‘विदेशमा समस्या भएको छ ? सम्पर्क गर्नुहोस्, समाधान हुन्छ’

 बैशाख ९, २०७७ मंगलबार १३:२३:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

खाडीका देश र मलेसियामा रहेका नेपाली दूतावासका अनुसार अहिलेसम्म ती देशमा ७९ जना नेपालीमा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ । कोरोनाको जोखिम बढेसँगै ती देशमा कार्यरत लाखौं नेपालीलाई यतिबेला स्वदेश फर्कन मन छ ।

परदेशमै बसौं जोखिम छ, स्वदेश फर्कौं बाटो बन्द छ र बाटोमा झन् ठूलो जोखिम छ । कोरोनाले काम बन्द भएको छ । क्वारेण्टीनमा बस्दा विभिन्न समस्या पनि थपिएका छन् । यिनै अवस्था र समस्याबारे परदेशबाट तपाईँले पठाउनुभएका प्रश्न र जिज्ञासा हामीले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव विनोद के.सी.लाई सोधेका छौं ।


कुवेतबाट बिष्णुप्रसाद न्यौपानेले सोध्नुभएको छ : कोरोनाका कारण कम्पनी बन्द भएको छ । काम गर्ने सबैलाई बेतलबी बिदा दिएको छ । कोठामा बस्न थालेको महिना दिनभन्दा धेरै भयो । यसरी बेतलबी बनेर कति दिन बस्न सकिन्छ ? यस्तै समस्या भएका यो कम्पनीका हामी १२ जना नेपाल फर्कने आशामा छौं । हामीजस्तो समस्यामा परेकालाई उद्धार तथा सहयोगका लागि सरकारले के गरिरहेको छ ? हामीले कस्तो सहयोग पाउँछौं ?

प्रश्नको लागि धन्यवाद । श्रम मन्त्रालयले परराष्ट्र मन्त्रालयको समन्वयमा गन्तव्य देशमा रहेका नेपाली दूतावाससँग सम्पर्कमा छौं । त्यहाँको जानकारी लिइरहेका छौं । हरेक दिन कुन देशमा के भयो भनेर विवरण प्राप्त गरिहेका छौं । अहिले लकडाउनको अवस्था छ । नेपालमा मात्र होइन, तपाईँ रहेका देश मात्र पनि होइन, संसारका देश जहाँ कोरोना पुगेको छ, त्यहाँ लकडाउनको अवस्था छ । 

तर कतिपय नेपाली दाजुभाइले ती देशले जारी गरेका नियम नमान्ने, बाहिरफेर हिँड्ने गरेको पनि पाइयो । त्यसो नगर्नुहोस् भन्न चाहन्छु । अब खान बस्नै समस्या भएको अवस्थामा, त्यहाँ यस्तो समस्या हुनेलाई दूतावासमार्फत व्यवस्था गर्ने गरी हामीले निर्देशन दिएका छौं । तपाईँलाई समस्या पर्दा दूतावासले खान, बस्नको व्यवस्था गर्छन् । रकमको अभाव पर्दैन ।

कम्पनीले बेतलबी बिदा दियो भन्नुभयो, त्यो कुरा हामी दूतावासमार्फत बुझ्छौं । यस्तो हुँदा दूतावासमा कम्पनीको नाम र सम्पर्क ठेगानासहित टिपाउनुहोला । र अवस्था सुध्रँदै गएपछि कस्ता व्यक्तिलाई तत्काल उद्धार गर्न पर्ने छ, कतिले त्यही बसेर पनि फेरि काम गर्न सक्नुहुन्छ भनेर हामी छलफलमा छौं । 
तर यो तत्काल त होइन । अवस्था समान्य हुँदै गएपछिको अवस्थामा हो । सर्वोच्च अदालतले पनि पनि विदेशमा समस्यामा पर्नेलाई ल्याउनु भनेर आदेश आएको छ । 

त्यसरी ल्याउँदाखेरी नेपालमा पनि तयारी गर्नपर्छ । अहिले लकडाउनको अवस्था छ । फेरि सानो सँङ्ख्या होइन । विदेशबाट ल्याएर क्वारेण्टीनमा राख्न र गाउँगाउँ पुर्‍याउन पनि असहज छ । रोजगारी गुमाएका व्यक्तिलाई सरकारसँग कुरा गरेर हुन्छ कि, रोजगारदाता कम्पनीसँग कुरा गरेर हुन्छ कि, हामी पहल गर्छौं । किनभने केही कमाउन भनेर जानुभएको छ भने फेरि पनि काममा फर्कन सकिने अवस्था आयो भने त्योभन्दा राम्रो केही पनि हुँदैन । 

