राष्ट्रपति पौडेलद्वारा सेतो मच्छेन्द्रनाथको दर्शन गरी प्रसाद ग्रहण

 चैत २४, २०८१ आइतबार ९:९:३५ | रासस
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – वर्षा र सहकालका देवता सेतो मच्छेन्द्रनाथको रथयात्रा हिजो बेलुकादेखि शुरु भएको छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गको तीनधारा पाठशालाबाट शुरु हुने सेतो मच्छेन्द्रनाथ रथयात्रामा हजारौँको सहभागिता हुन्छ ।

रथयात्राका लागि केलटोलबाट देवताको खट दरबारमार्गको तीनधारा पाठशालाअघि लगिएको हो । बेलुका त्यही रथमा राखी यात्रा सुरु गरिएको सेतो मच्छेन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ । पहिलो दिन हिजो रथ असन पुर्‍याइएकाे छ ।

रथ असन पुगेपछि पूजा, आराधना गर्ने भक्तजनको घुइँचो लागेको छ । असन, हनुमानढोका, काष्ठमण्डप, जोशीदेवल हुँदै लगनमा तीन पटक परिक्रमा पूरा गरिएपछि मच्छेन्द्रनाथलाई पुनः केलटोलमा रहेको मच्छेन्द्रबहालमा ल्याएर अन्त्य गरिन्छ ।

अष्टमीका दिन हिजो कुमारीलाई पनि तीनधारा पाठशाला परिसरमा लगेर रथयात्रा शुरु गरिएको सेतो मच्छेन्द्रनाथका पुजारी, समितिका संयोजक र काठमाण्डौ महानगरपालिका–२५ का पूर्वअध्यक्षसमेत रहनुभएका नीलकाजी शाक्यले जानकारी दिनुभयो ।

यसैबीच असनमा गएराति राष्ट्रपति रामचन्द्र पौडेलले रथको दर्शन गरी प्रसाद ग्रहण गर्नुभएको छ । सेतो मच्छेन्द्रनाथको रथ तानेर असन ल्याएको राति राष्ट्राध्यक्षले असनमै पुगेर पूजा आराधना एवम् दर्शन गरी प्रसाद ग्रहण गर्ने परम्परा छ । तीनधारा पाठशालाअघि ३२ हात लामो रथ बनाएर चैतेदशैंका दिनदेखि तान्ने गरिएको छ ।

रथ दोस्रो दिन असनबाट वसन्तपुरमा रहेको कालभैरव अघि लगिन्छ । तेस्रो दिन वसन्तपुरबाट लगन लगेर जात्रा गर्ने परम्परा छ । लगनमा सेतो मच्छेन्द्रनाथको आमाको मन्दिरमा रथ तीनपटक घुमाउने गरिन्छ । राजधानीमा सेतो मच्छेन्द्रनाथको रथयात्रा सकेपछि रातो मच्छेन्द्रनाथको रथयात्रा शुरु हुने प्राचीनकालदेखिको परम्परा छ ।

अन्तिम अपडेट: चैत २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया