Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देशपरदेशको ५२४ औँ अंक

कार्यक्रम देश परदेशको अंक ५२४ खाडीका देश र मलेसियाबाट नेपाली श्रमिकका लागि रोजगारीका अवसर कतिको आइरहेको छ त भन्ने विषयमा केन्द्रित छ । कार्यक्रममा नेपाली श्रमिकका लागि मलेसियाबाट कामको माग कतिको आएको छ र त्यहाँ कुन क्षेत्रमा अहिले रोजगारीको अवसर बढी छ त ? भन्ने जानकारी मलेसियामा रहेको नेपाली दूतावासका श्रम काउन्सेलर दिपक ढकालले दिनुभएको छ ।

खाडीका देशमा नेपाली श्रमिकका लागि रोजगारीको अवसर कस्तो छ र खाडीका कुन देशबाट रोजगारीको के कस्तो अवसर आइरहेको छ भन्नेबारे वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष विमलप्रसाद ढकालसँग गरिएको कुराकानी र कहाँ कहाँबाट के कस्तो कामको माग आएको कुरा काम गर्न जानेले कसरी थाहा पाउने ? कामका अवसरहरू झुटा र साँचो कसरी छुट्टाउने भन्ने प्रश्नको जवाफ वैदेशिक रोजगार विभागका निर्देशक तथा प्रवक्ता कृष्णकुमार भुसालबाट ल्याएका छौँ । साथमा छ तपाईँले सोधेका प्रश्नमा हामीले खोजेका उत्तर र हप्ताभरिका गतिविधि पनि ।