दक्षिण अफ्रिका जान बारी बेचेर एजेण्टलाई ११ लाख, भयो ६ महिना भारतमा बास

 पुस ९, २०७७ बिहिबार १४:४९:५० | सन्जिता देवकोटा
unn.prixa.net

काठमाण्डौ –  अलिअलि कमाउँला, भविष्यका लागि केही गरौंला भन्ने सपना परदेशिने कसको नहुँदो हो ? परदेशबाट फर्कंदा हातमा ठूलो झोला र साथमा आफ्नाका लागि केही उपहार ल्याइदिने इच्छा कसलाई नहुँदो हो ? 

तर, कहिलेकाहीँ आफ्नैले गरेको विश्वासघातले यस्ता सपना संघर्षमा परिणत हुँदो रहेछ । घरबार डुब्दो रहेछ अनि घर न घाटको बनाइदिंदो रहेछ । धादिङका कुशल आलेमगरलाई जस्तै ।

कुशलले आफ्नै काका मानेर एजेण्टलाई विश्वास गर्नुभयो । तर आफ्नो ठानेर उहाँले जति विश्वास गर्नुभयो, त्यसको बदलामा बिर्सनै नसक्ने घात पाउनुभयो ।

कुरा २०७३ सालको हो । कुशल भर्खर १८ वर्ष लाग्नुभएको थियो  उहाँले काका मान्ने हरिप्रसाद पन्तले भन्ने, ‘गाउँघरमा यसै बस्नुभन्दा बाबु विदेश जाउ ।’ 

आफ्नो घरको अवस्था आफ्नै आँखाले नियाली रहेको मानिसले परदेशको सपना देखाएपछि कुशललाई हो झैं लाग्यो । त्यसपछि त कुशल काकाले देखाएको परदेशको सपनाकै पछि कुद्न थाल्नुभयो । घरमा आमा मात्रै । बुवा नहुँदा घरको जिम्मेवारी कुशलको काँधमा थियो । आम्दानीको स्रोत कुनै थिएन । खनीखोस्री गरेर खाउँभन्दा पनि खान पुग्ने खेतीबारी थिएन । 

जेनतेन बिहान बेलुकाको चुलो बाल्ने आफ्नो परिवारको संर्घषलाई आफ्नै आँखाले नियालेका काकाप्रति कुशलको विश्वास झन बढ्यो । धादिङबाट हरिप्रसादले कुशललाई काठमाण्डौ ल्याए । आफ्नो छोरा लक्ष्मणप्रसाद पन्तसँग भेट गराए । लक्ष्मणप्रसाद पन्तले पनि विदेश र हुने कमाइको कुरा मलजल गरेर सुनाए ।

‘कमाउनु पर्ने दायित्व थियो, घरको आर्थिक अवस्था कमजोर, त्यो बेला त मैले हरिप्रसाद पन्तलाई मेरो बुवा समान मानेको थिएँ,’ कुशल भन्नुहुन्छ । 

उनीहरुले महिनाको एक डेढ लाखसम्म कमाइ हुन्छ भनेका थिए । नेपालमा एक रुपैयाँ नकमाउनुभन्दा त जति भए पनि बरु पैसा तिर्ने र त्यो कमाइ गर्ने ठाउँमा पुग्ने हुटहुटी चल्न थाल्यो कुशलको मनमा । 

कुशल गाउँमा पैसाको जोहो गर्न थाल्नुभयो भने यता एजेण्टले पनि टर्कीको लागि प्रक्रिया थालेको जानकारी दिए । 

‘कमाउनु पर्ने दायित्व थियो, घरको आर्थिक अवस्था कमजोर, त्यो बेला त मैले हरिप्रसाद पन्तलाई मेरो बुवा समान मानेको थिएँ,’ कुशल भन्नुहुन्छ । 

तर भयो के भने लामो समय प्रयास गर्दा पनि टर्की जाने मेसो मिलेन । टर्कीमा द्वन्द्व भएको र अन्य समस्याहरु सुनाएर एजेण्ट लक्ष्मणप्रसादले उहाँलाई दक्षिण अफ्रिका पठाउने भए । जुन देश गए पनि कमाइ उस्तै नै हुन्छ भनेपछि कुशलले सहमति दिनुभयो । तर अर्को देश जान टर्की जान बुझाएको पाँच लाखमा थप ६ लाख रुपैयाँ एजेण्टलाई दिनुपर्ने भयो । 