अर्को कुरा डब्लुएचओको मापदण्ड पनि छ, आफनो देशभित्र भएका विदेशी नागरिकलाई  पनि आफ्नै नागरिक सरह उपचार गर्नुपर्छ भनेर । हामीले आइएलओसँग पनि कुरा गरिरहेका छौं । सम्माननीय प्रधानमन्त्रीज्यूले ती देशका प्रतिनिधिसँग कुराकानी गर्नुभएको छ । परराष्ट्र मन्त्रीज्यूले पनि गर्नुभएको छ । कुटनैतिक हिसाबले पनि समस्या समाधानमा पहल भइरहेको छ । त्यस्तो ज्यादै मर्कामा परेको अवस्थामा राज्यले केही न केही उपाय त गरिनै हाल्छ नि । तपाईँहरु नआत्तिनुहोस् । धैर्य गर्नुहोस् ।

साउदीबाट लेखनाथ पौड्यालको गुनासो छ : नेपाली दूतावासले फोन नै उठाउँदैनन् ? हाम्रो समस्या कहाँ राख्नु ? 

यस्ता गुनासाहरु आएका छन् । तपाईँले अब आफ्नो टेलिफोन नम्बर पनि टिपाउनुभयो भने म दूतावासमार्फत तपाईँको समस्या समाधानका लागि पहल गर्ने थिएँ । तपाईँले मात्र होइन, विदेशमा हुने सबैले आफूलाई परेको समस्या श्रम मन्त्रालयको कल सेन्टरको सम्पर्क नम्बर ११४१ मार्फत सिधै हामीलाई पनि भन्न सक्नुहुन्छ । त्यस्तो हुँदा परराष्ट्र मन्त्रालयमार्फत हामी दूतावाससँग कुराकानी गर्ने थियौं । तपाईँले दूतावासमा फोन कुन समयमा गर्नुभयो त्यो कुराको पनि ख्याल गर्नुपर्छ । उपयुक्त समयमा टेलिफोन गर्दा अझ सहज हुन्छ । 

दूतावासको फोन उठेन भने कलसेन्टरमा फोन गर्नुहोस् । भाइबर, फेसबुकबाट पनि श्रम मन्त्रालयको कल सेन्टरमा आफ्नो गुनासो राख्न सक्नुहुन्छ । हामीले विज्ञप्ती नै निकालेर पनि भनेका छौं कि जसलाई जे सम्स्या पर्छ कलसेन्टरमा फोन गरेर पनि आफ्नो समस्या राख्नुहोस् भनेर । यस्तो अवस्थामा तपाईँहरुको समस्या कसरी फुकाउन सकिन्छ त ? परिवारसँग समन्वय गरेर सकिन्छ कि, मिसनको मानिसलाई भनेर सकिन्छ कि रोजगारदातासँग पो छलफल गर्नुपर्ने हो कि ? या परराष्ट्रमार्फत सकिन्छ कि हामी आवश्यक पहल चाल्छौं । 

धेरै श्रमिकहरुको समस्या समाधान पनि भएको छ । अर्कोतर्फ साउदी सरकारले पनि विभिन्न प्याकेजहरु ल्याएको छ । रोजगारदाताहरुलाई श्रमिकलाई बिना तलब नराख्नु भनेर भनेको छ । त्यस्तो अवस्थामा कम्पनी यो हो यसले यसो गर्‍यो भनेर उजुरी गर्ने पाउने भन्ने कुरा पनि छ ।

त्यसो हुँदा साउदीले पनि केही गर्छ । र दूतावासले पनि यस्तो गर्नुपर्छ, यस्तो यस्तो हुन्छ, नियम यो हो भनेर फेसबुक लगायतका माध्यमबाट भनिरहेको छ । ती सूचनाहरु हेर्नुहोस् । सूचनालाई मनन गर्नुहोस् । तपाईँहरु धेरै दुःखका साथ बस्नुभएको छ । त्यसमा हाम्रो सहानुभूति छ । अझ केही दिन धैर्य गरिदिनुहुन हामी आग्रह गर्छौं ।

सिन्धुलीका राजु लामा सोध्नुहुन्छ  : म मलेसियामा कागजात बिहीन भएर काम गरिरहेको थिएँ । अहिले न काम छ, न त तलब । जोखिम पनि उस्तै छ । मलाई कोरोना सङ्क्रमण भयो भने उपचार हुन्छ कि हुँदैन ? मलाई खान बस्नको समस्या हुन थाल्यो भने म के गरौं ? अवैधानिक बस्ने श्रमिकका लागि केही पहल गरेको छ त नेपाल सरकारले ?

