Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः२० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देशपरदेशको ५२९ औँ अंक

कार्यक्रम देश परदेशको अङ्क ५२९ खाडीको देशमा गर्मीको समयमा काम गर्दाका तपाईँका अनुभव र गर्मीबाट बच्दै काम गर्ने उपायहरूसँगै व्यवसायजन्य सुरक्षा र स्वास्थ्यमा केन्द्रित छ । खाडीको चर्को घाममा काम गर्दा तपाईँले भोगेका सजिला अप्ठेरा अनुभव कार्यक्रममा समावेश गरिएको छ । खाडीको चर्को घाममा काम गर्दा र आराम गर्दा २४ सै घण्टा ध्यान दिनुपर्ने कुराहरूबारे कतारमा काम गरेर देश फर्केपछि श्रमिक सञ्जालमा सक्रिय महेश्वर नेपालको सुझाव कार्यक्रममा सुन्न सकिन्छ । अनि, व्यवसायजन्य सुरक्षा र यसको महत्त्वबारे व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रका केन्द्र प्रमुख उमेश यादवसित गरिएको कुराकानी पनि कार्यक्रममा समेटिएको छ । साथमा छ तपाईँले सोधेका प्रश्नमा हामीले खोजेका उत्तर र हप्ताभरिका गतिविधि पनि ।