तराई मधेशका जिल्लामा उखरमाउलो गर्मी, तातो हावा चलेका बेला घरबाहिर ननिस्कन आग्रह

 बैशाख १२, २०८१ बुधबार १८:६:११ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – तराई मधेशका सबैजसो जिल्लामा आज पनि उखरमाउलो गर्मी कायमै रहेको छ । आज भैरहवा र तौलिहवामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुग्यो । अरू धेरै ठाउँको अधिकतम तापक्रम पनि ४० डिग्री सेल्सियस वा त्यसकै हाराहारीमा पुगेको छ ।

तराई मधेशका जिल्लामा दिउँसो मात्रै नभई रातकाे समयमा पनि अत्यधिक गर्मी रहेको स्थानीयवासीले बताएका छन् । तातो हावा चलेका कारण दिउँसो घरबाहिर निस्कनै मुस्किल परेको छ । तराई मधेशका जिल्लासँगै मध्यपहाडका उपत्यका तथा खोँचहरूमा पनि गर्मी अत्यधिक बढेको छ ।

यसैबीच स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा अर्थात् ‘लू’ बाट बच्न सर्वसाधारणलाई आग्रह गरेको छ ।  मन्त्रालयले तराईमा तातो हावा चलेकाले बच्न सबैलाई आग्रह गरेको हो ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख कन्सल्ट्यान्ट फिजिसियन डा. विमल चालिसेले धेरै तातो हावाले मस्तिष्कमा असर गर्ने भएकाले तातो हावा चलेका बेला दिउँसो घरबाहिर ननिस्कन आग्रह गर्नुभयो । तातो हावाको असरबाट बच्न धेरै पानी पिउने, चिसो पानीले नुहाउने, बाहिर निस्कनै परे छाता ओढ्ने वा पातलो कपडाले टाउको छोप्ने तथा शीतल हुने कपडा लगाउनुपर्दछ ।

घरबाहिरको काम बिहान वा बेलुका मात्र गर्न, कागती पानी, नरिवल पानी तथा फलफूलको रस पिउन, फलफूल, काँक्रोजस्ता ताजा खानेकुरा खान मन्त्रालयले आग्रह गरेको छ । अत्यधिक गर्मीका बेला जाँड–रक्सी, बोतलमा राखिएका पेयपदार्थ, सोडा र चिया, कफी, नखान स्वास्थ्यकर्मीको आग्रह छ ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया