‘जुन माध्यमबाट गएको भए पनि सबै नेपालीको अबको एक/दुई दिनमै उद्धार भइसक्छ’

 भदौ ८, २०७८ मंगलबार ११:५१:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

सरकारले अफगानिस्तानमा रहेका नेपालीलाई सम्पर्कमा आउन आग्रह पनि गरिरहेको छ । लगभग एक हजार नेपालीको अफगानिस्तानबाट उद्धार भएको दिल्लीमा रहेको नेपाली दूतावासले जनाएको छ । उनीहरुकाे नेपाल फर्कने क्रम जारी छ । काबुलबाट दोहा, लन्डन, दिल्ली लगायतका ठाउँमा पुगेका छन् नेपालीहरू । उनीहरूलाई सम्बन्धित रोजगारदाताले नै स्वदेश पठाइरहेका छन् । अफगानिस्तानमा बाँकी रहेकाको स्वदेश फिर्तीका लागि दिल्लीमा रहेकाे नेपाली दूतावासले समन्वय र सहजीकरण गरिरहेको छ । तर कुनै कम्पनीमा आबद्ध नभएका, भर्खरै अफगानिस्तान पुगेका, भिसा नभएका, एजेण्टले अलपत्र छाडेकाहरूको उद्धार चुनौतीपूर्ण छ । गैर कानुनी रूपमा रहेका नेपालीको उद्धार, उनीहरूको अवस्था र त्यहाँ रहेका सबै नेपालीको उद्धारका लागि भइरहेको पहलबारे सन्जिता देवकोटाले दिल्लीमा रहेको नेपाली दूतावासका उप नियोग प्रमुख रामप्रसाद सुवेदीसँग गरेको कुराकानी ।

अफगानिस्तानमा रहेका नेपालीहरूको पछिल्लो अवस्था के छ ? उद्धार कसरी भइरहेको छ ?

अफगानिस्तानबाट नेपाल फर्किनेको सङ्ख्या दिनानुदिन बढिरहेको छ । हजारभन्दा बढी नेपाल फर्किने क्रममा हुनुहुन्छ । कतिपय आदि बाटोमा हुनुहुन्छ, ट्रान्जिटमा हुनुहुन्छ । काबुलबाट निस्केर धेरै यूएई, दोहा, कुवेत, लन्डन पुग्नुभएको छ । अहिले मिलिटरी विमान मात्रै सञ्चालित भएका छन् ।

त्यसैले हाम्रा मित्रराष्ट्रहरू, अमेरिका, जापान, जर्मनी, ईयू, यूएन, भारत लगायतले हामीलाई सहयोग गरिरहेका छन् । दिल्लीमा भएका दूतावास, काबुलमा भएका दूतावास र विभिन्न एजेन्सीहरूसँग हामी सम्पर्कमा छौँ । नेपाली दाजुभाइहरू रोजगार गर्न गएको पनि ग्रिन जोनमा हो ।

रोजगारीको लागि ग्रिन जोनमा जाने १५ सय जनाको व्यवस्थापन करिब करिब भइसकेको छ । पछिल्लो समय हामीले १५ सय औपचारिक क्षेत्रमा र डेढ सय जति अन्य हिसाबले गैर कानुनी बाटोबाट गएको देखिएको थियो । अहिले करिब करिब १३ सय जति नेपाली विदेश फर्किने क्रममा हुनुहुन्छ । कोही उड्ने तयारीमा हुनुहुन्छ भने कोही नेपालमै पुगिसक्नुभएको अवस्था छ । स्वाभाविक रूपमा परिवारजनमा त्रास त छ नै । तर आत्तिनुपर्ने अवस्था छैन । 

विभिन्न मिसन अन्तर्गत काम गर्ने साथीहरू ४ सय ७० जना हुनुहुन्थ्यो । द्वन्द्वको बेला शान्ति स्थापना गर्न चलेका मिसनहरूमा संलग्न नेपाली पनि हुनुहुन्छ । त्यस्ता क्षेत्रमा काम गर्ने नेपालीहरू अहिले आत्तिरहनुभएकोे छ । सबैले अफगानिस्तान छोडेर गइसके हामीलाई पनि केही हुने हो कि भन्ने उहाँहरूलाई लागेको छ । हामीले सम्झाइरहेका छौँ ।

तीबाहेक अब ५० भन्दा कम नेपाली मात्रै काबुलमा  छन् । अफगानिस्तानमा काम गर्न जाने भनेको अरू देशमा काम गर्न जानेजस्तो होइन । त्यहाँ सुरक्षाकै काम गर्न जाने हो । जसलाई आर्म सेक्युरिटी पर्सनल भन्छ । प्राइमरी काम हो । त्योभन्दा अरू लजिस्टिकमा जान्छन् ।