तर कसरी ? एजेण्ट हरिप्रसादले नै आइडिया दिए, भएको एक रोपनी बारी बेच्ने ।

‘उनले मलाई तिम्रो विदेशमा कमाइ भएन भने एक रोपनीको दुई रोपनी दिन्छु, पीर नगर भनेको थिए, मैले बा समान मानेको मान्छेले मेरो कुभलो सोचे होला भन्ने नै लागेन,’ कुशल पछुतो मान्दै भन्नुहुन्छ, ‘कसैलाई त्यति धेरै विश्वास गर्नु पनि गलत नै रहेछ ।’

जग्गा बेचेर आएको ६ लाख पनि एजेण्टको हातमा थमाउनुभयो । तर जसको विश्वासमा भएको एक रोपनी जग्गा पनि बेच्नुभयो, उनले नै कुशलमाथि विश्वासघात गरे । 

दक्षिण अफ्रिका हिँडेको मानिस भारतमा अलपत्र

ऋण काढेरै ५ लाख रुपैयाँ बुझाउँदा पनि टर्कीमा कमाउने सपना एजेण्टले नै टुक्राइदिए । फेरि दक्षिण अफ्रिकामा हुने कमाइको प्रलोभन देखाए । कुशललाई त देश जुन भए पनि काम र कमाइ उही भइदियोस् भन्ने थियो । एजेण्टको कुरा हुन्छ नै भन्नुभयो ।

विभिन्न बहना देखाउँदै एजेण्टले दक्षिण अफ्रिका नेपालबाट जान नमिल्ने बताए । एजेण्टका अनुसार दक्षिण अफ्रिका उड्नका लागि भारत जानुपर्ने भयो । उनकै पछि लागेर भारतको दिल्ली पुग्नुभयो । 

त्यहाँबाट पनि प्रक्रिया मिलाउन केही समय लाग्ने भयो । केही समय त एजेण्टकै साथमा बस्नुभयो । तर दुई महिनापछि भने सबै कुरा कुशलको सोचभन्दा बाहिरको हुन थाल्यो ।

कोठामा एक्लै छाडेर एकाएक एजेण्ट फरार भए । न हातमा फोन र अन्य मानिसको सम्पर्क नम्बर । समस्याका पहाडहरु अघिल्तिर उभिए । न घरमा आफ्नो बारेमा बताउने उपाय छ न त पेट भर्ने उपाय । 

‘घरमा चाहिँ तिम्रो छोरो दक्षिण अफ्रिकामा काम गरिरहेको छ भन्दिने रहेछन् ती लक्ष्मण र उनका बाले, तर मेरो हालत त्यहाँ यस्तो थियो कि म कल्पना पनि गर्न सक्दिनँ,’ कुशल भन्नुहुन्छ, ‘कहिलेकाहीँ त लाग्थ्यो यो ज्यान यतै जाने भयो ।’​

कोठामा एक्लै छाडेर एकाएक एजेण्ट फरार भए । न हातमा फोन र अन्य मानिसको सम्पर्क नम्बर । समस्याका पहाडहरु अघिल्तिर उभिए । न घरमा आफ्नो बारेमा बताउने उपाय छ न त पेट भर्ने उपाय । 

कुशलले जसोतसो घरमा सम्पर्क गर्दा पो थाहा भयो एजेण्टले कहिले तिम्रो छोरा मारिदिन्छु भन्दै थर्काउने रहेछन् त कहिले काममा लागेको भन्दै झुटो कुरा सुनाउने रहेछन् । अब भने आफ्नैको विश्वासमा आफू पूर्ण रुपमा फसेको थाहा भयो । त्यसपछि कुशल परदेश गएर कमाउने भन्दा पनि सकुशल घर फर्कने कामना गर्न थाल्नुभयो ।

चारैतिरबाट समस्याले जेलिनुभएका कुशल र उहाँको परिवारलाई त्यो संकटको घडीमा आप्रवासी स्रोत केन्द्रको सहयोग मिल्यो ।

‘मेरो गाउँमा केन्द्रका प्रतिनिधिहरु वैदेशिक रोजगारीसँग सम्बन्धित केही समस्या छन् भनेर सोध्दै जानुभएको रहेछ, उहाँहरुलाई मेरो आमाले सबै कुरा भन्नुभएछ,’ कुशल सुनाउनुहुन्छ, ‘अनि पो मेरो स्वदेश फिर्तीको प्रक्रिया सुरु भयो त ।’

