वैदेशिक रोजगार व्यवसायी सङ्घ भन्छ : सेटिङ गरेर पठाउँदैनौं, श्रमिक फर्काउँदैमा हामी तर्सिदैनौं

 असार २९, २०८० शुक्रबार १८:५३:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले श्रम स्वीकृति लिएर हिँडेका श्रमिकलाई बिना कारण विमानस्थलबाट फर्काउँदैमा आफूहरू नतर्सिने र सेटिङमा श्रमिक नपठाउने बताएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत वैदेशिक रोजगार विभागसँग श्रम स्वीकृति लिएर सबै प्रक्रिया पूरा गरेर हिँडेका श्रमिकलाई फर्काएर व्यवसायीलाई तर्साउन खोजेको भन्दै सङ्घले शुक्रवार पत्रकार सम्मेलन गर्दै आफूहरू नतर्सिने र सेटिङ गरेर श्रमिक नपठाउने बताएको हो । 

सङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले भन्नुभयो ‘यदि अध्यागमनले लगाएको आरोप पुष्टि भएमा केही व्यवसायीले गलत गएको भएमा प्रमाण दिनुहोस् सङ्घले नै कारबाहीको लागि सिफारिस गर्छ तर एक दुई सय श्रमिक फर्काइदिएर तर्साउन खोज्दैमा हामी सेटिङ गरेर श्रमिक पठाउँदैनौ ।’

अध्यागमनले भनेजस्तो श्रमिकसँग दुई वटा भिसा नभएको सङ्घले दाबी गरेको छ । पछिल्लो समय सबै भिसाहरू अनलाइनमा उपलब्ध हुने र क्युआर स्क्यान गर्नासाथ सबै विवरण उपलब्ध हुने सङ्घ बताउँछ । 

सबै प्रक्रिया पूरा गरी संस्थागत रूपमा वैदेशिक रोजगारीमा कुवेत हिँडेका एक सय १७ जनामध्ये कतिपयलाई कागजात शङ्कास्पद देखिएको भन्दै फर्काएको छ भने कतिपयलाई ढिलो आइपुगेको भन्दै अध्यागमन कार्यालयले फर्काएको छ । तर के कस्तो कागजात के कति कारणले शङ्कास्पद भन्ने कुरा खुलाइएको छैन । श्रमिकहरूले एयरलाइन्ससँग लिएको बोर्डिङ पास र अध्यागमन कार्यालयले भनेजस्तो समय पनि ढिलो नभएको सङ्घले जनाएको छ ।

बेलुका १० बजेर ५५ मिनेट उडान भएकाहरू बेलुका ६ बजेर ५५ मिनेटमै विमानस्थल प्रवेश गरेर बोर्डिङ पास लिएको पाइएको छ ।

‘अध्यागमनले भनेकोजस्तो दुई वटा भिसा भएमा प्रमाण दिनुहोस् हामी नै कारबाही गर्छौँ’ सङ्घका महासचिव मेघनाथ भुर्तेलले भन्नुभयो ‘नत्र झोला बोकेर सबै कागजात पुर्‍याएर यसरी हिँडेका श्रमिकलाई फर्काउनु गलत छ यसको मारमा श्रमिक र व्यवसायी परेका छन् ।’

कम्पनीले दिएको टिकटमा अध्यागमनका कारण श्रमिकहरू जान नपाएपछि अब टिकट खर्च कसले काटेर कस्तो कागजातको आधारमा अध्यागमनले प्रस्थान अनुमति दिन्छ भन्ने प्रश्न उठेको छ । 

म्यानपावर व्यवसायी भने श्रमिकसँग पैसा मागेर टिकट काट्न नसक्ने र अब कसले यसको भरपाई गर्छ भन्ने प्रश्न गर्छन् । 

देशका विभिन्न ठाउँबाट विदेश उड्न भनेर घरबाट बिदा भएर हिँडेका श्रमिकहरू रोकिँदा थप अन्यौलता बढेको छ । रोकिएका १५ जना जोर्डन र ९ जना कुवेत उडे पनि बाँकी श्रमिकको अब टिकट कसले काटेर कसरी उड्छन् भन्ने यकिन छैन । 

एक जना श्रमिक बापत कुवेतको टिकट कम्तीमा ६० हजार लाग्ने भन्दै व्यवसायी सङ्घले सम्बन्धित निकायले नै टिकटको व्यवस्था गरेर पुनः श्रमिकलाई पठाइदिन माग गरेको छ ।

‘सङ्घ क्षतिपूर्तिको माग गर्छ, किनकि अध्यागमनले जे जति कारण देखाएको छ त्यो झुटो छ, सबै प्रक्रिया पुर्‍याएर हिँडेका श्रमिकलाई रोक्नुको आधिकारिक कारण भएमा र व्यवसायीको गल्ती भएमा हामी आफैँ कारबाहीको लागि सिफारिस गर्छौ’ सङ्घ अध्यक्ष भण्डारी भन्नुहुन्छ ‘नत्र ऋण गरेर कमाउन हिँडेको श्रमिकमाथि ढोक्सा थाप्न पाइँदैन ।’

तपाईको प्रतिक्रिया