त्यसमा सामान पुर्‍याउने, खाना खुवाउने लगायतका काम गर्नुपर्छ । प्राइमरी सेक्युरिटीमा जाने हुनाले हाम्रो सेक्युरिटी पर्सनलहरू प्राथमिकताको आधारमा अलिकति पछाडि पर्नुहुन्छ । त्यही भएर पनि उहाँहरूको उद्धार अलि ढिलो भएको हो ।

विशेषगरि अमेरिका, नेटो लगायत, विभिन्न देशका दूतावासले त्यहाँ काम गर्ने नेपालीहरूलाई उद्धार गर्न आफूहरू जिम्मेवार रहेको भन्ने खबर आइरहेको छ । लन्डन पुगेकाहरूलाई क्वरेण्टीनमा राखेरै नेपाल फर्काउने प्रयास भइरहेको छ । किनभने मिलिटरी विमानले सबैलाई छुटाएर सङ्ख्या मिलेपछि कमर्सियल फ्लाइट खोजेर पठाउँछ ।

जसको भिसा पनि छैन, विभिन्न तबरबाट अफगानिस्तान पुग्नुभयो, जो कुनै कम्पनीमा आबद्ध पनि छैनन्, उनीहरूको स्वदेश फिर्ती कसरी हुन्छ ? उनीहरूको उद्धारका लागि के कस्तो पहल  भइरहेको छ ।

हो, अहिलेको अवस्थामा यो गम्भीर विषय हो । उहाँहरू दलालको नेटवर्कबाट मध्यपूर्वका देश हुँदै अफगानिस्तान पुग्नुभएको छ । कतिपयसँग कागजात छैनन् भने कतिपयको जिम्मा लिने एजेन्सीहरु छैनन् । हाम्रो दूतावासको र्यापिड रेस्पोन्स टिमले उहाँहरूसँग सम्पर्क गर्ने प्रयास गरिरहेको छ । परराष्ट्र मन्त्रालयले पनि अनलाइन फर्म भर्न भनेको छ ।

अहिलेसम्म त्यस्ता ४५ जना हाम्रो सम्पर्कमा आउनुभएको छ । हामीले बुझ्दै जाँदा त्यसरी गैर कानुनी भएर बसेका धेरै देखिएनन् । त्यति मात्रै रहेको बुझिएको छ । विभिन्न मिडियामा त यति उति भनेर आए तर त्योभन्दा बढी छैन । त्यहाँ जाने भनेको सेक्युरिटीमा हो ।

लुकेर गए पनि अफिसियल्ली गए पनि । ग्रिन जोनमा नेपाली श्रमिक लुकेर नजाउन भनेर योपालि हामीले सबै कुरा परीक्षण गरेरै पठाएका हौँ । कानुनी रूपमा गएकाहरूको हामीले सूची बनाएका छौँ । त्यहाँ रहेका गैर कानुनी रूपमा गएकाहरू पनि हाम्रो सम्पर्कमा छन् । उनीहरूलाई हामीले उद्धारको लागि भनेका छौँ ।

त्यसैले हामीले ती ४५ जनालाई उनीहरू रहेको ठाउँको आधारमा ५ वटा वर्गमा राखेका छौँ । उहाँहरूलाई र उद्धार गर्ने देशको टिम तथा एजेन्सीहरूलाई हामीले एप्रोच गरिरहेका छौँ । बिस्तारै एक दुई दिनमा नै उहाँहरूको पनि उद्धार हुन्छ  ।

अहिले कतिपय परिवारका सदस्यहरू फोन सम्पर्क पनि भएन, आफ्नो मान्छे कुन हालतमा होला, सरकारले उद्धार गर्ला कि नगर्ला भन्ने जस्तो अत्यासको अवस्थामा हुनुहुन्छ, उहाँहरूले छिट्टै उद्धार हुन्छ भनेर आस गर्दा हुन्छ ?

हो, चिन्ता लिनुपर्ने अवस्था केही छैन । फोन नलागे पनि उहाँहरू जहाज चढ्ने प्रक्रियामै भएको हुन सक्छ ।

कोही ट्रान्जिटमा कुनै देशमा पुगिसक्नुभएको छ होला । त्यस्तो अवस्थामा पक्कै पनि फोन लाग्दैन । फोन नलाग्नुमा दुई कारण हुन सक्छन् । अफगानिस्तानमा मिलिटरी सेक्सनमा नेटवर्क हुँदैन, त्यहाँ लग्ने बेला फोन नलाग्न सक्छ । यस्तै उद्धारका क्रममा माथि भनेझैँ अर्को देशमा पुगेको वा ट्रान्जिटमा रहेको बेला पनि फोन नलाग्छ सक्छ । त्यसैले फोन लागेन भनेर आत्तिने होइन, उल्टै उद्धार भइरहेको छ, घर फर्किँदै हुनुहुन्छ भनेर ढुक्क हुनुपर्छ ।

