रेमिट्यान्सको स्वाद मिठो मान्ने सरकारले हामीलाई पैसा कमाउने औजारको रुपमा नलियाेस्

 बैशाख १, २०७७ सोमबार १४:५४:३९ | मेरो कथा मेरो भोगाई

लेखनाथ सुवेदी,रुपन्देही / हाल पोर्चुगल ।

नेपालमा अहिले नयाँवर्षको उल्लास छाइरहेको होला । नयाँ वर्षको दिन साथीभाइ र घरपरिवारसँगै रमाएका पलहरु झल्झली दिमागमा आउँछन् । तर प्रवासमा रहने हामी नेपालीहरुको लागि आफ्नो घरदेश सम्झेर यादमा डुब्नुबाहेक अरु के नै हुन्छ र ।

म अहिले सात समुन्द्र पारि कोरोना संक्रमण फैलिरहेको एक सहरमा छु । प्रवासमा जतिसुकै सुरक्षित रुपले बसेको महसुस गरे पनि, जति हाँसेको देखिए पनि  वास्तविकता फरक नै हुदो रहेछ ।  

यो समयमा परदेशमा रहनुभएका साथीभाइहरुलाई एक्लो महसुस त हुन्छ होला । घरको न्यास्रोले सताउछ होला तर यस्तो बेला सबैजना आफ्ना नजिक रहेका साथीहरूको सम्पर्कमा रहनुहोला भन्न चाहन्छु ।

परदेशको साथी भनेकै आत्मविश्वास हो । त्यसैले आत्मबल र सकारात्मक सोचाइको विकास गर्नुहोला । हरेक समस्याबाट जुध्न मानसिक रूपमा तयार रहनुहोला । आत्मबल र आत्मविश्वास भन्ने चिज संसारको सबैभन्दा ठूलो औषधि हो भन्ने सन्देश पनि दिन चाहान्छु ।

अहिले विश्वभरी कोरोना भाइरसको महामारी फैलिरहेको छ । वैदेशिक रोजागारीको क्रममा लाखौं नेपाली दाजुभाइहरु परदेशमा छौं । हामीहरु सबै यस महामारीको चपेटामा परेका छौं ।

कतिपयको त रोजगारी पनि गुमिसकेको छ भने कतिपय डरै डरको स्थितिमा काम गर्न बाध्य छन् । विभिन्न देशमा कोरोना सङ्क्रमणले धेरै नेपालीहरुलाई पनि छोइसकेको छ । अहिले धेरै परदेशी नेपालीहरुको दुःख पीडा एउटै छ । कति नेपालीहरु स्वदेश फर्किन चाहेर पनि फर्किन नपाएको अवस्था छ ।

विश्वका धेरै देशहरुले परदेशमा रहेका आफ्ना नागरिकहरुलाई खोजीखोजी स्वदेश फर्काएका छन् । नेपालमा रहेका विदेशी नागरिकहरुलाई पनि ती देशको सरकारले जहाज चार्टड गरेर आफ्नो देश लगिसकेको छ । तर हामी परदेशमा रहेका नेपालीलाई हाम्रो देशले कहिले लिने हो थाहा छैन ।

यस्तो बेला नेपाल सरकारले परदेशमा रहेका आफ्ना नागरिकको बारेमा सोच्नुपर्ने हो । स्वदेश फर्किने बाटो बनाउनुपर्ने हो तर केही पनि गरेको छैन । हामीलाई पनि त समस्याको बेला घर फर्किने मन हुन्छ होला नि ।

घरपरिवारको माया कसलाई पो हुदैन र । घरपरिवार र जन्मभूमिको माया के हो भन्ने त महाकाली तरेर आफ्नो घर फर्किएकाहरु र सीमानामा बसेर भोकै हारगुहार गरिरहेका आवाजहरुले बताइ सकेको छ । यस्तो अवस्थामा पनि सरकारले आफ्ना नागरिकको खोजी नगर्नु  अत्यन्तै  दुःखको विषय हो । 

देशमा बाढी, पहिरो, महामारी, भुकम्प जस्ता विपत्ति आउँदा हेरेक पटक प्रवासी नेपालीहरुले लगाएको गुनलाई सरकारले बिर्सिनु हुदैन । घरको आर्थिक संकट टार्न अर्काको देशमा काम गर्ने र कोरोनाको कोसेली लिएर घर फर्किने रहर कसलाई हुन्छ होला र ? सरकारले यो कुरा बुझिदिनुपर्यो । 

जहाँ हुनुहुन्छ त्यही सुरक्षित भएर बस्नुस् भन्दैमा के आफ्ना नागरिकप्रतिको राज्यको दायित्व पुरा हुन्छ र ? बरु भनेजति क्वरेन्टीनमा बस्न तयार छौं । हामी आफ्नै खर्चमा देश फर्किन्छौं, हामीलाई हामीलाई देश फर्किने  वातावरण मात्र मिलाइयोस् ।

रेमिट्यान्सको स्वाद मिठो मान्ने सरकारले हामीलाई पैसा कमाउने औजारको रुपमा नलगोस् । सरकार प्रवासीहरुको सुख दुःखको असल सहयात्री पनि बनोस् । 

देश विदेशमा रहनुभएका सम्पुर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुमा नयाँ वर्ष २०७७ सालको हार्दिक शुभकामना । 

 

 

1 Comments

  • Khem raj poudel

    April 13, 2020, 4:13 p.m.

    एक जिम्मेवार नागरिककाे हैसियतले तपाईकाे देश प्रेमकाे भावनालाई उच्च सम्मान गर्नै पर्छ, तर विडम्बना नै भनुम नागरिकप्रति सरकारकाे जिम्मेवारी लक डाउन गरिएकाे छ जाे जहाँ हुनु हुन्छ सुरक्षित रहनु हाेला भन्ने शिवाय अरू प्रभावकारी कदम चालेकाे देखिएन, तपाईले भने जस्तै उच्च मनाेवलकासाथ बस्नु नै हामी सबैकाे एकमात्र विकल्प भएकाे छ । जय पशुपतिनाथ 🙏🙏🙏 हामी सबैकाे रक्षा गर !

तपाईको प्रतिक्रिया