मलेसिया सरकारले लकडाउन अवधिमा पूरा तलब दिनुपर्ने भन्ने घोषणा गर्‍यो । पछि सरकारले नै राहतको प्याकेज ल्याएको छ । रोजगारदाताले नदिए पनि सरकारले दिने  भनेको छ । अवैधानिक, वैधानिक भनेर सरकारले छुट्याएको छैन ।

अवैधानिक हुँदैमा तत्काल देश छाड्नुपर्छ भनेको पनि छैन । सबैलाई आफ्नो देशका नागरिक सरह उपचार गर्ने भनेको छ । मुख्य कुरा के हो भने अवैधानिक नबसौं ।

 केही समयअघि मलेसियाले वैधानिक हुन समय दिएको थियो । सरकारले उहाँहरुलाई ल्याउने खर्चको व्यवस्था पनि  गरेको थियो । त्यो बेला तपाईँ छुट्न हुँदैन थियो, छुट्नुभएछ । जहाँसम्म अलपत्र परेको नेपालीको कुरा छ त्यस्तो अवस्था आउन नदिनका लागि दूतवासहरुलाई हामीले भनेका छौं । र दूतावासमा मेरो कुरा हुँदा उहाँहरु पनि यस्तो अवस्थामा सचेत भएर लागिरहनुभएको छ ।

हरेक देशले आफ्नो नागरिक सरह उपचार गर्छन् । उसको देशभित्र रहने खानेबस्ने र भिसाको म्याद थप्ने कुरा सबै देशले गरेका छन् । सानोसानो कम्पनीको जसले ६, ७ जना राखेर चलाएका थिए, उनीहरु भाग्दा चाहिँ केही समस्याहरु आएको छ । 

यसमा लाग्नका लागि हामीले दूतावासलाई निर्देश गरिसकेका छौं । परराष्ट्र मन्त्रालयले पनि निर्देश गरेको छ । यसमा सबैको सहयोग चाहिन्छ । विदेशमा रहनुभएका सबै नागरिकलाई अहिलकति संयमता अपनाउनका लागि अनुरोध गर्छु ।

सम्बन्धित देशले जारी गरेको नियमको अवज्ञा गरेर बाहिर निस्कने र यताउता गरेको पनि पाइएको छ । यसबेला विदेशमा हुँदा त्यहाँको कानुन मान्नुपर्छ । तर यस्तो बेला भोकभोकै हुँदा र बस्नै नपाउँदा पनि चुप लागेर बस्ने भन्ने हाम्रो आशय होइन ।

त्यस्तो अवस्थामा एनआरएनए, दूतावास र चिनेजानेका साथीसँग समन्वय गर्नुहोस् । कलसेन्टरमा सम्पर्क गर्नुहोस् । कलसेन्टरमा फोन गर्ने पैसा नभए तपाईँको आफन्तमार्फत हामीलाई गुनासो टिपाउनुहोस् । भाइबर, फेसबुक लागयतका माध्यमबाट पनि तपाईँले गुनासो राख्न सक्ने व्यवस्था छ ।

(श्रम मन्त्रालयका सचिव विनोद के.सी.सँगको यो कुराकानी कार्यक्रम देश परदेशमा सुन्न सकिन्छ । तपाईँका पनि यस्तै प्रश्न छन् भने हामीलाई पठाउनुहोस् । उज्यालोको फेसबुकमार्फत म्यासेज गर्न सकिन्छ भने [email protected]  मा इमेल पनि गर्न सकिन्छ ।)

 

3 Comments

  • Gannga bahadur pun

    June 8, 2020, 10:24 p.m.

    नमस्कार घर बाट आयको 6 महिना भयो 1 महिना काम गरियो र नोकरी छोडे को पनि 4 महिना 12 दिन भयो air टिकेट 2 चोटी extend गरे आफनै टिकेट अहिले त्योपनि दिस्मस भयो त्यो पनि रिण गरि लियको पैसा. अर्को टिकेट को लागि पैसाको समस्या छ. जन तन कम्पनीले खान दियकोछ. अब त अति नै भयो सर? के हुदैछ नेपाल सरकारको? किन हामि श्रमिक हरुमाथि यस्तो बेहाल भैरहेकोछ? बस्न गाह्रो भयो. कसरो बस्ने के गर्ने visa पनि सकियको यहीबेला. कति दिन सम्म यसरी बस्ने बिना नोकरी. थाहा छ तपाइहरुले पनि सक्दो कोसिस गरिरहनु भयको छ. We understood. अझै आसा छ. यदी हेर्नु हुन्छ भने मेरो RESIGN LETTER र Air ticket पनि पथाइदेनेछु travel ले पैसा पनि दियन. मेरो आफनै खर्च हों. कृपया कसरी हुन्छ छिटो आशामा छौ. Maldives Ganga bahadur pun

  • Bhoj bahadur sen

    April 27, 2020, 8:46 p.m.

    भिसा क्यान्सिल गरेर बसेको आज २ महिना भयो घर जान पाइएको छैन , खान बस्नको पनि धेरै गाह्रो हुन लाग्यो ...छिटो भन्दा छिटो घर जान पाए राम्रो हुन्थ्यो / जे भए पनि आफ्नै घर गएर बस्न पाए मन खुशी हुन्थ्यो /

  • दल बहादुर थापा मगर

    April 22, 2020, 11:12 p.m.

    काम छैन १ महिना भयो घर जना हवाईजहाज छैन के गर्ने था छैन केही उपाय छ की नाई

तपाईको प्रतिक्रिया