विदेशबाट नेपालीलाई ल्याउन दिनमा १० वटा उडान, यस्तो छ स्वदेश फर्काउने सरकारको योजना

 जेठ १९, २०७७ सोमबार १२:६:६ | सन्जिता देवकोटा

काठमाण्डौ – विदेशमा समस्यामा परेका नेपालीको उद्धारका लागि सरकारी तयारी अन्तिम चरणमा पुगेकाे छ । सम्बन्धित देशमा रहेका नेपाली दूतावासले फर्कन चाहने नेपालीको विवरण संकलन तथा प्राथमिकता छुट्याउने काम गरिरहेका छन् ।

परराष्ट्र, गृह, पर्यटन मन्त्रालय लगायत सरकारी निकायबीच आवश्यक व्यवस्थापनबारे समन्वय भैरहेको छ । विमानस्थलमा भौतिक दूरी कायम हुनेगरी रेखांकन तथा अरु काम सकिएको छ ।

विभिन्न देशमा रहेका नेपालीलाई स्वदेश ल्याउन दिनमा १० वटा उडान गर्ने सरकारको तयारी छ । नेपाल एअरलाइन्सका जहाजले नभ्याएमा अरु वायुसेवा र विदेशी विमानसमेत चार्टर्ड गर्ने सरकारको योजना छ । 

कोरोनाको कारण विदेशमा समस्यामा परेका नेपालीको उद्धाारका लागि बनाइएको बृहत कार्ययोजना अनुसार खाडीका देश र मलेसिया लगायतका देशबाट समस्यामा परेका नेपालीको उद्धारका लागि दिनमा १० वटा उडान हुनेगरी निर्णय भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता तथा सहसचिव सुमन घिमिरेले उज्यालोलाई जानकारी दिनुभयो ।

उहाँका अनुसार खाडीका देश, मलेसिया र भारतबाट आउने नेपालीका लागि छुट्टाछुट्टै व्यवस्था गरिएको छ । खाडीका देश र मलेसियाबाट स्वदेश फर्कने श्रमिकले यातायात लगायत खर्चको व्यवस्थापन भने आफैं गर्नेगरी मन्त्रिपरिषदबाट निर्णय भएको उहाँले बताउनुभयो । 

सरकारले प्राथमिकताको आधारमा नेपालीको उद्धार गर्ने भएकाले त्यहीअनुसार नै सम्बन्धित देशमा रहेका नेपाली दूतावासले समन्वय गर्नेछन् । जेठ १२ गते बसेको मन्त्रिपरिषद बैठकले कोरोनाको कारण विदेशमा समस्यामा परेर नेपाल आउनैपर्ने अवस्थामा रहेकालाई ल्याउने निर्णय गरेको थियो । त्यसअनुसार कोभिड १९ क्राइसिस म्यानेजम्यान्ट सेन्टर (सीसीएमसी) ले स्वदेश फर्कने नेपालीको व्यवस्थापनका लागि तयार पारेकाे बृहत कार्ययोजनालाई मन्त्रिपरिषद्ले स्वीकृत गरिसकेको छ ।

मन्त्रिपरिषद्ले कार्ययोजना पारित गरेसँगै भारतबाहेकका तेस्रो देशबाट नेपाल आउनेहरुको विवरण तयार गर्ने काम भैरहेको छ । प्रदेश, जिल्ला र पालिकागत विवरणहरु विदेशस्थित नेपाली दूतावासले तयार पारी परराष्ट्र मन्त्रालयमार्फत गृह मन्त्रालय, पर्यटन मन्त्रालय र सीसीएमसीलाई उपलब्ध हुनेछ ।

प्राथमिकतामा परेकाको सबै विवरण आइसकेपछि उडानको कार्यतालिका चाहिँ हवाई उडान क्षेत्रसँग समन्वय गरेर निर्धाराण गरिनेछ । सङ्ख्याको आधारमा कुनै देशबाट एकै दिनमा दुई उडान पनि हुन सक्नेछन् । 

यस्तो छ उद्धारको प्रक्रिया

विदेशमा समस्यामा परेका नेपाली स्वदेश फर्कन आत्तुर छन् । कतिपय कोरोनाको डर र अन्य कारणले पनि स्वदेश फर्कन खोजिरहेका छन् । तर सरकारले अति नै समस्यामा परेका झण्डै २५ हजारलाई मात्रै तत्काल ल्याउने योजना बनाएको छ । तर प्राथमिकताको आधारमा ल्याइने भएकाले प्राथमिकतामा पर्नेको सङ्ख्या बढेमा यो सङ्ख्या पनि बढ्ने छ ।

