फेसबुकमा झुटो विज्ञापन : क्यानडामा जागिर लगाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने पक्राउ

 असोज ११, २०७८ सोमबार १४:४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – क्यानडामा 'फूड प्याकेजिङ'को जागिर लगाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । मोरङका नगेन्द्र विश्वकर्मा र प्रवेज आलमलाई आइतबार पक्राउ गरेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार क्यानडामा जागिरको प्रलोभन देखाइ झापा घर भइ काठमाण्डौ बस्ने आशिष काफ्लेबाट तीन लाख रुपैयाँ मागी ठगी गरेको आरोपमा विश्वकर्मा र आलमलाई पक्राउ गरेको हो । 
पीडितको उजुरीपछि दुवैजनालाई मोरङको उर्लाबारीमा रहेको काबेली रेमिटबाट रकम निकाल्दै गरेको अवस्थामा पक्राउ गरेको हो ।

उनीहरुले ‘क्यारिर अपर्चुनिटी इन ईडेन सोलुशन क्यानडा’ नामको फेसबुक पेज बनाएर त्यसैमार्फत आफ्नो सम्पर्कमा आउने व्यक्तिहरुलाई प्रलोभनमा पारि ठगी गर्ने गरेको पाइएको छ । विज्ञापनमा ह्वाट्सअप नम्बर राखी विभिन्न व्यक्तिहरुको नाममा आईएमईमा रकम पठाउन लगाइ ठगी गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ ।

वैदेशिक राेजगारीमा हुने ठगी राेकिएकाे छैन । पछिल्लाे समय खाडी देशसँगै युराेपेली देश लगायत अमेरिका, क्यानाडासमेतमा जागिर लगाइदिने भन्दै ठूलाे रकम लिएर ठगी गर्ने क्रम बढीरहेकाे छ । विदेशमा राम्राे जागिर पाउने लाेभमा कसैलाई पैसा दिनुभन्दा पहिले राम्राेसँग बुझेर र सचेत भएर मात्रै पैसा बुझाउन प्रहरीले आग्रह गरेकाे छ । 

तपाईको प्रतिक्रिया