Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

460 Desh Paradesh 2021-04-20

कार्यक्रम देश परदेशको ४६० औं अंकमा आफ्नो समस्या आफैं समाधान गर्न संगठित भएका परदेशीका कुरा समेटिएका छन् । परदेशी र परिवारका समस्या अनेक भए पनि सुन्ने र समाधान गर्ने निकायले समस्या नसुनिदिँदा आप्रवासी कामदार र परिवारका सदस्यहरु मिलेर आफै संगठित भएका छन् । आजको कार्यक्रममा तिनै आप्रवासी कामदार र उनीहरुका परिवारका सदस्यहरुले खडा गरेको संगठन आप्रवासी कामदार हकहित संरक्षण केन्द्रका विविध पक्षका कुरा समावेश गरिएका छन् । कार्यक्रममा आप्रवासी कामदार र उनीहरुका परिवारले जन्माएको आप्रवासी कामदार हकहित संरक्षण केन्द्र के हो, कहाँ छ र के गर्दैछ भन्नेबारे जानकारी छ । धनुषामा आप्रवासी कामदार र परिवारका सदस्यले खोलेको आप्रवासी सहकारी र यसबाट आप्रवासी कामदार र उनीहरुका परिवारले पाएको सेवाबारे रिपोर्ट पनि कार्यक्रममा सुन्न सकिन्छ । यस्तै आप्रवासी कामदार हकहित संरक्षण केन्द्र खोल्न र विस्तार गर्न सघाएको सुरक्षित आप्रवासन परियोजना सामीको विचार र योजनाबारे सामीका सुशासन तथा क्षमता विकास अधिकृत भक्त राईसँगको कुराकानी पनि कार्यक्रममा समेटेका छौं । साथमा तपाईँले सोधेका प्रश्नमा हामीले खोजेका उत्तर त छँदैछन् ।