Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देशपरदेशको ५२३ औँ अंक

कार्यक्रम देश परदेश अङ्क ५२३ मा राष्ट्रिय परिचय पत्र र विद्युतीय राहदानी  बनाउन तपाईँले भोग्न परेका सास्तीको कारणबारे सोधिखोजी गरिएको छ । कार्यक्रममा राहदानीका बनाउनका लागि राष्ट्रिय परिचयपत्र बनाउनदेखि राहदानी विभागमा पुगेर लाइन लागेकाहरूको अनुभव सुन्न सकिन्छ । नागरिकता हुँदा हुँदै राष्ट्रिय परिचयपत्र किन अनिवार्य गरियो ? राष्ट्रिय परिचयपत्र बनाउन घण्टौँ लाइन लाग्नु पर्ने बाध्यताको अन्त्य कहिले होला ? यो प्रश्नको जवाफ राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागका निर्देशक ललित कुमार बस्नेतबाट ल्याएका छौँ भने अनलाइनबाटै सबै प्रक्रिया गर्ने भए विद्युतीय राहदानी बनाउन किन सहज भएन त ? अनलाइन प्री इनरोलमेन्ट गर्नै भइरहेको समस्या र राहदानी विभागमा बढ्दो भिडभाडबारे राहदानी विभागका निर्देशक तथा प्रवक्ता शरदराज शरदराज आरणसँग गरिएको कुराकानी पनि समावेश छ । साथमा छ रोजगार गतिविधि पनि ।