि विभाजन हुन्छ । 

सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपैंया तोकेको छ । उदाहरणको लागि श्रमिकको तलब १३ हजार ४ सय ५० रुपैयाँ छ भने उसको तलबबाट १ हजार ४ सय ७९ रुपैंया ५० पैसा काटिनेछ ।

त्यसमा रोजगारदाताले २ हजार ६ सय ९० रुपैंया थप्नेछन् । अब सामाजिक सुरक्षा कोषमा श्रमिकको मासिक योगदान ४ हजार १ सय ६९ रुपैंया ५० पैसा हुनेछ । यही रकमबाट सरकारले बिभिन्न स्किममार्फत श्रमिकलाई सहयोग उपलब्ध गराउँछ ।

यस्ता छन् कोषबाट पाइने सुविधा :

कोषले अहिले चारवटा योजना अन्र्तगत योगदानकर्तालाई सुविधा दिइरहेको छ । 

औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना

यस योजना अन्तर्गत कोषमा कम्तीमा तीन महिना योगदान गर्ने योगदानकर्ताले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा सम्बन्धी सुविधा पाउनेछन् । यस्तो सुविधा कुनै योगदानकर्ताले योगदान गर्न छाडेको तीन महिनाको अवधिसम्म रहन्छ । 

औषधी खर्च, अपरेशन खर्च, डाक्टरको परामर्श सेवा बापतको खर्च, अस्पताल भर्ना भएको खर्च र ल्याब परीक्षण बापतको खर्चका लागि पनि कोषबाट रकम पाइन्छ।

अस्पतालमा गएर उपचार गराउँदा १ लाख रुपैयाँको बराबरको उपचार खर्च पाइन्छ । त्यसमा ८० हजार कोषले र २० हजार आफैंले योगदान गर्नुपर्ने व्यवस्था छ ।

यसैगरी, अस्पताल नगई घरमै उपचार गराउँदा पनि उपचार खर्च पाउँने व्यवस्था पनि छ । त्यस्तो अवस्थामा डाक्टरको परामर्श खर्च, औषधि, ल्याब परीक्षण खर्च पाइने व्यवस्था हुनेछ । यसका लागि वर्षमा २५ हजार रुपैयाँ पाइने छ ।

२५ हजारमा २० हजार कोषले दिने र ५ हजार आफैंले योगदान गर्नुपर्ने व्यवस्था छ । श्रमिक वा उसको परिवार यदि पुरुष छ भने पत्नीको नियमित गर्भ परीक्षण, अस्पताल भर्ना, सुत्केरी खर्च, अपरेशन तथा तीन महिनासम्मको शिशुको उपचारबापतको खर्च पनि कोषबाट पाउने व्यवस्था छ । 

सुत्केरी हुँदा ६० दिन तलबी बिदा पाइने र ६१ दिनदेखि ९८ दिनसम्म बेतलबी बिदा पाइने व्यवस्था भए पनि योगदान गर्ने श्रमिकले ६१ दिनदेखि ९८ दिनसम्मको अवधिमा योगदानकर्ताको न्यूनतम तलबको आधारमा ६० प्रतिशत तलब दिने व्यवस्था छ ।

दुर्घटना तथा अशक्तता सुरक्षा योजना 

सामाजिक सुरक्षा कोषमा सूचीकरण भै कोषले योगदान लिन सुरु गरेको मितिदेखि यो व्यवस्था लागू हुने व्यवस्था छ । योगदान गर्न छाडेपछि यो सुविधा पाईंदैन । 

दुर्घटनामा परेका श्रमिकले अधिकतम ७ लाख रुपैयाँ पाउने व्यवस्था छ । योगदानकर्ता रोजगारीजन्य दुर्घटनामा परी वा व्यवसायजन्य रोगको उपचार गर्दा लाग्ने सम्पूर्ण खर्च योगदान गरेको मितिदेखि लागू हुनेछ ।

रोजगारीजन्यबाहेक अन्य दुर्घटना भएको अवस्थामा कोषले अधिकतम ७ लाख रुपैयाँसम्मको उपचार खर्च व्यहोर्नेछ । तर, प्राकृतिक विपत्ति वा सडक दुर्घटना भएकोमा वा अन्य बीमा प्रणालीबाट सुविधा पाउने अवस्थामा सामाजिक सुरक्षा कोषले कुनै खर्च नब्यहोर्ने स्पष्ट भनिएको छ । कामदारको बीमा बापतको रकम दिनुपर्ने रोजगारदाताको बाध्यकारी अवस्था यो व्यवस्थाले हटाएको छ । 

रोजगारीजन्य दुर्घटना वा व्यवसायजन्य रोगको कारण अस्थायी पूर्ण असक्षमता भएकोमा आधारभूत पारिश्रमिकको ६० प्रतिशत बराबरको रकम मासिक रूपमा श्रमिक काममा नफर्कंदासम्म पाउनेछन् ।

यसमा असक्षमता प्रतिशतको आधारमा प्रदान गरिने निवृत्तिभरण रकममा विमाङ्कीको प्रतिवेदनको आधारमा सञ्चालक समितिले निर्धारण गरे बमोजिमको दरले मुद्रा स्फिति समायोजन गरिने बुँदा थप गरिएको छ ।

आश्रित परिवार सुरक्षा योजना

यो योजना अन्तर्गत जुनसुकै कारणबाट योगदानकर्ताको मृत्यु भएमा निजको पति वा पत्नीले योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको साठी प्रतिशतको दरले निजले जीवनभर निवृत्तिभरण पाउने व्यवस्था मिलाइएको छ  ।

