मलेसियामा पनि लकडाउन छ, जोखिबाट बच्न सुरक्षा सतर्कता अपनाऔं

 चैत ११, २०७६ मंगलबार १५:४:३७ | मेरो कथा मेरो भोगाई

सुनाखरी मगर/मलेसिया ।

म अहिले मलेसियामा छु । नेपालमा घर सुर्खेत हो । ९ वर्ष भयो मलेसिया आएको पनि । मलेसियामा उपलब्ध हुने प्रत्येक औषधि मा प्रयोग हुने स्टिकर उत्पादन गर्ने कम्पनी काम गर्छु ।

त्यसैले पनि अहिले कामको चाप बढी छ । मलेसियामा कोरोना सङक्रमितको सँख्या बढ्दै जाँदा यहाँ कार्यरत हामीलाई जोखिमबाट बच्न चुनौती छ । झन म त अहिले मलेसिया सरकारले रेड जोन तोकेको ठाउँतिर छु । त्यसैले पनि कोरोनाको जोखिमबाट बच्न उच्च सर्तकता अपनाउनपर्छ ।

अहिले यहाँ लक डाउन छ । १८ मार्च देखि ३१ मार्च अथवा चैत १८ गतेसम्मलाई यहाँको सरकारले मलेसिया लकडाउन गरेको छ । लकडाउन भए पनि औषधि र खाद्यान्न किनमेल गर्नलाई भने रोकिएको छैन ।

तर एकदम कडा निगरानी गरिरहेको छ । मैले काम गर्ने कम्पनी लगायत अन्य धेरै कम्पनीमा भने काम चलिरहेको छ भने कतिपय कम्पनी बन्द अवस्थामा छन् । कतिपय कम्पनीले काम गर्ने समय घटाएर थोरै काम पनि गराइरहेको छन् ।

मलेसिया सरकारले अस्पताल, क्लिनिक, सुपरमार्केट र खाद्यान्न पसल बाहेक सबै किसिमको उद्योग, कार्यालय र धार्मिक गतिविधि हुने कार्यक्रम बन्द गर्न आग्रह गरेको छ । तर पूर्ण रुपमा बन्द नभई थुप्रै कम्पनीहरु निरन्तर रुपमा चलिरहेको छ । यसमध्ये खाद्यान्न,औषधि जस्ता कम्पनी खुल्ला छन् भने कतिपय यस्तो अबस्थामा बन्द गर्न मिल्ने कम्पनी पनि चालू अवस्थामामै छन् । कम्पनीमा कार्यरत श्रमिकहरु सामान्य मास्क लाएर काम गरिरहेका छन् ।

यस्तो अवस्थामा मलेसियामा रहेका नेपाली श्रमिकले शंका लागेको अवस्थामा नडराई नजिकैको अस्पतालमा गएर जाँच गर्न र भाइरसबाट जोगिनलाई अनावश्यक रुपमा भेटघाट बाहिर हिँडडुल कम गर्न अनि निस्कनै परे मास्क प्रयोग अनिवार्य गर्नुहोला । मैले पनि गरिरहेको छु । अहिलेसम्म नेपालीलाई कोरोनाको सङ्क्रमण त भएको छैन तर जोखिम बढ्दो छ ।

हामीजस्तो कम्पनीमा काम गर्नेहरुलाई भन्दा पनि सुरक्षा गार्डमा काम गर्नेलाई जोखिम बढी छ । त्यसैले यस्तो अवस्थामा डराउनेभन्दा पनि आत्मविश्वासका साथ जोखिमसँग लड्ने हो र सुरक्षा सतर्कता अपनाउनु पर्छ । यहाँको सरकारले जारी गरेको सुरक्षा सतर्कता पालना पनि गर्न पर्छ । यस्तो बेला परदेशमा हुने हामी सबै आफूू पनि जोगिऔं र अरुलाई पनि जोगाउँ ।

तपाईको प्रतिक्रिया