यहाँ गोली चलेको छैन, कसैको ज्यानै जाने अवस्था छैन । सबै जना सुरक्षित हुनुहुन्छ । तर एक प्रकारको अनिश्चितताको अवस्था रहेकाले अलिकति त्रास छ । अफगानिस्तानकै नागरिक पनि पायो भने देश छोड्न चाहिरहेका छन् । 

त्यहाँ रहेका सबै नेपाली नागरिकको उद्धारका लागि दूतावासले आफ्नो सम्पूर्ण प्रयास गरेको छ । परराष्ट्र मन्त्रालय लागिरहेको छ । तर पाँच छ जना मात्रै कसरी पठाउने ? त्यसैले सङ्ख्या नपुग्दासम्म होल्डिङमा बस्नुपर्ने हुन्छ । सबैको उद्धार हुन्छ, धेरै समय लाग्दैन । त्यहाँको अवस्था जटिलतर्फ जाँदै छ, अनुमान गरेकै दिन उडान हुन्छ भन्न सकिँदैन ।

उद्धारको लागि तयारी भएकाहरूलाई को कुन देश जाने हुन् भनेर छुट्याउनु पर्यो । नेपाली नेपालीहरूलाई एक गरेर सेफ जोनमा लग्नुपर्‍यो । प्रक्रिया झन्झटिलो छ । त्यसैले उद्धार यही दिन नै हुन्छ भनेर तोकेरै भन्न सकिँदैन । तर चाँडै हुन्छ । एक दुई दिनमा सबै कुराको व्यवस्थापन हुन्छ ।

अहिले सुरक्षित ठाउँमा पुर्याइएका वा अफगानिस्तानमै रहनुभएका सबैको अवस्था कस्तो छ ? उहाँहरू सुरक्षित हुनुहुन्छ ?

एकदमै सुरक्षित छन् । हामीले कागजात नभएको अवस्थामा बाहिर ननिस्किन भनेका छौँ । त्यस्तो अवस्थामा अलिकति असुरक्षा हुनसक्छ ।

एजेन्सी तथा दूतावासको गाडी त उनीहरू बसेको ठाउँसम्मै निल पुग्ने हुँदा सुरक्षित भइन्छ । त्यसैले हामीले जहाँ हुनुहुन्छ त्यहीँ बस्नुस्, एक/दुई दिन धैर्य गर्नुभयो भने हामी त्यही ठाउँमा आइपुग्छौँ भनेका छौँ । राम्रो खान, बस्न त भनेजस्तो नभएको होला । तर दुई दिन धैर्य गरेर बस्नुहोस् भनेका छौँ । हाम्रो आग्रह पनि यही छ । 

अन्त्यमा, अत्यासमा अफगानिस्तानमा रहेका नेपाली र उहाँहरूका परिवारलाई तपाईँ के भन्न चाहनुहुन्छ ? 

हामी पनि उहाँको परिवार हो । हामीले नै संरक्षण गर्नुपर्छ । नेपाल सरकार, परराष्ट्र मन्त्रालय दूतावासको संयोजनमा हामी उहाँहरूलाई उद्धार गर्न लागिपरेका छौँ । उहाँहरूको पलपलको खबर लिइरहेका छौँ । यो दूतावासको दायित्व पनि हो ।

हामीले हाम्रा साझेदार  र मित्र राष्ट्रहरूसँग छलफल गरिरहेका छौँ । अफगानिस्तानमा रहेका नेपालीहरूसँग पनि सम्पर्कमा छौँ । उहाँहरूलाई फर्किने सुनिश्चितता भएको खबर सुनाउन हामी तयारीमा छौँ । अब सय भन्दा कम सङ्ख्यामा मात्र नेपाली हुनुहुन्छ । जस्तो अवस्थामा भए पनि सुरक्षित साथ नेपाल फर्काउनु हाम्रो दायित्व हो । सहयोगी हातहरू प्रति पनि हामी कृतज्ञ छौँ । 

यस्तै हामी परिवारहरुको पनि साथमा छौँ । उहाँहरू प्रति सद्भावना छ । परिवार नआत्तिनुहोस्, उल्टै घरबाट ढाडस दिनुहोस् भन्न चाहन्छु । अबको एक/दुई दिनमै सबै जनाको उद्धार भइसक्छ, ढुक्क हुनुहोस् ।

तपाईको प्रतिक्रिया