आप्रवासी स्रोत केन्द्र धादिङमा कुशलको समस्या दर्ता भएको एक महिनापछि र भारतमा अलपत्र परेको ६ महिनामा केन्द्रकै सल्लाह सुझाव अनुसार कुशल स्वदेश आइपुग्नुभयो ।

स्वदेश फर्किएपछि कुशल फेरि केन्द्रको कार्यालयमा जानुभयो । र आफ्नो समस्याहरु राख्नुभयो । आप्रवासी स्रोत केन्द्रले  पिपुल फोरममार्फत थप प्रक्रिया अघि बढाउन सुझाव दियो । पिपुल फोरमले सुरक्षित आप्रवासन सामी परियोजनाकै साझेदारीमा निःशुल्क रुपमा कानूनी सहयोग प्रदान गर्छ । 

आप्रवासी स्रोत केन्द्र धादिङमार्फत कुशललाई पिपुल फोरममा पठाइयो र पिपुल फोरममार्फत नै थप प्रक्रिया अघि बढ्यो ।

‘त्यति ठूलो रकम फसेको थियो, अब पैसा आउला नआउला केही निश्चित थिएन, मेरो साथमा त एक रुपैयाँ पनि थिएन, तर त्यो अप्ठेरो अवस्थामा पिपुल फोरमले मलाई कानूनी प्रक्रियामा ठूलो सहयोग गर्नुभयो’ कुशल अप्ठेरो समयमा मिलेको साथ सम्झनुहुन्छ ।

कुशलले आफ्नो रकम फिर्ता लिनका लागि मुद्दा लड्दा छुट्टै वकिलको व्यवस्था गर्नु परेन । मुद्दा कहाँ पुग्यो, के कागजात चाहिन्छ, कहिले कहाँ जानेजस्ता तनाब पनि लिनु परेन ।

वैदेशिक रोजगार विभागमा दर्ता भएको कुशलको मुद्दा वैदेशिक रोजगार न्यायधिकरणमा गयो । किनकी कुशल व्यक्तिगत ठगीमा पर्नुभएको थियो । तर रकम बैंकिङ प्रणालीमार्फत पठाएको हुनाले साथमा प्रमाण थियो । भारत लैजाने बेलामा पनि कुशलले आफूलाई काम लगाउन नसके सबै क्षतिपूर्ति एजेण्ट लक्ष्मणप्रसादले दिने भनेर कागज पनि गर्नुभएको थियो । 

हरिप्रसाद पन्तले रकम नदिनका लागि के मात्र गरेनन् । कुशलविरुद्ध मुद्दा हाले । राजनीतिक पहुँच लगाए । ज्यान मार्ने धम्कीसमेत दिए । तर उहाँसँग प्रमाण थियो । अनि पिपुल फोरमको साथ । उहाँ कति पनि डराउनुभएन । आफूसँग भएको प्रमाण लिएर अघि बढ्नुभयो ।

ज्यानको सुरक्षाका लागि इलाका प्रहरिमा निवेदन हाल्नुभयो । तर आफ्नो उजुरीबाट पछि भने हट्नुभएन । विभागले मुद्दा न्यायधिकरणमा पठाएको केही समयमा नै कुशल पीडित हो भनेर न्यायधिकरणले फैसला गरिदियो । 
न्यायधिकरणले गरेको फैसला कार्यान्वयनका लागि अदालत जानुपर्ने भयो । कुशल जिल्ला अदालत धादिङ जानुभयो ।

‘जिल्ला अदालत धादिङले लक्ष्मणप्रसाद पन्तले रकम ठगी गरेको र त्यो रकम फिर्ता गर्नुपर्ने साथै डेढ वर्ष जेल सजाय पनि तोकेको छ । तर एजेण्ट फरार छन्, उसको बुवा अर्थात मैले काका मानेका हरिप्रसाद पन्त नै प्रतिवादी भएर मुद्दा लड्नुभयो,’ कुशलले अदालतले गरेको फैसला सुनाउनुभयो ।