स्वदेश फर्कनेसित अनिवार्य रुपमा कोरोना परीक्षण नेगेटिभ रहेको रिपोर्ट हुनु पर्नेछ । कोरोना जाँचको लागि दूतावासले समन्वय गर्नेछ । प्राथमिकतामा परेकाले सम्बन्धित देशमा रहेका नेपाली दूतावासले तोकेको स्थानमा गएर स्वास्थ्य परीक्षण गर्ने श्रम मन्त्रालयका प्रवक्ता घिमिरेले बताउनुभयो । कोरोना पोजेटिभ देखियो भने समस्यामै परेको भए पनि तत्कालै स्वदेश फर्कन पाइने छैन । 

‘होल्डिङ सेन्टरमा ज्वरो नापिन्छ, ज्वरो सयभन्दा माथि देखिएमा उहाँहरुलाई आइसोलेसनमा राखिन्छ भने ज्वरो नदेखिएकालाई नेपाली सेनाकै समन्वयमा जिल्ला सदरमुकामसम्म पुर्‍याइन्छ,’

नेपाल आइसकेपछि भन्सार र अध्यागमनको प्रक्रिया पूरा गर्नु पर्नेछ । यो प्रक्रिया पूरा गरेपछि नेपाल सरकारले व्यवस्थापन गरेको होल्डिङ सेन्टरमा जानुपर्नेछ । विमानस्थलबाट होल्डिङ सेन्टरसम्म जानको लागि सरकारले नै यातायातको व्यवस्था गर्नेछ । 

चक्रपथ आसपासका पार्टी प्यालेस लगायत उपयुक्त ठाउँमा होल्डिङ सेन्टरको व्यवस्थापन गरिने श्रम प्रवक्ता घिमिरेले बताउनुभयो ।

उहाँका अनुसार होल्डिङ क्षेत्रमा पुगेपछि त्यहाँको समन्वयको काम नेपाली सेनाले गर्नेछ । होल्डिङ सेन्टरमा ज्वरो नाप्नेदेखि स्वास्थ्य परीक्षणको काम हुनेछ । स्वास्थ्य जाँचसँगै विदेशबाट फर्कनेले आफ्नो स्वास्थ्यको स्वघोषणासहित केही फारमहरु पनि भर्नु पर्नेछ । 

‘होल्डिङ सेन्टरमा ज्वरो नापिन्छ, ज्वरो सयभन्दा माथि देखिएमा उहाँहरुलाई आइसोलेसनमा राखिन्छ भने ज्वरो नदेखिएकालाई नेपाली सेनाकै समन्वयमा जिल्ला सदरमुकामसम्म पुर्‍याइन्छ,’ प्रवक्ता घिमिरेले भन्नुभयो । 

होल्डिङ सेन्टरमा विदेशबाट फर्कनेलाई निःशुल्क सिम उपलब्ध गराइन्छ । आफूसँग पहिले नै सिमकार्ड छ भने त्यही सिमकार्ड चलाउन पाइने छ । त्यही मोबाइल नम्बरका आधारमा सरकारले उनीहरुको आवतजावतलाई निगरानी गर्नेछ ।

आफ्नो जिल्ला फर्किसकेका नेपालीलाई कुनै समस्या परेमा सरकारले उपचारको व्यवस्था गर्नेछ । फर्कने सबैले आफ्नो मोबाइलमा हाम्रो स्वास्थ्य भन्ने एप डाउनलोड गरेर त्यसमार्फत आफ्नो स्वास्थ्यको अध्यावधिक विवरण उपलब्ध गराउनु पर्नेछ । 

विदेशबाट फर्कनेले आफ्नो घरमा पुगेपछि पनि ६० दिनसम्म अनिवार्य रुपमा त्यो नम्बर सक्रिय राख्नुपर्छ । त्यही नम्बरकै आधारमा नै फर्कनको स्वास्थ्यबारे सरकारले जानकारी लिनेछ  । 

पालिकाले व्यवस्था गरेको क्वरेण्टीनमा अनिवार्य बस्नुपर्ने

काठमाण्डौमा अल्पकालिन क्वारेण्टीनको व्यवस्था गरिएको छ । तर विदेशबाट फर्कनेलाई भने होल्डिङ सेन्टरमा स्वास्थ्य परीक्षणको काम सकिएपछि पालिका स्तरमा पठाइने छ ।

