मुर्रा राँगा नस्ल सुधार कार्यक्रम : खजुरामा कृत्रिम गर्भाधानबाट भैँसीले पाडो जन्मायो

 फागुन २७, २०८१ मंगलबार १८:४:४ | रासस
unn.prixa.net

बाँके – सरकारले अघि बढाएको नस्ल सुधार कार्यक्रमअन्तर्गत बाँकेको खजुरामा कृत्रिम गर्भाधानबाट भैँसीले पाडो जन्माएको छ । खजुरा गाउँपालिका–२ एल गाउँ निवासी किसान बमराज रेग्मीको भैँसीले भारतबाट ल्याइएको मुर्रा राँगाको वीर्यबाट पाडो जन्माएको हो ।

पशुपालनका माध्यमबाट किसानको जीवनस्तर उकास्ने उद्देश्यले सरकारले नस्ल सुधार कार्यक्रम सञ्चालन गरेको हो । राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगञ्ज गौघाटबाट मुर्रा राँगाको वीर्य खरिद गरी कृत्रिम गर्भाधान गराएको भैँसीले पाडो जन्माएको किसान रेग्मीले जानकारी दिनुभयो । योसँगै उहाँले मुर्रा राँगाको वीर्य परीक्षण सफल भएको तथा उन्नत जातका पाडापाडी उत्पादनबाट पशुपालनलाई आधुनिकीकरणतर्फ उन्मुख गराउन सहज हुने बताउनुभयो ।

भैँसीमा गर्भ नरोकिने समस्या देखिएको थियो, त्यही बेला राष्ट्रिय पशु प्रजनन कार्यालयमा मुर्रा राँगा आएकाले प्रयास गरेको सफल भयो, रेग्मीले भन्नुभयो, स्वस्थ पाडो जन्मिएको छ, भैँसीले दूध पनि राम्रै दिएको छ । मुर्रा राँगाको वीर्यबाट जन्मिएको उन्नत जातको पाडोलाई हुर्काएर गाउँका अन्य भैँसीमा नस्ल सुधारमा प्रयोग गर्न सकिने उहाँको भनाइ छ ।

राष्ट्रिय पशु प्रजनन कार्यालय नेपालगञ्ज गौघाटले भारत सरकारले अनुदानमा दिएको उन्नत जातको मुर्रा राँगाबाट गएको वर्षदेखि वीर्य सङ्कलन शुरू गरी किसानलाई बिक्री/वितरण गर्दै आएको कार्यालय प्रमुख पशु विकास अधिकृत डा. खिमानन्द खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार गएको वर्ष मङ्सिर ६ गते नेपालगञ्ज ल्याइएका ती राँगा ७ गते राष्ट्रिय पशु प्रजनन कार्यालय गौघाट ल्याइएको थिए । नेपाल ल्याइएका १५ मुर्रा राँगामध्ये नेपालगञ्ज कार्यालयमा ३ वटा राँगा राखिएका छन् । गौघाटमा राखिएका तीन राँगामध्ये २ बाट वीर्य उत्पादन गरी सङ्कलन तथा किसानलाई वितरणको काम गरिएको छ ।

खजुरामा मुर्रा राँगाको वीर्यबाट जन्मिएको पाडोलाई ५० प्रतिशत मुर्रा जातको प्रमाणपत्र दिन सकिने राष्ट्रिय पशु प्रजनन कार्यालय गौघाटका पशु सेवा प्राविधिक देवनारायण जैसीले जानकारी दिनुभयो ।

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा भारतले नेपाललाई नस्ल सुधार कार्यक्रमका लागि उपहार स्वरूप मुर्रा राँगा दिएको थियो ।

अन्तिम अपडेट: फागुन २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया