Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः०० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देशपरदेशको ५३०औँ अंक

आजको देश परदेश विदेशमा रहेका नेपालीले चुनावमा भोट हाल्ने व्यवस्था किन र कसरी रोकिएको छ भन्ने बिषय केलाउन केन्द्रित छ । नोट चल्ने तर भोट नचल्ने पीडाबीच विदेशमा दुःख गरिरहेका नेपाली मतदाताका गुनासा कार्यक्रममा सुन्न सक्नुहुन्छ । यस्तै, विदेशमा रहेका नेपालीले आफू रहेकै देशबाट भोट हाल्न पाउने व्यवस्था गर्न किन सकिएन त ? निर्वाचन आयोगका प्रवक्ता शालिगराम शर्मा पौडेलको जवाफ अनि, परदेशीहरुको मताधिकार सुनिश्चित गर्न सरकार र निर्वाचन आयोगले गर्नुपर्ने काम के के हुन् त भन्ने विषयमा पूर्व प्रमुख निर्वाचन आयुक्त निलकष्ठ उप्रेतीका बिचार पनि कार्यक्रममा समेटेका छौँ । साथमा संसारका विभिन्न देशले देश बाहिर रहेका आफ्ना नागरिकको मताधिकार सुरक्षित गर्न गरेका व्यवस्था पनि कार्यक्रममा सुन्न सक्नुहुन्छ ।