अदालतको फैसला अनुसार २०७६ फागुन अन्तिम साता हरिप्रसाद पन्तले क्षतिपूर्तिसहित कुशललाई १५ लाख रुपैयाँ फिर्ता गरे । तर जेल सजाय भने हुन सकेको छैन । एजेण्ट लक्ष्मणप्रसाद पन्त अझैं फरार नै छन् । अदालतले छोरा खै भनेर प्रश्न गर्दा हरिप्रसाद पन्त उल्टो कुशलले गायब गराएको भन्दै छोराको खोजी गरिदिन माग गर्छन् ।

जब एजेण्टले नै कुशल विरुद्ध मुद्दा हाले

एजेण्टमार्फत कुशल ठगीमा परेको भन्दै अदालतले फैसला सुनाइसकेको छ । उहाँले रकम पनि पाइसक्नुभएको छ । तर पनि आफ्नो छोरा निर्दोष भएको भन्दै हरिप्रसादले उल्टो कुशलविरुद्ध मुद्दा हालेका छन् । 

कुशल भन्नुहुन्छ, ‘उहाँले मेरो छोरालाई बेपत्ता बनाइयो, मेरो छोराले ठगी गरेकै छैन भनेर मुद्दा हाल्नुभएको छ, अहिले पनि म तारेख धाइरहेको छु ।’

अहिले त यो मुद्दा मामिलामा धाउन थालेका पनि पाँच वर्ष लाग्न थाल्यो । यो चार वर्षमा भोगेका दुःख र गरेका संघर्षले कुशललाई थप बलियो बनाएको छ । एजेण्टबाट फिर्ता पाएको रकमले आफूले बेचेको जति जमिन पनि किन्नुभएको छ । अनि तरकारी खेती पनि थाल्नुभएको छ । 

‘परदेश जानुभन्दा पनि यहीँ केही गर्नुहोस्, जाने नै भए पनि बुझेर, आफ्नो सीप र क्षमता अनुसार जानुहोस्,’ कुशल अनुरोध गर्नुहुन्छ । 

अहिले समय मात्र होइन कुशलको सोच पनि फेरिएको छ । जुन देश गए पनि जुन भेष भए पनि दुःख नगरी सुख हुँदैन । अब दुःख आफ्नै देशमा गर्ने कुशलको योजना छ । सिजन अनुसारका तरकारी लगाउनुहुन्छ । धादिङको गजुरीमा बेच्नुहुन्छ । कोरोना महामारीकै समय भए पनि अहिले थालेको कामले घर व्यवहार धानिरहेको छ । 

हिजोआज कुशललाई लाग्छ, ‘आफ्नो सीप र क्षमता नहेरी परदेशमा ठूलो रकम कमाउने सपना देख्नु पनि गलत रहेछ ।’ जुन सपनाले के मात्र भोग्नु परेन । भएको बारी पनि बेच्नु पर्‍यो । बेकारमा दुःख भोग्नु पर्‍यो । आफ्नो ज्यानसमेत जोखिममा पर्‍यो । यता घर व्यवहार भताभुङ्ग भयो । ऋणको ब्याज बढ्यो । तर उपलब्धि केही भएन । 

अब भने कुशल पूरा नहुने सपनाको पछि कुद्नुभन्दा आफूसँग भएका कुरामा नै खुसी हुन थाल्नुभएको छ । एजेण्टलाई विदेश जान लाखौं बुझाउनुभन्दा त्यही रकम स्वदेशमै लगाउदा बेस हुने रहेछ भन्ने लाग्छ उहाँलाई । 
उहाँसँग त प्रमाण थियो र ठगीएको रकम पनि फिर्ता भयो । तर प्रमाणको अभावमा अहिले पनि धेरै श्रमिकको लाखौं रुपैयाँ फसेको छ । घरबास धरापमा परेको छ । 

‘परदेश जानुभन्दा पनि यहीँ केही गर्नुहोस्, जाने नै भए पनि बुझेर, आफ्नो सीप र क्षमता अनुसार जानुहोस्,’ कुशल अनुरोध गर्नुहुन्छ । 

एजेण्टले ठग्न सक्छन्, सबैलाई थाहा छ । परदेश पुगेपछि कमाइ हुन्छ हुँदैन भन्ने अनिश्चितता पनि धेरैले बुझेका छन् । तर पनि कुशल जस्ता हजारौं युवा आज पनि वैदेशिक रोजगारीमा जान एजेण्टकै भरमा छन् । 

सन्जिता देवकोटा

उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।  

तपाईको प्रतिक्रिया