Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

देश परदेशको अङ्क ४८७

देश परदेशको अङ्क ४८७ मा विदेशमा कमाएको पैसा, सीप, ज्ञान र अनुभवलाई प्रयोग गरेर देशमै रमाइरहेका केही युवाको कथा समेटिएको छ । कार्यक्रममा साउदी र यूएईमा डेरी उद्योगमा काम गरेर फर्किएपछि अहिले आफ्नै ठाउँ धादिङमा डेरी उद्योग सञ्चालन गरिरहेका सुवास अर्यालको अनुभव सुन्न सकिन्छ । मलेसियामा गाडीलाई रेस्टुरेन्टको रूप दिएर खानेकुरा बेचेको देखेपछि देश फर्किएर एमिगो फुड ट्रक सञ्चालन गरिरहेका ललितपुरका सुदीप घिमिरेको चलायमान खानपिन व्यवसाय कुरा पनि कार्यक्रममा समेटिएको छ । बालबच्चा छाडेर पाँच वर्ष मलेसियामा बिताएपछि देश फर्किएर व्यवसाय थालेकी इलामकी तीर्थ कुमारी राईको सङ्घर्ष र व्यावसायिक यात्रा कार्यक्रममा सुन्न सकिन्छ । अनि, खाडीको देश यूएईमा सामान्य कामदारबाट व्यवसायी बनेका जयराम पराजुली (जे सागर) का अनुभव पनि कार्यक्रममा सुन्न सकिन्छ । साथमा छ हप्ताभरिका रोजगार गतिविधि ।