श्रम प्रवक्ता घिमिरेका अनुसार होल्डिङ सेन्टरमा ज्वरो लगायतको स्वास्थ्य परीक्षणको काम सकिएपछि ज्वारो नआएहरुलाई पालिकास्तरमा नेपाली सेनाको समन्वयमा पुर्‍याइने छ । एक सय दशमलव चार ज्वरो आएकाहरुलाई भने होल्डिङ सेन्टरबाट आइसोलेसनमा पठाइनेछ ।  

विदेशबाट फर्कनेको समन्वय गर्न सरकारले प्रदेशगत रुपमा संघीय सरकारका एक एक जना मन्त्रीसमेतलाई संयोजन गर्ने जिम्मा तोकेको छ । सरकारले प्रदेश १ मा भौतिक पूर्वाधारमन्त्री बसन्त नेम्वाङलाई संयोजनको जिम्मेवारी दिएको छ भने प्रदेश २ मा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादव, बागमतीमा महिला बालबालिका तथा समाज कल्याण मन्त्री पार्वत गुरुङ र गण्डकी प्रदेशको संयोजनको जिम्मा भूमि व्यवस्थामन्त्री पद्मा अर्याललाई दिएको छ ।

पालिकाले दुई खाले क्वारेण्टीनको व्यवस्था गर्नेछन् । होल्डिङ सेन्टरपछि पालिकामा गएर पालिकाले व्यवस्थापन गरेको क्वरेण्टीनमा बस्नेले भने शुल्क तिर्नु पर्दैैन । तर पालिका स्तरमा क्वरेण्टीनका लागि तोकिएका होटलमा बस्न चाहनेले भने लाग्ने खर्च फर्कने व्यक्ति स्वयमले तिर्नु पर्नेछ । 

यस्तै प्रदेश ५ मा उर्जामन्त्री वर्षमान पुन, कर्णाली प्रदेशमा वनमन्त्री शक्ति बस्नेत र सुदूरपश्चिम प्रदेशका लागि उद्योगमन्त्री लेखराज भट्टले संयोजन गर्ने गरी सरकारले जिम्मेवारी तोकेको छ ।

यस बाहेक विदेशबाट फर्कनेको व्यवस्थापनाका लागि प्रदेश अन्तर्गत पनि एकजना मन्त्रीलाई जिम्मेवारी तोकिएको प्रवक्ता घिमिरेले बताउनुभयो । 

विदेशबाट  फर्कनेलाई राख्नका लागि सम्बन्धित पालिकाले नै क्वरेण्टीनको व्यवस्था गर्नेछन् । पालिकाले दुई खाले क्वारेण्टीनको व्यवस्था गर्नेछन् । होल्डिङ सेन्टरपछि पालिकामा गएर पालिकाले व्यवस्थापन गरेको क्वरेण्टीनमा बस्नेले शुल्क तिर्नु पर्दैैन । तर पालिका स्तरमा क्वरेण्टीनका लागि तोकिएका होटलमा बस्न चाहनेले भने लाग्ने खर्च स्वयमले तिर्नु पर्नेछ । 

होटल पर्यटन मन्त्रालयको समन्वयमा तोकिएको मापदण्ड पूरा गरेका हुुनुपर्नेछ । १४ दिन क्वरेण्टीनमा बस्दा स्वास्थ्यमा कुनै समस्या नदेखिएमा घर जान पाइनेछ । घर गएपछि पनि अनिवार्य रुपमा ७ दिन होम क्वरेण्टीनमा बस्नुपर्ने नियम बनाइएको श्रम प्रवक्ता सुमन घिमिरेले जनाकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘पालिकाले व्यवस्था गरेको क्वरेण्टीनबाहेक विदेशबाट आउँदाको उडानदेखि होल्डिङ सेन्टर र पालिकास्तरसम्म जाने सबै खर्च सम्बन्धित व्यक्तिले नै व्यर्होनुपर्ने मन्त्रिपरिषदको निर्णय छ, अन्य आपतकालीन अवस्थाबारे भने सम्बन्धित दूतावासले समन्वय गर्नेछन् ।’

यो व्यवस्थाको समग्र सञ्चालन, अनुमति, नियन्त्रण र निर्देशनको काम चाहिँ सीसीएमसीले गर्नेछ ।

नेपालबाट जाँदा करार लिएर गएकाले फर्कंदा सम्बन्धित रोजगारदाताले नै टिकटको व्यवस्था गर्नुपर्ने हुन्छ । श्रम कानुन अनुसार रोजगारदाताले आफ्ना श्रमिकलाई स्वदेश फिर्तीका लागि टिकट दिनुपर्ने हुन्छ ।

कुवेतमा आममाफीमा सहभागी भएका श्रमिकलाई भने कुवेत सरकारले आफ्नै खर्चमा आफ्नै जहाजमा नेपालसम्म ल्याइदिने भनेको छ । बाँकीको हकमा भने आफैंले व्यवस्था गर्नुपर्नेछ । 

कस्ता नेपाली प्राथमिकतामा ?

