कतारको सार्वजनिक स्थलमा अमर्यादित क्रियाकलाप नगर्न दूतावासको अनुरोध, पुनः गरेमा कारबाही हुने

 असोज ८, २०७७ बिहिबार ११:३६:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तपाईँ कतारमा हुनुहुन्छ भने सचेत हुनुहोस् । कतारको सार्वजनिक स्थलहरुमा उच्छृङ्खल गतिविधि नगर्न त्यहाँ रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।

केही सातायता कतारमा रहेका केही नेपालीले त्यहाँको सांस्कृतिक तथा नियमन कानून विपरित कतारको प्रमुख आकर्षण रहेको कोर्निश लगायत सार्वजनिक स्थलहरुमा भेला भई अमर्यादित, उच्छृङ्खल र असामाजिक रुपले प्रस्तुत हुने तथा झैझगडासमेत गर्ने गरेको र त्यस्ता घटनाहरु सामाजिक सञ्जालमार्फत सार्वजनिक हुने गरेको भन्दै दूतावासले त्यस्तो गतिविधि नगर्न अनुरोध गरेको हो ।

रोजगारीका लागि कतार पुगेकाले यस्तो व्यवहार गर्दा कतारको कानुन अनुसार कारबाही त हुन्छ नै साथै यस्ता क्रियाकलापले सबै नेपाली समाज र राष्ट्रकै प्रतिष्ठा र मर्यादामा समेत गम्भीर आँच पुग्ने भएकाले कतारमा रहेका अन्य समुदायकाबीचमा नेपालीको छविमा नकारात्मक सन्देश जाने हुँदा सचेत हुने दूतावासले भनेको छ ।

परदेशमा कानुन विपरित आफ्नो छवि खलबलिने यस्ता काम नगर्न कतारमा रहेका सबै नेपालीलाई दूतावासले अनुरोध गरेको छ । साथै दूतावास आफैंले पनि आउँदा दिनमा यस्तो कार्य गरेको पाइएमा कतारको स्थानीय प्रशासनलाई यस्ता क्षेत्रको निगरानी गर्न लगाई संलग्न व्यक्तिलाई कारबाही गर्न अनुरोध गर्ने जनाएको छ ।

तपाईको प्रतिक्रिया