यूएईमा कोरोना सङ्क्रमण दर न्यून, पुरानै लयमा फर्कँदै

 असोज ७, २०७८ बिहिबार १२:३२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – कोरोना सङ्क्रमण घट्दै गएपछि यूएईले केही सार्वजनिक स्थानमा अनिवार्य मास्कको व्यवस्था हटाएको छ ।

पूर्ण रूपमा खोप लगाइसकेको र सङ्क्रमण दर पनि न्यून रहेको भन्दै यूएईले स्वीमिङपुल, समुद्री किनार लगायतका ठाउँमा मास्क अनिवार्य लगाउनु पर्ने नियम हटाएको हो । यस्तै एकै परिवारका व्यक्तिले निजी सवारीमा हिँड्दा पनि मास्क लगाउन पर्ने छैन । 

यूएईमा पछिल्लो समय दैनिक सङ्क्रमण दर ६२ प्रतिशतले घटेको यूएईको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

९२ प्रतिशतभन्दा धेरैले खोपको पहिलो मात्रा लगाएको र ८१ प्रतिशतभन्दा धेरैले खोपको दुवै मात्रा लगाएको यूएईले दावी गरेको छ ।

अहिले पनि अन्य सार्वजनिक स्थानमा मास्क अनिवार्य लगाउन पर्ने छ भने भौतिक दूरी पनि कायम गर्नु पर्ने छ ।

यस्तै पछिल्लो समय यूएईमा कामका लागि जाने बाटो पनि खुल्ला भएको छ । यूएईका कम्पनीहरूले कामदार माग पत्र नेपाली दूतावासमा प्रमाणीकरण गरेर नेपाल पठाउने र विभिन्न नेपाली म्यानपावरमार्फत कामदार लैजान थालिसकेको छन् ।

नेपाली दूतावास आबुधावीकी श्रम काउन्सेलर निर्मला थापाका अनुसार अहिले धेरै जसो निर्माण र अन्य विभिन्न प्राविधिक क्षेत्रमा दक्ष र अदक्ष कामदारको माग छ भने  होटल तथा सेवा मूलक व्यवसायका लागि कम्पनीहरूले कामदार ल्याउन सुरु गरेका छन् । त्यस्तै सुरक्षा सेक्युरिटीमा पनि उत्तिकै नेपाली कामदारको माग छ ।

दुबईले गर्ने भनेको विश्व मेला ‘दुबई एक्स्पो २०२०’ कोरोना का कारण यस वर्षलाई सरेको थियो । सोही अनुरूप एक्पोमा काम गर्न भन्दै धेरै कम्पनीले नेपाली कामदार ल्याइरहेका छन् ।  

कोरोना महामारीका कारण कामदार लैजान रोकेको यूएईले पछिल्लो समय पूर्ण रूपमा पुरानै लयमा फर्काउन लागेको छ । यूएईमा रहेका रहेका सबै श्रमिकलाई पनि यूएईले निःशुल्क रूपमा खोप लगाइरहेको छ ।  

पछिल्लो समयले यूएईले कोरोना सङ्क्रमण रोकथामका लागि लागू गरेका विभिन्न मापदण्डहरू पनि खुकुलो बनाउँदै लगेको छ । यूएईका अन्य राज्यबाट राजधानी आबुधाबी प्रवेश गर्दा अनिवार्य गरिएको पीसीआर रिपोर्टको नियम पनि हटाएको छ । पीसीआर रिपोर्ट बिना नै यूएईका अन्य राज्यबाट आबुधाबी प्रवेश गर्न सकिने छ । 

तपाईको प्रतिक्रिया