सरकारले पहिला आममाफी पाएका, भिसाको अवधि सकिएका, घरफिर्ती केन्द्रमा रहेका, घर फर्कन चेक आउट पाइसकेका, आफन्त गुमाएर काजकिरियाका लागि फर्कन पर्ने, रोजगारी गुमाएका, कोरोनाबाहेक अन्य समस्यामा रहेका, बालबालिका ज्येष्ठ नागरिक, महिला, बिरामी, परिवारलाई भेट्न गएका तर कोरोनाको कारण फर्कन नपाएका, अन्तर्राष्ट्रिय संघसंस्थामा कार्यरत नेपाली तर नेपाल फर्कन पर्ने अवस्थामा रहेकालाई प्राथमिकतामा राखेको छ ।

विभिन्न समस्यामा परेकालाई पहिलो चरणमा झण्डै २५ हजार जनाको सङ्ख्यामा ल्याउने परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले बताउनुभएको छ ।

यस्तै पर्यटन भिसामा, बिजनेश भिसामा गएर उतै रोकिएका, अध्ययन लगायतका सिलसिलामा गएका सरकारी कर्मचारी, कलेज बन्द भएर फर्कन पर्ने विद्यार्थीलाई ल्याउनेछ ।

यस्तै विभिन्न समस्यामा परेकालाई पहिलो चरणमा झण्डै २५ हजार जनाको सङ्ख्यामा ल्याउने परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले बताउनुभएको छ । उहाँकाअनुसार परिस्थिति र प्राथमिकताको आधारमा यो सङ्ख्या केही बढ्न पनि सक्नेछ ।

भारतबाट भित्रिन २० नाका

भारतबाट स्थलमार्ग हुँदै स्वदेश आउने नेपालीका लागि १८ जिल्लाका २० नाका नेपाल प्रवेशका लागि तोकिएको छ । 

मन्त्रिपरिषद्ले शनिबार गरेको निर्णयअनुसार पशुपतिनगर (इलाम), काँकडभिट्टा (झापा), रानी (मोरङ), कुनौली (सप्तरी), ठाडी (सिरहा), माडर (सिरहा), भिट्टामोड (महोत्तरी), मलंगवा (सर्लाही), गौर (रौतहट), वीरगन्ज (पर्सा), महेशपुर (नवलपरासी पश्चिम), बेलहिया (रुपन्देही), तौलिहवा (कपिलवस्तु), कृष्णनगर (कलिपवस्तु) जमुनाह (बाँके), सुरजपुर ण्गुलरिया) बर्दिया, गौरीफन्टा (कैलाली), गड्डाचौकी (कञ्चनपुर), झुलाघाट (बैतडी) र दार्चुला नाकाबाट नेपालीलाई स्वदेश प्रवेश गराइने छ । 
 

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

11 Comments

  • kamal khadka

    June 3, 2020, 3:44 a.m.

    कस्तो नियम लेको नेपाल आउने आफनै खर्च रे यहाँ काम छुटेको 3 महिना भयो खान बस्ना एति गारो छ कहाँ बाट पैसा लेर आउने यो सब धनिको लागि सुबिधा हो हाम्रो लागि छैन केही

  • सरोज भट्टराइ

    June 2, 2020, 6:13 p.m.

    म अ्मेरिका को न्यु योर्क मा बिगत करिब 4 बर्श देखि बस्दै आयको थिय ! कोरोना ले जागिर गुम्यो २ महिना जति कोठा मा नै बसे तर सबै खर्च सकियो र सरकार ले दिने भनेको बेरोज गारि भत्ता को लागि योग्य पनि भैयन ! सस्तो बसाइ खोज्दै टेक्सास मा आयको छु न नेपाल ले लैजाने न अ्मेरिका ले बेरोजगारी भत्ता दिने न यता को न उता को भैयको छ ! दिनभरि कोठामा बस्यो समाचार हेर्यो केहि आसालाग्दो कुरा आउछ कि भनेर अन्त्य मा हात्मा लाग्यो 0 भैरहेको छ ! अब अझै केहि समय यस्तै हो भने मान्छे कोरोना ले भन्दा भोक ले धेरै देखियको छ ! है नेपाल सरकार !

