Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

469_ Desh Paradesh 2021-06-22

कार्यक्रम देश परदेशको ४६९ औं अंक महामारीका कारण वैदेशिक रोजगारीमा परेको मारका बिषयमा केन्द्रित छ ।

बिदामा आएका र भिसा लागिसकेहरुलाई कोरोना महामारीमा गन्तव्य देश जान समस्या, समयमा नपुग्दा रोजगारी गुम्ने चिन्ता कार्यक्रममा सुन्न सकिन्छ । वैदेशिक रोजगारीमा जाने यात्रुका लागि खोपको व्यवस्थापन, थप उडान खोल्ने बारे भइरहेको तयारी र समस्यामा परेर फर्कंने श्रमिकलाई होटल क्वरेण्टीन खर्च सरकारले उपलब्ध गराउनेबारे कोभिड १९ संकट व्यवस्थापन केन्द्रका सदस्य कृष्णहरी पुस्करसँग गरिएको कुराकानी कार्यक्रममा समावेश छ । अनि,कोरोना सङ्क्रमण रोकथामका लागि खाडीका देश र मलेसियाले हवाईमार्ग मार्फत आउने यात्रुका लागि जारी गरेका नियमबारे जानकारी पनि समेटिएको छ । साथमा छ हप्ताभरिका रोजगार गतिविधि पनि ।