‘यूएईमा म ठिक छु, घरमा बुवाआमालाई पनि नआत्तिनुहोस् भनेर सम्झाउँछु’

 चैत १५, २०७६ शनिबार १९:६:५ | मेरो कथा मेरो भोगाई

नवराज ढकाल, धनकुटा /हाल, यूएई ।

अहिले संसारभरी कोरोनाको त्रास छ । झन् घर परिवार र देशभन्दा टाढा परदेशमा हुँदा सुरुमा त अलि डर र असुरक्षित महसुस भएको थियो । तर अहिले अलि डर कम भएको छ । सबैभन्दा ठूलो कुरा त आफूले अपनाउने सुरक्षा सतर्कतामा मैले कुनै सम्झौता गरेको छैन । 

म सन् २०१३ देखि यूएईमा काम गरिरहेको छु । पहिले सुरक्षा क्षेत्रमा काम गर्थें । गएको सालदेखि इतिहाद एवरवेजमा कार्गो तथा लोजिस्टिक बिभाग अन्तर्गत  ‘रोड क्रु’ को रुपमा अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलमा काम गरिरहेको छु  । विमानस्थलमा काम गर्ने भएपछि धेरै मानिसको आवतजावत हुन्छ । थरिथरीका मानिससँग सिधा सम्पर्क हुन्छ । त्यस कारणले पनि पहिले असुरक्षित महसुस गरेको थिएँ । तर अहिले परिस्थिती फरक छ ।

विश्वभरी नै कोरोना सङक्रमितको सङ्ख्या बढ्दै जाँदा सुरक्षा सतर्कता पनि हरेक देशले बढाउँदै लगेका छन् । अहिले यूएईमा पनि अर्को सुचना जारी नभएसम्मका लागि आकश्मिक बाहेकका यात्रु ओसार्ने सबै जहाजहरु बन्द गरिएका छन् । पहिलेजस्तो विभिन्न ठाउँबाट आएका यात्रुसँगको सिधा सम्पर्क अहिले बन्द भएको छ ।
कार्यस्थलमा भेटिने अन्य कामदारसँगको सम्पर्क पनि पातलो भएको छ ।

अर्को महत्वपूर्ण कुरा आफ्नो स्वास्थ्यमा ध्यान दिन भनेर एअरवेजको आग्रह बमोजिम धेरै सुरक्षा सतर्कता र साबधानी अपनाएको छु । जस्तो कि कार्यस्थलमा ओहोरदोहोर गर्दा मास्क तथा पञ्जा लगाउने, कुनै सामान छोइसकेपछि  साबुनपानीले राम्रोसँग हात धुने, स्यानिटाईजरको प्रयोग गर्ने, व्यक्तिगत दूरी राखेर कुरा गर्ने । 

संसारभरीको परिस्थिती अप्ठेरो छ । मसहित थुप्रै जना घर छाडेर यतिबेला परदेशमा पसिना बगाइरहनुभएको छ । कतिलाई अप्ठेरो पनि भएको होला । तर अहिलेसम्म समग्रमा मैले चाहिँ त्यस्तो असहज परिस्थिती केही पनि भोग्नु परेको छैन । कामको कार्यतालिका तथा समयमा केही हेरफेर भएको छ । बाँकी समय यूएई सरकारको आग्रहलाई स्वीकार गर्दै आफ्नै अपार्टमेन्ट भित्रै बसेको छु । 

केही दिनअघि यहाँका सबै सपिङ मलहरु बन्द गरिने समाचार आउनासाथ अलि हतोत्साहित भएँ । लगत्तै नजिकैको लुलु हाईपरमार्केट गएर दुई हप्ता जतिलाई पुग्ने खाद्यान्नको जोहो गर्न ३ घण्टाजति लाईनमा बस्नु पर्‍यो । तर अहिले बुझ्दा लुलु, क्यारिफोर जस्ता यूएईका सपिङ सेन्टरहरु सामान्य रुपमा खुलिरहेकै रहेछन् । खानेकुरादेखि सबै सामानहरु अघिपछिजस्तै पाइएको छ । 

घरमा दिनहुँ जस्तो फोनमा बोल्छु  । यूएईमा नेपाली श्रमिकलाई पनि कोरोनाको सङ्क्रमण देखियो भन्ने खबर सुन्दा बुवाआमाले चिन्ता लिनुहुन्छ । तर मैले उहाँहरुलाई सम्झाउने गरेको छु । पहिलो कुरा त मलाई यो विश्वास छ कि सुरक्षा सतर्कता अपनाउँदा केही हुँदैन । म ढुक्क यस हिसाबले पनि छु कि नेपालमाभन्दा यहाँ राम्रा अस्पताल छन् । उपचार पद्धती राम्रो छ ।

यहाँको सरकारले पनि कोरोना सङ्क्रमितको उपचारमा कुनै कसर बाँकी राखेको छैन । अनुभवी तथा प्रतिष्ठित डाक्टरहरु छन । त्यसैले यदि मलाई केही भैहाल्यो भने पनि यहाँ त राम्रो उपचार हुन्छ । नपत्याए हिजो अस्ति सङक्रमित दुई नेपाली पनि त निको भइसके भनेर उहाँहरुलाई सम्झाउछु । साथै अहिले नेपालमा सरकारले कोरोना सङ्क्रमण रोकथामका लागि लकडाउन गरेको छ । यसबेला बाहिर नजानुहोस्, भिडभाडमा नजानुहोस्, आफ्नो सरसफाइमा ध्यान दिनुहोस् भन्ने गरेको छु । 

यूएईमा रहनुभएका अन्य नेपाली समुदायलाई पनि कसैले कोरोनाको बारेमा अफवाह नफैलाउन, नडराउन, यूएई सरकारको आग्रहलाई पालना गर्न, अत्यावश्यक भन्दा आफ्नो कोठाबाट बाहिर ननिस्कन र आफ्नो स्वास्थ्यको ख्याल गर्न अनुरोध गर्छु । 
 

तपाईको प्रतिक्रिया