तर योगदानकर्ताको पति वा पत्नीले अर्को विवाह गरेमा वा वैकल्पिक रोजगार रहेको अवस्थामा भने यो सुविधा पाइने छैन । तर त्यस्तो व्यक्तिको रोजगारी समाप्त भई वृद्धावस्था अन्तर्गतको निवृत्तिभरण प्राप्त गर्ने अवस्था नरहेमा कोषमा निवेदन दिई यस परिच्छेद बमोजिमको निवृत्तिभरण सुविधा माग गर्न सकिनेछ ।

निवृत्तिभरण रकममा बिमाङ्कीको प्रतिवेदनको आधारमा सञ्चालक समितिले निर्धारण गरे बमोजिमको दरले मुद्रास्फीति समायोजन गरिनेछ ।

यस्तै योगदानकर्ताको मृत्यु भएको अवस्थामा निजको अठार वर्ष उमेर पूरा नभएको सन्ततिले शैक्षिकवृत्ति वापत योगदानकर्ताको अन्तिम आधारभूत पारिश्रमिकको चालीस प्रतिशत रकम मासिक रुपमा पाउनेछ । तर एकभन्दा बढी सन्तति सुविधा पाउने अवस्थाको भएमा आधारभूत पारिश्रमिकको साठी प्रतिशत रकमलाई दामासाहीले प्रदान गरिनेछ । 

यदि कुनै सन्तति निरन्तर अध्ययनरत रहेमा त्यस्तो सुविधा एक्काईस वर्षको उमेर पूरा नभएसम्म प्रदान गर्न सकिनेछ । तर उसको विवाह भएमा वा अध्ययन पूरा भएमा त्यस्तो सुविधा प्रदान गरिने छैन ।

तर कुनै सन्तति शारीरिक वा मानसिक रुपमा काम गर्न असक्षम भएमा त्यस्तो सन्ततिको हकमा उमेरको हद लागू हुने छैन । यस्तै योगदानकर्ताको एकाघरको पति वा पत्नी वा छोरा वा छोरी नभएको तर निजसँग आश्रित बाबु आमा रहेछन् भने निजहरुलाई योगदानकर्ताको आधारभूत पारिश्रमिकको ६० प्रतिशत रकम निजहरुको जीवनकालभर मासिक रुपमा प्रदान गरिनेछ ।

तर बाबु आमा दुवै जीवित भएमा दुवैलाई दामासाहीले सुविधा प्रदान गरिनेछ । तर उनीहरुको वैकल्पिक रोजगार रहेको वा निजले अन्यत्रबाट यसमा लेखिएको भन्दा बढी सुविधा पाउने रहेछ भने यो सुविधा पाउने छैन । 

यही योजना अन्तर्गत जुनसुकै कारणले योगदानकर्ताको मुत्यु भएमा वा कुनै योगदानकर्ता स्थायी, अस्थाई असक्षमता भई लामो समय सुविधा पाएपछि मृत्यु भएमा निजको अन्तिम संस्कारको लागि निजको नजिकको आश्रित परिवार सदस्य वा हकवालालाई २५ हजार रुपैयाँ एकमुष्ठ उपलब्ध गराउने व्यवस्था छ । 

वृद्ध अवस्था सुरक्षा योजना

कोषमा सूचीकरण भै कोषले योगदान लिन सुरु गरेको मितिदेखि यो योजनामा सहभागी हुन पाइन्छ । आधारमा श्रमिकले उपदान लिने कि पेन्सन लिने भनेर आफैंले छान्न सकिन्छ ।

कुनै योगदानकर्ताको सुविधा प्राप्त गर्ने उमेर नपुग्दै मृत्यु भएमा निजको हकवालालाई निजले कोषमा गरेको योगदान, रोजगारदाताको तर्फबाट भएको योगदान र कोषको लगानीबाट प्राप्त प्रतिफल समेत जोडी हुन आउनेकूल योगदान रकम पाउने व्यवस्था गरेको छ ।

निवृत्तभरण प्राप्त गर्न योगदानकर्ताको उमेर ६० वर्ष पूरा भएको र कम्तीमा १८० महिना योगदान गर्नु पर्छ ।  तर ६० वर्ष नपुगी योगदान रकमको उपभोग गर्न पाउने भएकाले धेरैले असन्तुष्टी पनि जनाइरहेका छन् । 

सरकारले सामाजिक सुरक्षा योजनाको घोषणा गरेको मितिदेखि नै कोषमा सूचीकरणका लागि आह्वान गर्दै भएको छ । सूचीकृत हुनका लागि दुई पटक समय थपिएको छ । आउँदो १४ गते सरकारले सूचीकरणका लागि दिएको समय सकिंदैछ  । 

रोजगारदाता र श्रमिकसम्बद्ध निकायसँग छलफल गरी सरकारले रोजगारदाता र श्रमिकको गुनासो सम्बोधन गर्ने प्रयास गरिरहेको कोषले जनाएको छ । 

कोषप्रति आकर्षण बढाउन र योजनामा सबै श्रमिकलाई समेट्न कोषले योगदानकर्तालाई घर, शैक्षिक तथा सामाजिक ऋण दिने तयारी छ । ऋण ५ लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्म दिन प्रस्ताव गरिएको छ । 
 

तपाईको प्रतिक्रिया