  • Rajkumar bhandari

    June 2, 2020, 4:52 p.m.

    Thank you

  • Sita

    June 2, 2020, 4:43 p.m.

    म लगायत मेरा साथीहरुको हालत पनि यस्तै छ / हामी युएईको अबुधाबीको एक कम्पनीमा सेकुरिटी जब गर्छौं / दुइ महिना देखि हाम्रो काम चलेको छैन ...बस्न दिए पनि खानाको व्यवस्था छैन ..के हामी चाहिँ प्राथमिकतामा पर्दैनौ र ??

  • प्रदिप

    June 2, 2020, 3:06 p.m.

    गत मार्च १७ देखि आज का मिती सम्म कम्पनीले काम छैन भन्दै कोठामा राखेको छ। ए.टि.एम. मा १०४० दिराम थियो , त्यो पनि महिनाको ३२० को दरले जुन महिना को अन्तिम सम्ममा ३ महिनाको, खानाको नाममा कम्पनी बाट काटिनेछ। ए.टि.एम को त्यो पैसो झिकौँ, खाने कहाँ बाट।।बाहिर झन महङो छ!! तेस माथी लक डाउन, ४६° ताप्क्रम।। अब बौलाउन मात्र बाकी छ। एस्तो हालत भएका,;हामी चैं सरकारले तोकेको प्राथमिकता मा पर्दैनौँ र....? स्मरण रहोस माननीय नेता ज्यु!! मेन्टल स्ट्रेस, डिप्रेसन हुनु भनेको तपाइले तोक्नु भएको प्राथमिकता का आधार छ नि , त्यो भन्दा पनि माथी आउने बिषय हो।

  • रमेश कुमार घर्ति मगर

    June 1, 2020, 10:23 p.m.

    कम्पनिले काम नदियको खाना नदियको

  • dinesh Joshi

    June 1, 2020, 2:55 p.m.

    करार अवधी नसकियको,र अन्य कारण बस घर फर्किन चाहादा, काम गरिरहेको कम्पनीले तोकेको रकम ५००० रियल तिर्न नसक्दा कम्पनी ले रुम बाटै निकालिदियर अलपत्र मा परेका आआ हरु को लागि नेपाल सरकार को के ब्यवस्था छ?

  • Mahesh MAHARJAN

    June 1, 2020, 2:27 p.m.

    अहिलेको समयमा छिटो भन्दा छिटो उद्धार गर्न सक्नु नै सरकारको ठूलो उपलब्धि हो /

  • Tara Prasad Kandel

    June 1, 2020, 1:46 p.m.

    #लाजको_पसारो👇👇 कोरोनाको समस्या समाधान गैर्न ए.डी.बी. ले ३० अरब सहयो गर्ने🙏करोडका कार्पेट किन्न सकिन्छ ? ठिकै छ यदि सरकारसंग पैसा छैनभने आफै तिरौला र सरकारलाइ खर्चपानी चाहिए त्यों पनी दिउला, हाम्लाई नेपाल फर्किने ब्यबस्था मिला😢😢

  • Surendra bahadur jogi kunwar

    June 1, 2020, 1:23 p.m.

    I would like to request understand our situation i believe that resque thank you for as help

  • Nikki Nepali

    June 1, 2020, 1:21 p.m.

    म युएईको अबुधाबीमा बसिरहेको छु / हिजोमात्र म नेपाली दुतावास गएको थिएँ नेपाल फिर्ताको नाम टिपाउनकालागि / मेरो जब छुटेको २ महिना भैसक्यो , त्यसैले दुतावास पुग्दाको अवस्था सार्है नराम्रो छ , सबै नेपालीलाई इग्नोर गरिराखेको रहेछ , न त कुरा नै सुन्नु हुन्छ, न त केही भन्नु हुन्छ ...खाली एउटा पेपरमा नाम र ठेगाना टिप्दै छ , समाचारमा दुतावासको धेरै भूमिका देखें , तर वास्तविकता दुतावास पुग्दा त्यसो छैन रहेछ / तातो घाममा बाहिर बस्नु पर्ने भित्र जान नपाउने ...आफ्नो समस्या राख्न नपाउने ....यस्तो तरिकाले केहि होला त ??

तपाईको प्रतिक्रिया