Ujyaalo Online

देश परदेश (अडियाे)

खाडीका कुवेत र कतार हुन् वा पूर्वी एसियाका कोरिया र मलेसिया ! अथवा युरोप र अमेरिकाका देश नै किन नहुन्, अब धरतीका सातै महादेशमा नेपाली नपुगेका देश छैनन् । विदेशमा नेपालीले नगरेका काम पनि अब थोरै मात्र छन् । वैदेशिक रोजगारी, अध्ययन, अनुसन्धान, ब्यवसाय र जागीरका सिलसिलामा विदेशमा रहेका नेपालीको संख्या झण्डै ५० लाख पुगेको छ । त्यसमध्ये आधाभन्दा बढी जनशक्ति वैदेशिक रोजगारीका सिलसिलामा विदेश पुगेको छ । देश परदेश वैदेशिक रोजगारीमा जाने र गएका नेपालीलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने मल्टिमिडिया प्लेटफर्म हो । यो प्लेटफर्ममा रेडियो र अनलाईन एकअर्कासित अन्तरंग जोडिएका छन् । विदेश जान चाहने नेपाली र विदेशमा रहेका नेपालीका भावना, भोगाई, चासो र सरोकारका बिषय र घटनाहरु यो प्लेटफर्मका मुख्य बिषयबस्तु हुन् । यिनै बिषयमा हरेक मंगलवार बिहान ८ः२० देखि ९ः०० बजेसम्म देशभरिका सयभन्दा धेरै स्टेशनबाट रेडियो कार्यक्रम देश परदेश प्रसारण हुन्छ । विदेशमा काम गर्न जाने र विदेशमा काम गरिरहेका नेपालीका काम, सीप र कमाईसँग सम्बन्धित अनुभव, कथाव्यथा, जानकारी, प्रश्न उत्तर र समाचार तथा टिप्पणीहरु सँगै रेडियो कार्यक्रम समेत अनलाईन पोर्टलमा समेटिन्छन् । उज्यालोको देश परदेश मल्टिमिडिया प्लेटफर्म तपाईंको साथ र सहयोगमा वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित वनाउने अभियान हो । हामी तपाईंलाई आफ्ना अनुभव, सीप, कमाई, सफलता र विफलताका कथा, समाचार, टिप्पणी तथा तपाईंका भोगाई लेखेर, बोलेर र भिडियोमा पठाएर यो अभियानमा साथ दिन र सहयोग गर्न अनुरोध गर्छौ । देश परदेश मल्टिमिडिया प्लेटफर्ममा तपाईंलाई हार्दिक स्वागत छ ! 

कार्यक्रम देशपरदेशको ५४१औँ अंक

कार्यक्रम देश परदेशको अङ्क ५४१ दल र उम्मेद्वारहरुको चुनावी घोषणापत्रमा उल्लेख गरिएका रोजगारी सिर्जनाका सपना र यथार्थमा केन्द्रित छ । कार्यक्रममा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र  नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतलाई घोषणा पत्रमा रोजगारी सृजनाका कुरा अनि मतदातालाई भने फ्रि भिसा फ्री टिकटमा विदेश पठाउँछु भन्नुको अन्तर सम्बन्ध के हो भनेर भनेर सोधेका छौँ । दलहरूले देशभित्रै रोजगारी सृजना गर्ने गरी घोषणापत्रमा गरेका बाचाले बढ्दो बेरोजगारी र वैदेशिक रोजगारीमा जानु पर्ने बाध्यताको अन्त्य गर्ला त ? यसका व्यवहारिक पक्षमा त्रिभुवन विश्वविद्यालयको अर्थशास्त्र विभागका प्रमुख, तथा प्राध्यापक डा. शिव अधिकारी र प्रवासी नेपाली समन्वय समिति पीएनसीसीका अध्यक्ष कुलप्रसाद कार्कीसँग गरिएको छलफल पनि कार्यक्रममा समेटिएको छ । साथमा छ दलहरूका घोषणापत्रले वैदेशिक रोजगारीलाई व्यवस्थित गर्न र देशभित्रै रोजगारी सृजना गर्न के कस्ता बाचा र प्रतिबद्धता गरेका छन् त भन्ने जानकारी पनि ।